शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरमा कसको कति दाबी ?

उपमहानगरमा माओवादीको पुगेन मापदण्ड, जनमोर्चाले माग्यो वडाअध्यक्ष
शुक्रबार, ०२ वैशाख २०७९, २० : ५१
शुक्रबार, ०२ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सम्बद्ध दलभित्र महानगर र उपमहानगरपालिकाको माग–दाबीबारे आन्तरिक हिसाब–किताब भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकमा महानगर र उपमहानगरको भागबण्डा केन्द्रले टुङ्ग्याउने सहमतिपछि उनीहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।

नेताहरुका अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको आन्तरिक छलफल भागबण्डा केन्द्रित छ । पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा बाहेकका चार दलले ६ महानगर र ११ उपमहानगरको चुनावी तालमेलमा आफ्नो स्थान खोजिरहेका छन् ।

काँग्रेसको सबैमा दाबी

गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसभित्र कुन महानगर र उपमहानगर अन्य पार्टीलाई छोड्ने भन्ने अन्योल छ । ०७४ को निर्वाचनमा ६ मध्ये दुई महानगर जितेको काँग्रेसले ५ महानगरमा दोस्रो मत पाएको थियो । काठमाडौं र पोखरामा एमालेसँग पराजित काँग्रेस वीरगञ्जमा तत्कालीन संघीय समाजवादी (हाल जसपा)सँग हारेको थियो ।

भरतपुरमा माओवादी केन्द्रलाई सघाएको काँग्रेसले विराटनगर र ललितपुर महानगरको प्रमुख जितेको थियो । काँग्रेसको जिल्ला कार्यसमितिले ६ वटै महानगरपालिकामा दाबी राखेको छ । एमाले, माओवादी र जसपाले जितेको महानगरमा आफूले प्रमुख पद पाउनुपर्ने दाबी गर्दै काँग्रेसको जिल्ला कार्यसमितिले सभापति शेरबहादुर देउवा समक्ष माग राखेको अवस्था छ ।

​यस्तै अघिल्लो निर्वाचनमा ११ उपमहानगरमध्ये दुई र उपनिर्वाचनबाट थप एक उपमहानगरको नेतृत्व पाएको काँग्रेसले आसन्न निर्वाचनमा सबैजसो उपमहानगरको नेतृत्वमा दाबी राखेको छ । २०७४ को निर्वाचनमा एमालेले जितेको धरान उपमहानगरको नेतृत्व २०७६ सालमा भएको उपनिर्वाचनमा काँग्रेसले जित हासिल गरेको थियो ।

एमालेले जितेका इटहरी, जीतपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा काँग्रेसले दोस्रो मत पाएको थियो । काँग्रेसले धरान, कलैया र धनगढी गरी तीनवटा उपमहानगरको नेतृत्व पाएको थियो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले जनकपुर र राप्रपा नेपालले नेपालगञ्ज उपमहानगर गरी एक–एकवटा उपमहानगर जितेका थिए । ती उपमहानगरमा पनि काँग्रेसले दोस्रो मत ल्याएको थियो । पाँच दलीय गठबन्धनमा अहिले काँग्रेसका अलावा उपमहानगरको नेतृत्व जसपासँग मात्र छ ।

गत स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रले कुनै पनि उपमहानगरमा जित हासिल गर्न सकेको थिएन । उसले दोस्रो मत प्राप्त गरेको उपमहानगरपालिका पनि छैन ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीसँग पनि उपमहानगरमा नेतृत्व छैन । गठबन्धनमा बनेको मापदण्ड अनुसार काँग्रेसले १० वटा उपमहानगरमा दाबी राख्ने अवस्था छ ।

काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस सबै महानगर र उपमहानगरमा दाबी गर्ने अवस्थामा रहेको बताए । रातोपाटीसँग उनले भने, ‘हामीले दाबी राखेका छैनौं । सबैमा दाबी राख्ने अवस्थामा छौं तर अहिलेसम्म कसको कति दाबी भन्ने छलफल नै सुरु भएको छैन ।’

वैशाख ४ गते बस्ने गठबन्धनको बैठकमा यसबारे छलफल हुने उनको भनाइ छ । काँग्रेसका एक शीर्ष नेताका अनुसार चार महानगर र ७ उपमहानगरमा काँग्रेसको सशक्त दाबी छ । जनकपुर उपमहानगर जसपालाई छोड्न तयार देखिए पनि माओवादी र एकीकृत समाजवादीलाई कुन उपमहानगर छोड्ने भन्नेमा काँग्रेसले रणनीति बनाइ नसकेको ती नेताले बताए ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएर महानगर र उपमहानगरबारे संस्थागत रणनीति बनाउने काँग्रेसको तयारी छ । पार्टीबाट म्यान्डेट नलिइ गठबन्धनको बैठकमा भागबण्डा गर्दा कार्यकर्ता समाल्न मुस्किल हुने काँग्रेसको बुझाइ छ ।

माओवादीको आधार एकमा, दाबी पाँचमा

माओवादी केन्द्रले अहिलेसम्म महानगरमा मात्र सशक्त दाबेदारी राखेको छ । ०७४ मा आफूले जितेको भरतपुर महानगरपालिका नछोड्ने माओवादीको दाह्रो अडान छ । सार्वजनिक र गठबन्धन बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरलाई केन्द्रमा राखेको अवस्था छ ।

यस्तै एमालेले जितेको काठमाडौं र पोखरामा पनि माओवादीको दाबी छ । ०७४ मा काँग्रेसलाई प्रमुख छोडेको भन्दै पोखरामा यसपटक आफूले प्रमुख पद पाउनुपर्ने माओवादीको माग छ । उपमहानगरपालिकामा भने माओवादीको दाबी सार्वजनिक भएको छैन । ११ उपमहानगरपालिकामा कतै तेस्रो र कतै चौथो मत पाएको माओवादीका लागि गठबन्धनले बनाएको मापदण्डमा दाबी गर्ने आधार पनि देखिँदैन ।

माओवादी केन्द्रका नेता देव गुरुङले गठबन्धनको भावना र दलीय अवस्थामा महानगर र उपमहानगरमा आफूहरुको दाबी रहने बताए । उनले भने, ‘अहिले नै उतिउति भन्ने छैन । गठबन्धनको भावना र हाम्रो पार्टीको अवस्था अनुसार दाबी रहन्छ । संख्या भने गठबन्धनमा सहमति भएपछि मात्र थाहा हुन्छ ।’

२ महानगर, ३ उपमहानगरमा एकीकृत समाजवादीको दाबी

गठबन्धनको तेस्रो ठूलो शक्ति नेकपा एकीकृत समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा जाँदैछ । एमालेबाट विभाजित भइ गत भदौमा बनेको सो पार्टीले दुई महानगर र तीन उपमहानगरमा दाबी राखेको छ ।

गत निर्वाचनमा एमालेले जितेको काठमाडौं र पोखरा महानगरमा समाजवादीले दाबी प्रस्तुत गरेको हो । उसको सशक्त दाबी पोखरा महानगरपालिका रहेको गठबन्धनका नेताहरु बताउँछन् । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल एमालेबाट विभाजित भएको मुख्य शक्तिका रुपमा गठबन्धनबाट आफ्नो पार्टीले हिस्सा पाउने बताउँछन् ।

​उनले भने, ‘हामीले एमालेले जितेका महानगर र उपमहानगरको ५० प्रतिशत मागेका थियौं । गठबन्धन दलमा मुख्य शक्तिका रुपमा हेरिएको छ । सम्मानजनक रुपमा हामीले स्थान पाउछौं ।’

जसपाले माग्यो २ महानगर र ४ उपमहानगर

जनता समाजवादी पार्टी (जसपा) नेपालले २ महानगर र ४ उपमहानगरपालिका प्रमुखमा दाबी राखेको छ । प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा जनाधार भएको जसपाले उक्त दाबी राखेको हो । जसपाका नेता महोम्मद इस्तियाक राईले भने, ‘वीरगञ्ज र विराटनगर महानगरपालिकाको प्रमुखमा हाम्रो दाबी छ ।’

उनका अनुसार जसपाले जनकपुर, कलैया, नेपालगञ्ज र धनकुटा उपमहानगरपालिकामा दाबी प्रस्तुत गरेको छ । त्यसमा पनि मुख्यतः जनकपुर, कलैया र नेपालगञ्ज रहेको राईको भनाइ छ । उक्त ठाउँमा जसपाले नेतृत्व नपाए गठबन्धन गरेर जान असमर्थ हुने उनले बताए ।

जनमोर्चाले राख्यो तीन वडाध्यक्षमा दाबी

गठबन्धनमा रहेको सानो दल राष्ट्रिय जनमोर्चाले भने महानगर र उपमहानगर पालिकाको नेतृत्वमा दाबी राखेको छैन । जनमोर्चाका नेता हिमाल पुरीले महानगर र उपमहानगरपालिकाका ३ वटा  वडाध्यक्षमा मात्र आफ्नो पार्टीको दाबी रहेको बताए । जीतपुर सिमरा उपमहानगरपालिकाका तीन वटा वडामा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको पुरीको भनाइ छ ।

‘चुनावी तालमेलका लागि गठबन्धनले बनाएको मापदण्डका आधारमा माग राख्छौं । त्यसमा हामीले जीतपुर सिमरा उपमहानगरपालिकाका तीन वटा वडामा अध्यक्ष पाउनुपर्ने माग छ । त्यहाँ हाम्रो दाबी पनि पुग्छ ।’

बाँकी स्थानमा वडा सदस्यमा जनमोर्चाको दाबी रहने पुरीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप