मधेस प्रदेशमा गठबन्धन गर्न काँग्रेस अनिच्छुक
जनकपुर । मुलुक अहिले स्थानीय तह निर्वाचनमा केन्द्रित छ । सत्तारुढ पाँच दलीय गठबन्धन आपसमा तालमेल गरेर निर्वाचनमा जाने भएका छन् । तर, कुन स्थानीय तहमा कसले उम्मेदवारी दिने भन्नेमा उनीहरुबीच रस्साकस्सी चलिरहेको छ ।
सत्ता बाहिर रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेस प्रदेशका कतिपय पालिकामा स्थानीय कमिटीबाट उम्मेदवार सिफारिस गरिसकेको अवस्था छ तर केन्द्रबाट कुनै पनि दलले उम्मेदवारको निर्क्यौल गर्न सकेको अवस्था छैन ।
राष्ट्रिय दलको रुपमा रहेको नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आधार भूमि कुनै न कुनै रुपमा मधेस प्रदेश नै रहँदै आएको छ । देशको सबैभन्दा पुरानो राजनीतिक इतिहास बोकेको नेपाली काँग्रेसका लागि यो क्षेत्र गढकै रुपमा रहँदै आएको थियो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम अनुसार देशका अधिकांश स्थानीय तहमा नेकपा एमाले हावी हुँदा काँग्रेस दोस्रो स्थानमा पुगेको थियो । तर कुनै समय काँग्रेसका लागि एकल भोट बैंकको रुपमा रहँदै आएको मधेसले भने उक्त निर्वाचनमा काँग्रेसलाई पहिलो दल बनायो ।
काँग्रेसको नेतृत्व आसन्न निर्वाचनमा मधेस प्रदेशमा आफ्नो प्रभाव बढाउन नयाँ रणनीति बनाउने दाउमा छ । अन्य दलहरु समेत कमजोर अवस्थामा पुग्दा आश्रय खोज्न मधेसको समथर भूमिमै झर्छन् । सोही अनुसार एमाले र माओवादी केन्द्रले आसन्न निर्वाचन केन्द्रित गतिविधि बढाउने क्रममा मधेस प्रदेशलाई नै प्राथमिकता दिएका छन् ।
मधेस केन्द्रित दलमा लागेर मधेस आन्दोलनमा होमिएका कतिपय युवा अहिले एमालेमा लागेपछि मधेस प्रदेशमा एमाले हौसिएको छ ।
काँग्रेस पनि मधेसमा आफ्नो जनाधार कायम रहेको निष्कर्षमा छ । मधेसवादी दल तथा एमाले विभाजित भएको अहिलेको अवस्थामा अधिकांश पालिकामा आफ्नो जित सुनिश्चित रहेको काँग्रेसको आकलन छ । त्यसैले कतिपय काँग्रेस नेता मधेस प्रदेशमा गठबन्धनबीच चुनावी तालमेल आवश्यक नरहेको निष्कर्षमा छन् । काँग्रेसका मधेस प्रदेश अध्यक्ष कृष्णप्रसाद यादव गत स्थानीय तह निर्वाचन परिणाम काँग्रेसका लागि सन्तोषजनक नभए पनि मधेसमा काँग्रेस कमजोर नरहेको दाबी गर्छन् ।
उनले काँग्रेस अहिले पनि मधेस प्रदेशमा पहिलो स्थानमै रहेको र आसन्न निर्वाचनमा पनि आफ्नो प्रभाव बढाउने बताए ।
माओवादी केन्द्रका मधेस प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी पनि आफ्नो पार्टीले पछिल्लो निर्र्वाचनभन्दा बढी स्थानीय तहमा राम्रो नतिजा ल्याउनेको दाबी गरे । उनले भने, ‘जनताले विकास चाहेका छन्, माओवादीले जितेको स्थानीय तहमा विकासको लहर आएको कुरा जनताले मूल्याङ्कन गर्छन् ।’
गठबन्धनप्रति काँग्रेसको अरुचि
स्थानीय तहको निर्वाचनमा स्थानीय तहको उम्मेदवारी बाँडफाँटको विषयलाई लिएर सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूलाई सकस भएको छ । सत्तारुढ गठबन्धनभित्र देखिएको विवादका कारण नेपाली काँग्रेस अलमलमा परेको हो ।
काँग्रेसले पर्साको वीरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका सहितका अधिकांश पालिकामा दाबी गरेको छ । पर्सा जिल्लामा गठबन्धन नगर्ने भन्दै सो पार्टीले प्रेस विज्ञप्ति नै जारी गरिसकेको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक्लै प्रतिस्पर्धामा उत्रिने काँग्रेसको तयारी छ ।
विगतमा संघीय समाजवादी (हाल जसपा नेपाल) ले जितेको वीरगञ्ज महानगर र राजपा नेपालले जितेको जनकपुर उपमहानगरपालिकामा काँग्रेसले दाबी गरेको छ । वीरगञ्ज महानगरका प्रमुख विजय सरावगी हाल नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । राजपा नेपालबाट जनकपुरको प्रमुखमा जितेका लालकिशोर साह हाल जसपामा छन् ।
गठबन्धन घटककै अर्को दल जसपा नेपालले पनि वीरगञ्ज महानगर र जनकपुर उपमहानगरमा सशक्त दाबी गरेको छ ।
पर्सामा अधिकांश काँग्रेसी नेता गठबन्धनको विपक्षमा छन् । काँग्रेस वीरगञ्ज महानगरपालिका समितिका सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नम्बर १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेशसभा क्षेत्र नम्बर १ को र २ को (क) र (ख ) का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गरिसकेका छन् ।
काँग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति गुप्ताले काँग्रेस बलियो पार्टी भएकाले पर्सामा गठबन्धनको आवश्यकता नै नरहेको बताए । काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गठबन्धन प्रतिगामी पार्टीको विरुद्धमा रहेकाले मधेस प्रदेशमा प्रतिगामी एमाले निकै कमजोर रहेको भन्दै यहाँ गठबन्धनको आवश्यकता नरहेको जनाए ।
उनले आसन्न निर्वाचनमा गठबन्धन दल बिचमै प्रतिस्पर्धा हुने भएपछि गठबन्धनको औचित्य नै नरहेको दाबी गरे । उनले भने, ‘एमाले र लोसपा मधेस प्रदेशका निकै कमजोर छन्, यस्तो अवस्थामा मधेसमा गठबन्धन दलहरु बीचमै प्रतिस्पर्धा हुुने भएपछि गठबन्धनको औचित्य छैन ।’
मधेस केन्द्रित दल र नेकपा एमाले विभाजित भएको र माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर रहेकाले काँग्रेसले मधेस प्रदेशका अधिकांश पालिकामा एक्लै लड्नुपर्ने निष्कर्ष निकालेको हो ।
काँग्रेस जनकपुरधाम उपमहानगर समितिका सभापति मनोज साहले जनकपुरधाममा गठबन्धनको औचित्य नरहेको दाबी गरे । उनले पहिलाभन्दा अहिले जसपा निकै कमजोर अवस्थामा रहेकाले जनकपुरधाममा काँग्रेसले सहजै जित हासिल गर्ने बताए ।
उनले भने, ‘राजपाबाट निर्वाचित भएका मेयरले राजपाका एउटा पनि वडा अध्यक्षलाई आफ्नो पक्षमा ल्याउन सकेको छैन, कुनै पनि वडामा बलियो संगठन छैन, अनि किन गठबन्धन गर्ने ?’
काँग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियारले अधिकांश पालिकामा काँग्रेस एक्लैले जित्ने अवस्था रहेको बताए । उनले भने, ‘जनताको झुकाव फेरि पनि काँग्रेस पार्टीतर्फ नै देखिएकाले गठबन्धन चाहिँदैन ।’
काँग्रेसका सहमहामन्त्री महेन्द्र राय यादव भने गठबन्धन आवश्यक रहेको र १० गतेसम्म गठबन्धनको खाका बन्ने बताउँछन् । गठबन्धनको मोडलबारे छलफल भइरहेको उनको भनाइ छ । उनले गठबन्धनका विषयमा कुनै विवाद नरहेको दाबी गरे । नेकपा एमालेलाई शून्यमा झार्ने आफूहरुको योजना रहेको भन्दै उनले यो योजना गठबन्धन बिना सम्भव नहुने पनि प्रस्ट पारे ।
०७४ सालको निर्वाचनमा १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा काँग्रेसबाट ४० पालिका प्रमुख र ३८ पालिका उपप्रमुख निर्वाचित छन् । त्यस्तै २९५ वडामा काँग्रेसले जितेको छ ।
मधेस प्रदेशमा तत्कालीन संघीय समाजवादीले दोस्रो स्थान पाएको थियो भने तेस्रो दलका रुपमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल थियो ।
देशव्यापी रुपमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र मधेसमा भने अघिल्लो स्थानीय तह निर्वाचनका आधारमा चौथो स्थानमा छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार माओवादीले २१ स्थानीय तहमा प्रमुख जितेको छ ।
१८ स्थानीय तहमा प्रमुख जितेको नेकपा एमाले मधेसमा पाँचौँ दलका रुपमा छ । त्यसपछि नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहमा २०७४ को निर्वाचनमा प्रमुख पद जितेका थिए ।
मधेस प्रदेशका ८ जिल्लामा कुन दलको अवस्था कस्तो ?
धेरै स्थानीय तह भएको प्रदेशको मामिलामा मधेस प्रदेश दोस्रो नम्बरमा छ । प्रदेश १ पछि सबैभन्दा धेरै स्थानीय तह मधेस प्रदेशमै छ । १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कुल १३६ वटा स्थानीय तह रहेको मधेस प्रदेशमा कुल १ हजार २७१ वडा छन् ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा बढी अर्थात् ४० स्थानीय तहको प्रमुख तथा ३३८ वडाको अध्यक्षमा जित हासिल गरेको थियो । त्यस्तै तत्कालीन संघीय समाजवादी फोरमले २६ स्थानीय तह र १९१ वडामा जित हासिल गरेको थियो ।
तत्कालीन राजपा नेपाल २५ स्थानीय तह र १९४ वडा, एमाले १८ स्थानीय तह र २३० वडा, माओवादी केन्द्र २१ स्थानीय तह र २३१ वडामा विजयी भएको थियो ।
धनुषा : मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लामा १ उपमहानगरपालिका, ११ नगरपालिका तथा ६ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । धनुषा जिल्लाका १८ वटै पालिकामा गरी १६९ वडा छन् । धनुषामा नेपाली काँग्रेसले औरही गाउँपालिका, कमला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकनन्दनी गाउपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका र सबैला नगरपलिकामा प्रमुख पदमा जित निकालेको थियो ।
त्यस्तै एमालेले मिथिला नगरपालिका, मिथिलाविहारी नगरपालिका, बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जित निकालेको थियो । तत्कालीन राजपाले जनकपुरधाम उपमहानगरपालिका र हँसपुर नगरपालिका तथा तत्कालीन संघीय समाजवादी फोरमले गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा जित हासिल गरेको थियो । माओवादी केन्द्रले सहिदनगर नगरपालिका र विदेह नगरपालिकामा जित हासिल गरेको थियो ।
महोत्तरी : महोत्तरी जिल्लामा १० नगरपालिका र ५ गाउँपालिका गरी १५ पालिका छन् । यस जिल्लामा कुल १३८ वडा छन् ।
महोत्तरीमा काँग्रेसले औरही नगरपालिका, बलवा नगरपालिका र लोहारपट्टी नगरपालिका, तत्कालीन राजपाले एकडारा गाउँपालिका, जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, मटिहानी नगरपालिका, मनरासिस्वा नगरपालिका र महोत्तरी गाउँपालिका तथा तत्कालीन संघीय समाजवादी फोरमले सोनमा गाउँपालिकामा जित निकालेको थियो ।
माओवादी केन्द्रले गौशाला नगरपालिका, बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा जित निकाल्न सफल भएको थियो । पिपरा गाउँपालिकामा तत्कालीन राजपाबाट विजयी भएका विनोद चौधरीको मृत्युपछि त्यहाँ उपनिर्वाचन हुँदा एमालेले जित निकालेको थियो ।
सप्तरी : मधेस प्रदेशको पूर्वी सीमामा रहेको सप्तरीमा कुल १८ स्थानीय तह छन् । जहाँ ९ नगरपालिका र ९ गाउँपालिका छन् । कुल १८ पालिका रहेको सप्तरीमा १६४ वडा छ ।
२०७४ को निर्वाचनमा सप्तरीमा काँग्रेसले अग्निसाइर गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका र विष्णुपुर गाउँपालिकामा जित निकालेको थियो । त्यस्तै एमालेले कञ्चनरुप नगरपालिका र सप्तकोशी नगरपालिका, तत्कालीन राजपाले डाक्नेश्वरी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र हनुमाननगर कंकालिनी गाउँपालिकामा जित हासिल गरेको थियो ।
तत्कालीन संघीय समाजवादी फोरम खडक नगरपालिका, तिरहुत गाउँपालिका, बोदे बर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकामा विजयी भएको थियो । एक स्थानीय तहमा तत्कालीन नयाँ शक्ति पार्टीले जित निकालेको थियो । माओवादी केन्द्र भने सप्तरीको एक स्थानीय तहमा पनि जित्न सफल भएन ।
सिरहा : सिरहा जिल्लामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ पालिका तथा १६४ वडा छन् ।
सिरहामा काँग्रेसले कल्याणपुर नगरपालिका, नवराजपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, एमालेले नरहा गाउँपालिका, लहान नगरपालिका र सुखीपुर नगरपालिकामा जित हासिल गरेको थियो ।
माओवादी केन्द्रले अर्नमा गाउँपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपलिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र मिर्चैया नगरपालिकामा जित हासिल गर्दा तत्कालीन संघीय समाजवादी फोरमले बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, विष्णुपुर गाउँपालिका र सिरहा नगरपालिकामा प्रमुख पदमा जित हासिल गरेको थियो । सिरहामा तत्कालीन राजपाको खातासम्म खुल्न सकेको थिएन ।
सर्लाही : मधेस प्रदेशमा सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला हो सर्लाही । यहाँ ११ नगरपालिका र ९ गाउँपालिकासहित २० स्थानीय तह छन् । सर्लाहीमा २०० वडा छ ।
सर्लाहीमा काँग्रेसले धनकौल गाउँपालिका, बसबरिया गाउँपालिका, मलंगवा नगरपालिका, रामनगर गाउँपालिका, हरिपूर्वा नगरपालिकाको प्रमुखमा जित हासिल गरेको थियो । एमालेले ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका र हरिवन नगरपालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले चकरघट्टा गाउँपालिका, बरहथवा नगरपालिका र बाग्मती नगरपालिकाको प्रमुख पद हासिल गरेको थियो ।
तत्कालीन राजपाले कविलाशी नगरपालिका, कौडेना गाउँपालिका, चन्द्रपुर नगरपालिका, बलरा नगरपालिका र ब्रह्मपुरी गाउँपालिका, तत्कालीन संघीय समाजवादी फोरम एकमात्र स्थानीय तह पर्सा गाउँपालिकामा विजयी भएको थियो ।
रौतहट : १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा १५७ वडा छन् । रौतहटमा काँग्रेसले गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिकामा जित हासिल गरेको थियो ।
यस्तै, माओवादी केन्द्रले कटहरिया नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका, राजपाले गुजरा नगरपालिका र गौर नगरपालिकामा जित हासिल गरेको थियो । तत्कालीन फोरमले गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिकामा जित हासिल गरेको थियो ।
बारा : २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका गरी १५ स्थानीय तह रहेको बारामा कुल १६७ वडा छ । बारा जिल्लामा काँग्रेसले कलैया उपमहानगरपालिका, करैया गाउँपालिका, निजगढ नगरपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका र सिमरौनगढ नगरपालिकाको प्रमुख पद जितेको थियो ।
एमालेले कोल्हवी नगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिका, राजपाले देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका र प्रसौनी गाउँपालिकाको प्रमुखमा जितेको थियो ।
तत्कालीन फोरमले आदर्श कोटवाल गाउँपालिका, पचरौता गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिकामा जित हासिल गरेको थियो ।
पर्सा : मधेसमा एकमात्र महानगरपालिका पर्सा जिल्लामा पर्छ । पर्सामा एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह तथा ११२ वडा छ । पर्सामा काँग्रेसले धोविनी गाउँपालिका, पर्सागढी नगरपालिकामा जित हासिल गरेको थियो ।
यस्तै, एमालेले जिराभवानी गाउँपालिका, पटेर्वा सुगौनी, बहादुरमाई गाउँपालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले छिपहरमाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका र ठोरी गाउँपालिकाको नेतृत्व हासिल गरेको थियो ।
तत्कालीन संघीय समाजवादी फोरम पकहामैनपुर गाउँपालिका, विन्दवासिनी गाउँपालिका, वीरगञ्ज महानगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाको प्रमुखमा विजयी भएको थियो ।