शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा उपमहानगर प्रमुखमा काँग्रेसमै आधा दर्जन आकांक्षी

उम्मेदवारीका लागि दौडधुप र प्रचारप्रसार सुरु
शुक्रबार, ०२ वैशाख २०७९, १५ : ०४
शुक्रबार, ०२ वैशाख २०७९

स्थानीय तहको आसन्न निर्वाचनका लागि जीतपुरसिमरा उपमहानगर प्रमुखका लागि नेपाली काँग्रेसभित्रै करिव आधा दर्जन आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु गरेका हुन् । नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार कृष्णब्रत सिंह, उपप्रमुखकी उम्मेदवार निरु रायमाझी, निवर्तमान नगरसभापति श्यामबाबु गुप्ता र प्रदेशसभा सदस्यमा बारा क्षेत्र नं ४ (क) का उम्मेदवार ओमकृष्ण कार्कीले पनि नगरप्रमुखमा दाबी गरेका छन् । उनीहरुले वडादेखि केन्द्रसम्म दौडधुप सुरु गरेका छन् ।

काँग्रेसले २०७४ को निर्वाचनमा जीतपुरसिमरा उपमहानगरको प्रमुख पदमा दोस्रो मत पाएको थियो । १६ जना उम्मेदवारमध्ये काँग्रेसका कृष्णब्रत सिंहले ११ हजार ९९५ मत ल्याएका थिए । सो पालिका प्रमुखमा नेकपा एमालेबाट विजयी कृष्ण पौडेलले १४ हजार ८६५ मत  र  माओवादी केन्द्रका राजन पौडेलले ११ हजार २५१ मत प्राप्त गरेका थिए ।

बिगतको निर्वाचनमा प्रमुख  र उपप्रमुख दुवै पदमा दोस्रो स्थान पाएको आधारमा जीतपुरसिमरामा सत्तारुढ गठबन्धनबाट काँग्रेसले नगरप्रमुख लिने र माओवादी केन्द्रलाई उपप्रमुख दिएर अगाडि बढ्ने काँग्रेसका स्थानीय नेताहरु बताउँछन् । नगरप्रमुखमा काँग्रेसका आकांक्षीहरुले सोही अनुसार प्रचारप्रसारसमेत थालेका हुन् । तर २०७४ को निर्वाचन अनुसार वडागत संरचनामा २४ वटा वडामध्ये सबैभन्दा धेरै १० वटा वडामा माओवादी केन्द्र, ५ वटा वडामा नेपाली काँग्रेस, ७ वटा वडामा नेकपा एमाले र २ वटा वडामा तत्कालीन राजपा नेपालले जितेको थियो ।

यसपटक उपमहानगर महिलाले नै चलाउनुपर्छ : निरु रायमाझी

नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा समाजसेवी निरु रायमाझीले यसपटक उपमहानगरको नेतृत्वमा महिला नै आउने दाबी गरेकी छन् । अघिल्लो निर्वाचनमा उपप्रमुखको उम्मेदवार रहेकी रायमाझीले पुरुष नेतृत्वमा रहेको पालिकामा अब महिलाको नेतृत्व हुने बताइन् । उनले जीतपुरसिमराको प्रमुख पदका लागि गठबन्धनबाटै आफ्नो टिकट निश्चित भइसकेकाले वडा वडामा चुनाव प्रचारप्रसारमा लागेको  बताएकी छन् ।

‘महिलाहरुलाई ३३ प्रतिशतको कुरा छ, सिङ्गो मधेस प्रदेशमा प्रमुख पदमा उठ्छु भन्ने के छ त ? मैले त एउटा हिम्मत राखेको छु, म जित्छु भनेर,’ रायमाझीले भनिन् ‘विगतको निर्वाचनमा मलाई आएको मतले ऊर्जा बढेको छ, मलाई टिकट दिनैपर्छ भन्ने लाग्छ ।’

एमाले नेतृत्वको उपमहानगरमा भ्रष्टाचार बढेको र पार्टी पनि टुक्रा टुक्रा भएकाले निर्वाचन पश्चात् जीतपुरसिमरामा एमालेको अस्तित्व समाप्त हुने रायमाझी बताउँछिन् । देशभरका ७ सय ५३ पालिकामध्ये जीतपुरसिमरा कार्यसम्पादन मूल्याङ्कनमा अन्तिमबाट दोस्रो (७ सय ५१ औं) स्थानमा छ भने मधेस प्रदेशका ८ जिल्लामा अख्तियारमा सबैभन्दा धेरै उजुरी पर्नेमा बाराको जीतपुरसिमरा पहिलो स्थानमा छ ।

पार्टीले युवालाई अवसर दिनुपर्छ  ः गुप्ता

जीतपुरसिमरा उपमहानगर प्रमुख पदका अर्का दाबेदार श्यामबाबु गुप्ताले यसपटक पार्टीले युवालाई अवसर दिनुपर्ने बताए । ‘सधैँ एउटै व्यक्ति उठ्ने हो भने हामी कार्यकर्ताचाहिँ झोलामात्रै बोकिरहने ? पुराना नेताहरुले प्रदेशसभा, प्रतिनिधिसभामा दाबी गरेर उपमहानगरमा हामीलाई अवसर दिनुपर्छ,’ पार्टीका निवर्तमान नगरसभापति समेत रहेका गुप्ताले पार्टी संगठनको कमजोरीका कारण काँग्रेसभित्र  युवाहरु सधैँ निराश हुनुपर्ने अवस्था आएको बताए ।

‘कृष्णब्रत काका २० वर्षअघि गाविस अध्यक्ष हुनुभयो, गत निर्वाचनमा प्रमुखमा लड्नु भयो र हार्नुभयो । अब फेरि उहाँले नै दाबी गर्नुभयो भने हामीचाहिँ सधैँ झोलामात्रै बोक्ने हो र ?’, स्थानीय तहको अघिल्लो निर्वाचनमा काँग्रेसबाट उम्मेदवारी दिएका कृष्णब्रतले फेरि उम्मेदवारीको आकांक्षा राखेकोमा कटाक्ष गर्दै उनले भने ।

उनले सत्तारुढ गठबन्धनबीच तालमेल हुने भएमा कलैया र जीतपुरसिमरामा प्रमुख पद काँग्रेसले लिएर उपप्रमुख माओवादीले दिँदा उपयुक्त हुने सुझाव दिएका छन् ।

म पनि प्रमुखको दाबेदार हुँ : कार्की

प्रदेशसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं ४ (क) बाट नेपाली काँग्रेसका उम्मेदवार ओमकृष्ण कार्कीले पनि यसपटक उपमहानगर  प्रमुखको दाबी गरेका छन् । ‘जीतपुरसिमरामा गठबन्धन नगर्दा पनि काँग्रेसले एक्लै चुनाव जित्ने भएकाले पार्टीले विश्वास गरेर पत्यायो भने उम्मेदवार बन्न तयार छु,’ कार्कीले भने ‘सबै आंकाक्षी बन्न त पाइयो तर पार्टीले पनि वस्तुस्थिति मूल्याकंन गरेर कसलाई टिकट दिँदा चुनाव जितिन्छ, त्यो हेर्नुुप¥यो ।’

प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले (हाल नेकपा एकीकृत समाजवादी)का सुन्दर विश्वकर्मासँग पराजित भएका कार्कीले २४ वटा वडाका पार्टी कार्यकर्ताको अपेक्षाका कारण आफू उपमहानगर प्रमुख पदमा उम्मेदवारीका लागि दाबेदार भएको जनाए ।

उपमहानगर प्रमुखमा पुनः सिंहको दाबी

यसअघिको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरको प्रमुखमा दोस्रो मत ल्याएका कृष्णब्रत सिंहले पुनः नगरप्रमुखमा दाबी गरेका छन् । २ दशक अघि गाविस अध्यक्ष, गत निर्वाचनमा प्रमुखको उम्मेदवार भइसकेका र लामो समय नेपाली काँग्रेसको राजनीति गरेका सिंहले यसपटक पार्टीले टिकट दिए चुनाव जित्ने दाबी गरेका छन् । तर, पार्टीभित्रकै अन्य आकांक्षीले भने नयाँलाई अवसर दिन माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप