आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार गरेको भन्दै मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध  मुद्दा दायर

शुक्रबार, ०२ वैशाख २०७९, १७ : ०७
शुक्रबार, ०२ वैशाख २०७९

खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्ने क्रममा गाउँपालिकाकै पदाधिकारी र कर्मचारीबाट मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कैलालीको मोहन्याल गाउँपालिकाका पूर्व अध्यक्ष नवलसिंह रावतसहित १४ जना व्यक्ति र एक ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार दायर गरेको रिटमा मोहन्याल गाउँपालिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावतसहित १४ जना पदाधिकारी र कर्मचारीले न्यू बडिमालिका निर्माण सेवा कम्पनीसँग मिलेर चवन्न लाख अठार हजार पाँचसय अठसट्ठी रुपैयाँ सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाएको छ । सरकारी सम्पत्तिको हानी नोक्सानी पुर्याएका कारण उनीहरुबाट उक्त रकम असुल गरी सोही रकम बराबर नै बिगो भराउन माग दावीसमेत दिइएको छ ।
अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्री कर संकलनसम्बन्धी ठेक्कामा सरकारी राजश्व र भ्याटवापत बुझाउनुपर्ने उक्त रकम मिलेमतोमै ठेकेदार कम्पनीलाई मिनाहा गरी हानी नोक्सानी पुर्याएको उल्लेख छ। 

अख्तियारका अनुसार उक्त ठेक्कामा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमै सम्झौता गरी भ्रष्टाचार भएको उल्लेख छ । अनुसन्धानका क्रममा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष तथा हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढामगर, वडानम्बर २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय वडानम्बर १ का वडा अध्यक्ष नविन पुनमगर, वडानम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बोगटी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँ कार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराई समेतको मिलेमतोमा ५४ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको अख्तियारले दाबी गरेको छ ।

ठेकेदारले बुझाउनुपर्ने सरकारी राजश्व र भ्याट वापतको रकम गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको तथा सो मूल्य बराबरको मूल्य अभिवृद्धि कर समेत गरी जम्मा ५४ लाख १८ हजार ५६८ रुपैयाँ नौ पैसा भ्रष्टाचार भएको अख्तियारको दाबी छ । 

मृत्यु भइसकेका गाउँपालिकाका पूर्व अध्यक्ष समेतले सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको देखिएकोले निजहरुको एक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ बमोजिमको हुँदा सोही ऐनको दफा ७ र दफा १७ मुताविक उनीहरुको हकमा बिगो बराबर ५४ लाख १८ हजार ५६८ रुपैयाँ नौ पैसा मागदाबी गरिएको छ । साथै उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्मको कैद सजाय पनि मागदाबी लिइएको छ । उनीहरुबाट हानी नोक्सानी भएको राजस्व रकमको दोब्बर जरिवाना गरी उनीहरुबाटै भराउन पनि मागदाबी लिइएको छ । 

त्यस्तै ठेकेदार कम्पनी न्यू बडिमालिका निर्माण सेवा र उक्त संस्थाका प्रोप्राइटर मकर बहादुर शाह समेतले पहिलो किस्ता बापतको कबोल अङ्क रकम शर्त बमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको, प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँ कार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको रकम, सो बापत लाग्ने भ्याट रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टी बापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मूल्य अभिवृद्बि कर आदि नबुझाएको भन्दै सबै हिसाब जोडी कुल ५६ लाख ३४८ रुपैयाँ ६१ पैसा भ्रष्टाचार गरेकाले असुल गर्न भनिएको छ । 

मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष नवलसिंह रावलको मृत्यु भइसकेकाले उनको हकमा कैद सजाय नहुने तर भ्रष्टाचार गरी कमाएको रकम अंशियारबाटै जफत गर्न सकिने कानुनी व्यवस्था रहेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ उपदफा (२) र दफा १५८ उपदफा (२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले निजको हक खाने अंशियारबाट बिगो बराबर ५४ लाख १८ हजार ५६८ रुपैयाँ ९ पैसा असुलउपर मागदाबी लिइएको छ । 

त्यसैगरी मोहन्याल गाउँपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले पहिलो किस्ता वापतको कबोल अंक रकम, ठेकेदारबाट शर्त बमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको र दोस्रो र तेस्रो किस्ता बापतको कार्यसम्पादन जमानत बापत राखिएको रकम फुकुवा गरी गाउँ कार्यपालिकाबाट निर्णय भई मिनाहा गरिएको रकम, सो बापतको मुल्य अभिबृद्धि कर रकम र गाउँपालिकामा पहिलो किस्ता बापतको रकम नलिई सम्झौता गरेको आदि कारणबाट उनीमाथि ५६ लाख ३४८ रुपैयाँ ६१ पैसा असुलउपर गरी कारवाही गर्न मागदाबी लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप