वैदिक कथा : सरमाको शिक्षा

person explore access_timeबैशाख २, २०७९ chat_bubble_outline0

सुर र असुरहरूका नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । वैदिक सनातन संस्कृतिमा दुई सम्प्रदाय छन्, जसमा सुर र असुर पर्छन् । यीमध्ये सुर सम्प्रदायमा देवताहरू पर्छन् भने असुर सम्प्रदायमा दानवहरू । कश्यप्रजापतिका अदिती नामक पत्नीबाट देवताहरूको जन्म भएको थियो । अर्की पत्नी दितीका गर्भबाट दानवहरू जन्मेका थिए ।


सुरूदेखि नै उनीहरूबीच मेल थिएन । आमाहरू झगडा गर्थे यसैको प्रभाव उनीहरूका सन्तानमा पनि परेको थियो ।  सुरहरू असुरहरूलाई देख्नै सक्दैनथे, असुरहरू सुरहरूलाई । एकलाई अर्कोको उन्नति र प्रगति पचाउन गाह्रो पथ्र्यो र यसै निम्ति यदाकदा झडपसमेत हुने गथ्र्यो । छलकपट र दाउपेच त कति हुन्थ्यो कति । 



एकपटक पणि असुरहरूले मध्यरातमा देवताहरूका गाई अपहरण गरे । गाई हराएको थाहा पाएपछि देवताका राजा इन्द्रले गुरु बृहस्पतिको नेतृत्वमा खोजी टोली गठन गरी सात दिनभित्र गाईहरूका अवस्था पत्ता लगाउन आदेश दिए । खोज्दै जाँदा पणि असुरहरूले चोरी गरी अद्रिबुध्न पर्वतशिखरको गुफामा राखेका छन् भन्ने पत्ता लाग्यो । त्यसपछि इन्द्रले सम्झाइबुझाई गरी गाई फिर्ता ल्याउने उद्देश्यले सरमा नामक कुकुर्नीलाई दूत बनाएर पठाए । यद्यपि सरमाको जन्म कुकुर योनीमा भएको थियो तर असल सङ्गलतले गर्दा निकै बुद्धिमानी र कुटनीतिज्ञ मानिन्थी ।



सरमालाई अचानक आफ्नो लोकमा देखेपछि पणिहरूले स्वागत गर्दै भने–

‘हे अपरिचित प्राणी ! को हौ ? कहाँबाट आयौ ? यति अग्ला पहाडहरू छिचलेर कसरी आयौँ ? जुन उद्देश्यले आएका भए पनि प्रष्ट भन्न सक्छौ । हामी असुरहरू वचनका पक्का छौँ । सकेको सहयोग पाउने छ्यौ ।’

‘धन्यवाद महाजन ! खुसी लाग्यो, तपाईँहरूबाट यही आशा गरेकी थिएँ ।’ कुटनीतिक चातुर्य देखाउँदै सरमाले भनी–

‘तपाईँहरू कश्यप्रजापति महाराजका जेठी महारानी दितीका सन्तान । कुलघराना त्यस्तै, इज्जत र मानसम्मान त्यस्तै । आभारी छु न्यानो आतिथ्यका लागि । देवराज इन्द्रको दूत बनेर आएकी हुँ । उनीहरूका गाई यहाँ छन् भन्ने सुनेर फिर्ता माग्न आएकी हुँ । कसरी आइपुगे त्यता नजाऊँ । आफैँ आइपुगेका पनि हुन सक्छन् । कसैले लिएर आएका पनि हुन सक्छन् । तपाईँहरूले नै ल्याउनु भएको भए पनि अनजानमा त्यस्तो भएको हुनुपर्छ ।’

‘गाई फिर्ता माग्न आउनुभा’को रे ?’ असुरहरूले असहज मान्दै भने–

‘दूत बनेर आउनुभएको रहेछ खुसी लाग्यो । कुशल दूत हुनुहुँदो रहेछ । आफ्नो कुरा राख्नुभयो । दूतको धर्मै यही हो । राजदूत बनेर जानेले जहाँ पनि यसैगरी विना हिचकिचाहट आफ्नो कुरा राख्नुपर्छ । जहाँसम्म गाई फिर्ताको सवाल छ त्यो भने सम्भव छैन ।

गाईहरू आफैँ आएका पनि होइनन्, कसैले ल्याएका पनि होइनन् र झुक्किएर ल्याइएको पनि होइन । हामीले नै ल्याएका हौँ, त्यो पनि जानाजान । किनभने योभन्दा अर्को उपाय नै थिएन । देवताहरू देख्नमा जति सज्जन छन् । व्यवहारमा त्यस्ता छैनन् । छलकपट बाहेक जानेकै छैनन् । त्यसैको मजा चखाउन हामीले पनि त्यस्तै कदम उठाएका हौँ ।’

‘हो र ?’ सरमाले मुसुक्क हाँस्दै भनी–

‘कुरा सुन्दा दोषी देवताहरू नै हुन् जस्तो लाग्यो । होला दोष उनीहरूकै तर यतिबेला त्यतातिर नजाऔँ । किनकि यहाँ एउटाले गरेको गल्तीको सजाय अर्कोले पाइरहेका छन् । यस्तो हुनु तपाईँहरूकै कुलपरम्परा अनुुरूप पनि छैन ।’

‘कहाँ त्यस्तो हुन्छ ?’ असुरहरूले उत्तेजित हुँदै भने–

‘तपार्ईँको आशय के हो प्रष्ट पार्न सक्नुहुन्छ । कसरी मानौँ कि एउटाले गरेको गल्तीको सजाय अर्काले पाएका छन् भनेर ।’

‘प्रष्टै छ नि ।’

‘प्रष्टै छ ?’

‘हो, प्रष्टै छ ।’

‘जस्तै ?’

‘गार्ईहरू कहाँ छन् थाहा छ ?’

‘छ, किन नहुने ?’

‘कहाँ छन् त ?’

‘जहाँ रखिएको थियो त्यही छन्, पर्वतको गुफामा ।’

‘अनि उनीहरूको अवस्था ?’

‘स्वस्थ छन् छन् ।’

‘उनीहरूले खाना पनि पाएका छन् ?’

‘सेवकहरूलाई भनेका छौँ ।’

‘अनुगमन पनि गर्नुभएको छ ?’

‘त्यो त छैन ।’

‘यसले के प्रष्ट पार्छ थाहा छ ?’

‘भन्नुस् न ?’

‘यही कि तपाईँहरू धनसम्पत्ति जम्मा गर्न मात्र खोज्नुुहुन्छ सदुपयोग गर्न सक्नुहुन्न ।’

‘कसरी ?’

प्रष्टै छ नि गाईहरू भोकै छन्, सात दिनदेखि दानापानी पाएका छैनन् ।’

‘हो र ?’

‘एकपटक गएर त हेर्नुस् ।’

‘किन जानुप¥यो, त्यस्तै हो भने त्यस्तै होला तर...।’

‘के तर ?’

‘आँखा खोलिदिनुभयो धन्यवाद । बरू....।’

‘यस बरूलाई चाहिँ कसरी बुझौँ ?’

‘यही कि देवताहरूकै कारण गाई अपहरण गर्न वाध्य भएका हौँ । फिर्ता त हुँदैनन् । उनीहरूले गल्तीको फल पाउनै पर्छ । तपाईँकै निम्ति भने केही गर्न सक्छौँ ?’

‘घुस खुवाउन खोज्नुभएको ?’

‘होइन उपहार दिन्छौँ भनेको ।’

त्यसपछि सरमाले कट्किँदै भनी–

‘तपाईँहरू गल्तीमाथि गल्ती थप्दै हुनुहुन्छ । एक त अर्काको सम्पत्ति अपहरण गरेर यसै पनि गल्ती गर्नुभयो । अपहरण गरिएका गाईलाई भोकै राखेर दोस्रो गल्ती गर्नुभयो । एउटाको मेख मार्न अर्कोलाई सजाय दिएर तेस्रो गल्ती गर्नुभयो । अहिले दूतलाई घुस खुवाउन खोजेर चौथो गल्ती गर्न खोज्दै हुनुहुन्छ । गाईहरू कहाँ र कुन अवस्था छन् भन्ने कुरा देवताहरूले थाहा पाइसकेका छन् । कुनै पनि बेला आक्रमण गर्न सक्छन् । कदाचित त्यस्तो भयो भने त्यसको मूल्य निकै भारी पर्न सक्छ ।

त्यसैले त्यस्तो अवस्था नआओस् भनेर सम्झाउन आएकी हुँ । युद्धमा हारेर फिर्ता गर्ने कि अहिले नै इज्जतपूर्वक फिर्ता गर्ने तपाईँहरूको मर्जी तर के याद राख्नुस् भने उनीहरू आक्रमण गर्न आए भने तपार्ईँहरूका श्रीसम्पत्ति मात्र होइन देशै समेत गुम्न सक्छ ।’

सरमाको कुरा पणिहरूलाई ठीकै लाग्यो । उनीहरू ससम्मान गाईहरू फिर्ता गर्न राजी भए । यसरी सरमाले कुनै नोक्सानी विना समस्या समाधन मात्र गरिन असुरहरूका राज्यसत्तालाई बचाउने कामसमेत गरी ।

ऋग्वेद मण्डल १० को १०८ औँ सूक्तमा आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर यसको सान्दर्भिकता भने अहिले पनि उत्तिकै देखिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।