साताका ५ कविताः हो म लडेँ उसको लागि
हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौँ । हरेक साता नियमित रूपता नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।
यो साता अर्जुन पौडेलको ‘हो म लडेंं उसको लागि’ शीर्षकको कवितालाई शीर्ष कवितामा स्थान दिइएको छ । जसमा माओवादी जनयुद्धको सम्झना गरिएको छ । यो साताका अन्य कवितामा मणिकुमार श्रेष्ठ ‘सिजन’ माटोको माया, रविन बस्ताकोटीको बद्लाव, राकेश कार्की किन नेता आफ्नो हुँदैन ? तथा मुना पौडेलको तिम्रा यादहरूले शीर्षकको कविता समेटिएको छ ।
हो म लडेँ उसको लागि
अर्जुन पौडेल
हो म लडेँ उसको लागि
उसैको अधिकारको लागि
उसको सामाजिक अस्तित्वको लागि
किनकि ऊ बोल्न पाउँदैन थियो
मनको कुरा खोल्न पाउँदैन थियो
मुखियाले कुट्यो भनेर
छोरीको इज्जत लुट्यो भनेर
हो म लडेंं उसको लागि
उसैको अस्तित्वको लागि ।
जब उसको छोरी आमा बन्ने भई
मुखियाको छोरो बाउ भन्ने भयो
इज्जतको डरले छोरी मारी दिए
अनि त्यही बाउलाई हत्यारा भनी दिए
हो यही दर्दनाक अवस्था देख्न सकिन
न्याय दिन माओवादी नभई भएन ।
बन्दुक बोकेर हिँडे
त्यो चेलीको न्यायको लागि
हो म लडेंं उसको लागि
उसैको अस्तित्वको लागि ।
जब ऊ आफ्नै जमिनमा
हलो चलाउन सकेन
पाँच सय सापटीको लागि
लालपूर्जा जोगाउन सकेन
त्यसपछि उसको घरमा आगो बलेन
हो यही देखेर मेरो शरीरमा आगो बलेको हो
त्यही भएर मैले त्यो रातो झन्डा बोकेको हो
सामन्तीको जमिनमा लाल किल्ला गाडेकै हो
हो म लडेकै हो उसको लागि
उसैको अस्तित्वको लागि ।
जब दमाई दाइ दौरा पुर्याउन मुखियाको आँगन पुगे
अपसगुन भयो भन्दै मुखियाको कुटाइ खाए
कामी दाइले बनाएको गाग्रो
झुक्किएर भाउजुले छोइदिदा
कामी दाइको परिवारमा उठीबास लाग्दा
यस्तै उत्पीडनमा परी समाज चिन्न नपाएका
त्यो वर्गको उत्थानको लागि
हो म लडें उसको लागि
उसैको अस्तित्वको लागि ।
आज मैले लडेर ल्याएको व्यवस्थामा
उसको अस्तित्व स्वयम् जोगाउन सक्ने भयो
भाउजुले छोएको पानी सबैलाई चल्ने भयो
आफ्नै जमिनमा स्वयम्को अस्तित्व रहने भयो
आज ऊ अधिकार सम्पन्न भयो
विडम्बना उसैले माओवादी बिर्सिदै गयो
फेरि पनि म त्यो लडाइ सम्झाउन
उसको लागि बगेको रगत सम्झाउन
दलालहरुबाट उसलाई मुक्त बनाउन
माओवादीलाई एक नम्बर पार्टी बनाउन
आज पनि म लडिरहेकै छु
उसको लागि
उसैको अस्तित्वको लागि ।
....
माटोको माया
मणिकुमार श्रेष्ठ ‘सिजन’
बिहानीको पारिलो घामसँगै
त्यो लाली किरणहरूले
पश्चिमा संस्कृतिहरूलाई पाखा लगाउँदै
पूर्वेली सभ्यताको
प्रार्दुभाव भएको युगौं युग
भइसकेको छ ।
हिमालयको काखमा हुर्किएको
मरो देशलाई
आज पश्चिमा संस्कृतिले
अन्धकार झैं बनाइरहेको छ ।
ठिक यसैबेला
मेरो देशका नौजवानहरू
आफ्नै जीवन आफैले बेची
पराई भूमिमा परिश्रम गर्न
तल्लीन छन् ।
तर मेरो देशका
तर मेरो देशका नौजवानहरू
आफैलाई वेच्न राजी छन्
किनकि मेरो देश
नपुंसकहरूले चलाएका छन् ।
छाती दुःखेर आउँछ
मुटु काँपेर आउँछ
हृदय जलेर आउँछ
परिवर्तनका खातिर
जन्मिएका नौजवानहरू
आफैलाई धरौटीमा राखेर
परिवार पाल्न
परदेशिन वाध्य छन् ।
किनकि उनीहरूलाई
देशले माटोको माया सिकाएन ।
भोजपुर
बद्लाव
रविन बस्ताकोटी
हिमालको चिसो कठोरता पगालेर
नुनको घनत्व पातलो बनाएको
घामलाई
समुद्रमा उठेकै बादलले
किन छोप्छ ?
किन कपुर नपग्लिदै
उदात्तीकरण भएर
हावामा विलिन हुन्छ ।
मनको गहिराईसम्म
पुगेको प्रेम नै
पिंधको माछा बल्छीमा अल्झाएर
तटमा पछारे जस्तो किन गर्छ ?
एक निमेषमा चलेको हुरीले
लडेको रुख
किन जिन्दगी भर
उठ्न सक्दैन ।
घाउ किन खिल बनेर
बल्झिरहन्छ
काँडा झिक्दा पनि ।
सपनाका महलहरु
आकार नलिदै
किन भन्त्किन्छन् पूर्वाद्धमा ।
आफैले वाष्पीकरण गरेको पानी
संक्षेपण हुँदा
किन बलिरहन सक्दैन आगो ?
ठोसीकरण, वाष्पीकरण,
संक्षेपीकरण क्रिया
भएर होस् वा
पग्लेर उम्लेर होस्
पानीले रूप फेरे पनि
पानी नै रहे जस्तो गरी
चरण संक्रमण भएर
रूप बदल्दै रही रहन्छन्
कतिपय क्षणहरु जिन्दगीभर
नाम्लो र बरियोले
भरियाको निधार नछोडेजस्तो ।
...
किन नेता आफ्नो हुँदैन ?
राकेश कार्की
थरीथरीको नेपालीको पीडामा
न त उसको मन नै रून्छ
वैदेशिक रोजगारीमा जानेहरूको
न त उसले दुःख नै सुन्छ
दुःखी, पीडितको आँसु झर्दा पनि
किन उसको मन छुँदैन
जति विश्वास गरे पनि
किन नेता आफ्नो हँुदैन ?
अब त चुनाव आयो भन्छन्
मिडियाहरुमा नेताकै गन्थन
बहुदल भने पनि भइसक्यो निर्दल
जसरी नि जित्ने मात्र गठबन्धन
रिमिक्स भएपछि सिद्धान्त र विधान
असल वैचारिक प्रतिफल दिंदैन
जति विश्वास गरे पनि
किन नेता आफ्नो हुँदैन ?
कर्मठ र इमान्दारलाई उठाए हुन्थ्यो
योग्य क्षमतावानलाई जिताए हुन्थ्यो
चुनाव अघि नेता आए जस्तो
गाउँ, नगरमा विकास आए हुन्थ्यो
विदेशीको त्यो ऋण, त्यो अनुदान
नेपालकै माटोमा किन फुल्दैन
जति विश्वास गरे पनि
किन नेता आफ्नो हुँदैन ?
हालः लस एन्जेलस
तिम्रा यादहरूले
मुना पौडेल
सुनसान यो रातमा
निद्राले साथ छोडी दिंदा
तिम्रै यादले सताई रहँदा
न त तिमीलाई केही सुनाएर
मन बुझाउन सक्छु
न त निदाउन नै सक्छु
काश तिमी गएपछि
मायामा पनि पूर्णविराम लाग्थ्यो भने ।
...
जब तिमी थियौ
तब मलाई कसैको कमी थिएन
जब तिमी गयौ
तब सबथोक गुमेको आभास हुन्छ
कस्तो खालको माया बसेछ तिमीसँग
न त तिमीलाई पाउन नै सक्छु
नत बिर्सिन नै सक्छु
तिमीले दिएका चोटहरु भन्दा
तिमी सँगको रमाइलो पलले सताउँछ
त्यो तिम्रो माया
त्यो तिम्रो सम्बोधन
आहा, सधैं सधैं मस्तिष्कमा
अड्डा जमाउने भयो
ती तिम्रा यादहरुले
काश, निद्रा हराम नगर्दिए
अर्को जुनी फेरेसरि हुन्थ्यो होला
मेरो जीवन
तिम्रो जस्तै रङ्गीन
तिम्रो जस्तै बिन्दास
तिम्रो जस्तै मस्त
काश, तिम्रो जस्तै जीवन हुन्थ्यो भने
तिमीले जस्तै मुस्कुराएर बाँच्न सकेको भए
तिमीले जस्तै सजिलै भुल्न सकेको भए
कत्ति भाग्यमानी हुन्थे होला म
काश, तिमी मेरो जिन्दगीमा नआएको भए
मेरो सुनौलो संसारलाई नबिथोली दिएको भए
मेरो आफ्नै संसार थियो
जहाँ म निकै खुसी थिएँ
एक्लै बाँच्न अनि रमाउन सक्थे
अब न त बिर्सिन नै सकेको छु
न त पाउने आशा नै राखेको छु
काश, तिम्रा यादहरुले
मेरो निद्रा हराम नगर्दिए ।
हराम नगर्दिए ।।
....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा