शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री जीवन शाहीको गृह जिल्लामा काँग्रेस–माओवादीको टसल, चेपुवामा समाजवादी

शनिबार, ०३ वैशाख २०७९, १२ : ५५
शनिबार, ०३ वैशाख २०७९

हिमाली जिल्लामा पार्टीभन्दा पनि व्यक्ति शक्तिशाली बन्छ भन्ने उदाहरण स्वतन्त्र उम्मेदवारहरूको वर्चश्चलाई लिन सकिन्छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा पनि दलभन्दा नेता शक्तिशाली छन् । 

खार्पुनाथ गाउँपालिका निवासी शाही पनि काँग्रेसका शक्तिशाली नेतामा पर्छन् । यद्यपि ०७४ को स्थानीय तहको निर्वाचनमा भने माओवादीले धेरै स्थान जितेको छ । तर काँग्रेसका नेताहरू भने जनमतका आधारमा काँग्रेस नै बलियो रहेको दाबी गर्छन् । ७ वटा गाउँपालिका मात्र रहेको हुम्लामा चार वटा पालिकामा प्रमुख, एउटामा उपप्रमुख र १९ वटा वडामा जितेको छ । काँग्रेसले २ पालिका प्रमुख, एउटा उपप्रमुख र १० वटा वडामा मात्र जितेको छ भने एमाले कमजोर देखिन्छ । एमालेले एउटा पालिकाको प्रमुख जित्दा तीन वटामा उपप्रमुखसहित १० वटा वडा जितेको छ । यहाँ ४४ वटा वडा रहेका छन् । 

हुम्लामा व्यक्ति शक्तिशाली हुन्छ भन्ने कुराको उदाहरणको लागि ०७४ मा स्वतन्त्र उम्मेदवारले पाएको जनमतलाई लिन सकिन्छ । ४४ वडा मध्ये ४ वटा वडा र दुइटा उपप्रमुख स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् । हुम्लामा माओवादी र काँग्रेसको कडा प्रतिस्पर्धा हुँदै आएको थियो । तर अहिले एउटै गठबन्धनभित्र भएकाले दुवै दलहरूलाई सकस परेको छ । अहिलेसम्म गठबन्धनका पाँच वटा बैठक बस्दा पनि सहमति हुन नसकेको सांसद एवं काँग्रेस नेतृ रिता शाही बताउँछन् ।

०७४ मा चार वटा माओवादी एक्लैले जितेकाले एमालेले जितेको ठाउँमा पनि माओवादीले जित्ने दाबी गरेको छ । त्यो भएकाले माओवादीले पाँच वटा पालिका पाउनुपर्ने दाबी गरेको छ । काँग्रेसले जनमतका आधारमा काँग्रेस नै पहिलो भएको भन्दै पाँचै वटामा दाबी गरेको छ। काँग्रेस–माओवादीका आ–आफ्नै दाबीका अगाडि एकीकृत समाजवादीलाई तनाव भएको छ।

माओवादी केन्द्रका हुम्लाका नेता लालकेश जैशी माओवादीको साङ्गठनिक अवस्था हुम्लामा बलियो भएकाले पाँच स्थानीय तह नपाए एक्लाएक्लै लड्ने बताउँछन् । अर्को कुरा माओवादीले हुम्लामा संगठनलाई बलियो पार्न प्रचण्डकै निर्देशनमा सिमिकोटबासी कार्चेन लामालाई प्रदेश सरकारमा मन्त्री बनाएको छ । लामा जातीमा उनी शक्तिशाली व्यक्तिका रूपमा चिनिन्छन् । अहिले लामा गृह जिल्लाको दौडाहामा व्यस्त देखिन्छन् । काँग्रेस नेतृ शाही पनि एक्लाएक्लै लडे काँग्रेसलाई फाईदा पुग्ने बताउँछिन् भने माओवादी एक्लै लडे काँग्रेस स्वतः पराजित हुने दाबी गर्छ । स्रोतका अनुसार एकीकृत समाजवादीले एउटा पालिकामा दाबी गरेको छ ।

यता नेकपा एमाले पनि हुम्लामा गठबन्धन हुने कुरामा विश्वस्त छैन । एमाले हुम्ला जिल्लाका नेता कलबहादुर हमाल भन्छन्, ‘हाम्रो पहिला भन्दा साङ्गठनिक अवस्था राम्रै छ । उनीहरूको गठबन्धन भन्यो भने पनि हामी तीन पालिका जित्छौँ, नबने पनि त्यतिमै हाम्रो दाबी रहन्छ ।’

साथै उनले हुम्लामा गठबन्धन बने पनि सबै व्यक्तिहरु एकजुट हुन नसक्ने बताए। यद्यपि उनले गठबन्धन बनिहालेको खण्डमा एमालेले राप्रपालाई साथमा लिएर जाने पनि सङ्केत गरे  ।

०७४ को स्थानीय तहको निर्वाचनमा कुन दलको अवस्था कस्तो ?

अदानचुली गाउँपालिका

यो गाउँपालिकामा एमालेले जितेको छ। एमालेका दल फडेराले एक हजार १८५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा माओवादीका दलु फडेरा ९८७ र काँग्रेसका लोकेन्द्र भण्डारीले ७८४ मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि एमालेका सौमति रावल एक हजार २२१ मत ल्याएर निर्वाचित भएकी  थिइन् ।

खार्पुनाथ गाउँपालिका

यहाँ नेपाली काँग्रेसका कर्णबहादुर रावलले  एक हजार ११० मत ल्याएर निर्वाचित बनेका थिए भने माओवादी केन्द्रका गणेश रावलले  ५३३ मत ल्याएका थिए भने प्रेमबहादुर बुढाले ५१० मत प्राप्त गरे।

उपाध्यक्षमा काँग्रेसकै सिन्धु हमालले एक हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन ।

नाम्खा गाउँपालिका

यो गाउँपालिकामा पनि माओवादीका विष्णुबहादुर लामाले ८३३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका छिरिङ पाल्जोर लामाले ७९७ र एमालेका नुरजङ तामाङले २०३ मत प्राप्त गरे । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेको पेमा तामाङले ७०४ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

सर्केगाड गाउँपालिका

यहाँ अध्यक्षमा माओवादीका एक हजार ९२० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मंगलबहादुर शाहीले एक हजार ७७५ मत पाएका थिए । उपाध्यक्षमा एमालेका जोशी धामीले एक हजार ८५४ मत ल्याएर निर्वाचित भएका थिए ।

सिमकोट गाउँपालिका

यस गाउँपालिकामा काँग्रेसका पदमबहादुर लामाले एक हजार ३६५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा माओवादीका महेन्द्रबहादुर शाहीले एक हजार २४१ र एमालेका नरबहादुर रोकायाले ८९१ मत पाए ।

यहाँ पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेकी छन् । स्वतन्त्र उम्मेदवार बली रावतले एक हजार ३७५ मत ल्याएर जितेकी छिन् ।

चङ्खेली गाउँपालिका

यहाँ माओवादीका धनलाल चौलागाइँले एक हजार २२४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए भने काँग्रेसका प्यारीलाल शाहीले एक हजार ५५ मत ल्याएका थिए ।

एमालेका खड्ग ऐरी १९ मतमा सीमित भए भने उपाध्यक्षमा एमालेकी विमला कुमारी शाहीले एक हजार २३ मत ल्याएर निर्वाचित भइन् ।

ताँजाकोट गाउँपालिका

यहाँ पनि माओवादीको वर्चश्व छ । माओवादीका बाग्दल मल्लले एक हजार ३६९ मत ल्याएर निर्वाचित भएका थिए भने उपाध्यक्षमा माओवादीकै मञ्जु बुढाले एक हजार २९१ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप