शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण

शुक्रबार, ०२ वैशाख २०७९, १९ : ३७
शुक्रबार, ०२ वैशाख २०७९

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन् । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । ‘संघिय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तह नै हो’ उनले भनिन् –‘आउँदो ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो, भयरहित ढंगले सम्पन्न गर्न हामी सबैको दायित्व र कर्तव्य रहेको छ ।’ 

उनले स्थानीय तह सञ्चालन र व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमुख्यनिर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रहेको बताइन् । उनले यहाँ (मतदान अधिकृत/सहायक निर्वाचन अधिकृत) हरुको अनुभव र सुझावलाई आयोगले सधै ग्रहण गर्ने बताइन् । उनले सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार एक सय ५० मतदाता रहेको र मतदान केन्द्र दुई हजार एक सय तीन रहेको बताइन् । उनले निर्वाचनको सुरुवातदेखि नै गर्नुपर्ने कुराहरूको सबैले मनन गर्नुपर्ने बताइन् ।

‘निर्वाचनमात्र होइन मतगणनाका कुरा, मतदान स्थलहरु, केन्द्रहरुलाई आम मतदातामैत्री बनाउने कुरामा पनि ध्यान दिनुहोला’ उनले भनिन् ‘विभिन्न प्रकारका मतदाता छन् । ती मतदाताहरूलाई सहज ढंगले कसरी पहुँच योग्य बनाउने कुराको पनि मनन गर्न जरुरी छ ।’ उनले आयोगले निर्वाचनको तालिकाअनुसार धेरै अघि बढिसकेको बताइन् । उनले हरेक स्थानीय तहमा कार्यालय स्थापना गरी मतदान अधिकृतहरूले आचारसंहिता उल्लंघनका घटनालाई पनि निगरानी गर्नुपर्ने बताइन् । ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन त्यति सहज कार्य पनि होइन् । जटिल र व्यवस्थापकीय कार्य पनि भएकाले नियमित सरोकारवालाहरुसँग अन्तक्र्रिया, छलफल गर्दै अघि बढ्यो भने हाम्रो लक्ष्य प्राप्त गर्न सक्छु’ उनले भनिन् ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख सचिव रामेश्वर दंगालले सबैको योगदानबाटै मात्र निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए । कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचन लोकतन्त्रको सवल पक्ष रहेको बताए । ‘निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कैलालीमा आवश्यकता अनुसार सुरक्षा निकाय परिचालन गरिने छ’ उनले भने –‘निर्वाचनका बेलामा निर्वाचन लक्षित सुरक्षा योजना बनाउने, निर्वाचन स्थल, कार्यालयलाई सुरक्षित बनाउने, मतगणना र ढुवानी लगायतमा हाम्रा योजना हुन्छन् ।’ उनले दुर्गम क्षेत्रमा मतपत्र ढुवानी गर्न हेलिकोप्टर पनि तयारी अवस्थामा राखिने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख सचिव दंगाल, आयोगका सहसचिव डाक्टर अर्जुनकुमार खडका, टेकबहादुर घिमिरे, पूर्व सहसचिव राजेश्वर नेपाल, सहसचिव तोयनाथ सुवेदी लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा खटिएका मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप