मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

परिणाम देखिनेगरी चुनावमा केन्द्रित हुन प्रचण्डको निर्देशन

शुक्रबार, ०२ वैशाख २०७९, १८ : ११
शुक्रबार, ०२ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेको संख्या बढ्दै गएको बताएका हुन् । देशैभर माओवादीप्रति व्यापक जनलहर आएको उल्लेख गर्दै उनले आगामी दिन यो गति अझै तीव्र हुने प्रचण्डको भनाई छ । पार्टीको दिनभरको गतिविधिलाई प्रेस नोटमार्फत सार्वजनिक गर्दै महराले पार्टी एकतामा जोडन पछिल्लो समय लहर नै आएको बताएका छन् । 

यस्तो छ महराले जारी गरेको प्रेस नोट 

१.२०७९ वैशाख २ गते विहान नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको अनौपचारिक बैठक बस्यो । बैठकमा पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेल सम्वन्धी छलफलका विषयमा जानकारी गराउनुभयो । बैठकमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिंगो पार्टी पङ्क्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भयो । 

२. स्थानीय चुनाव नजिकिएसँगै देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको छ । पूर्व स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्जहरुको बैठकमा माओवादी केन्द्रमा एकीकृत हुने प्रक्रियालाई व्यवस्थित गर्ने र प्रदेशहरूमा पनि पहल बढाउने विषयमा समेत छलफल भएको छ । पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्वन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको छ ।

३.२०७९ वैशाख २ गते दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित हुनुभएको छ । कार्यक्रममा नुवाकोटबाट नेकपा (एमाले) जिल्ला नेता क.माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, नेपाली काँग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एकप्रसाद पाण्डे लगायत २०० जना र नेकपा (एमाले) का रौतहट जिल्ला नेता क.सञ्जिवकुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी ५०० जना गरी ७०० जना माओवादी केन्द्रमा समाहित हुनुभएको छ ।

४.पार्टी अध्यक्ष कमरेड प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्डले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा समाहित हुनुहुनेहरुलाई स्वागत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै देशैभर माओवादीप्रति व्यापक जनलहर आएको उल्लेख गर्नुहुँदै आगामी दिन यो गति अझै तीव्र हुने बताउनुभयो । 
२ वैशाख २०७९
(कृष्ण बहादुर महरा)
प्रवक्ता
नेकपा (माओवादी केन्द्र)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप