विदेश

बंगलादेश : दक्षिण एशियामा ‘आर्थिक क्रान्ति’ ल्याउनुको भित्री कथा

person explore access_timeबैशाख २, २०७९ chat_bubble_outline0

 नेपालको अर्थ–राजनीतिक बहसमा अहिले ‘श्रीलंकाजस्तो हुने’ भनाई धेरै दोहोरिई रहेको छ । अर्थतन्त्रको महत्वपूर्ण सूचक ‘विदेशी मुद्राको सञ्चिती’मा घट्दै गइरहेको स्थितिमा मुलुक कतै श्रीलंकाजस्तो हुने त होइन भन्ने चिन्ता नीतिनिर्मातादेखि आम नागरिकसम्ममा छाएको छ  । सामाजिक संजालमा ‘श्रीलंका जस्तो हुनबाट’ जोगिन आमउपभोक्ताले अपनाउनुपर्ने सतर्कताबारे ‘टिप्स’ शेयर हुन थालेका छन् ।


केही वर्ष अघिसम्म ‘श्रीलंकाजस्तो हुने’ भनाईले अहिलेजस्तो नकारात्मक अर्थ बोक्दैनथ्यो । सन् १९६५ अगष्ट ९ मा मलेशियाबाट छुट्टिएर स्वतन्त्र भएपछि विपन्न अवस्थामा रहेको सिंगापुरले आर्थिक मोडलको लागि श्रीलंकालाई पनि ध्यान दिएको बताइन्छ । दुवै हिन्द महासागरको व्यापारिक रुटमा रहेको बहुनश्लीय मुलुक भएकाले एक अर्काबाट सिक्न सकिने सिंगापुरका संस्थापक नेता ली क्वान युुको विचार थियो ।



हुन पनि केही वर्ष अघिसम्म श्रीलंकाको आर्थिक तथा सामाजिक सूचक अरु दक्षिण एशियाली मुलुकका लागि ईश्र्यालाग्दो थियो । श्रीलंकाको साक्षरता प्रतिशत, समुन्द्री व्यापार, पूर्वाधार, स्वास्थ्य स्थिति दक्षिण एशियाली मुलुकभन्दा अगाडि थियो । अहिले पनि यी क्षेत्रमा उसका पूर्वाधार यथावत कायम नै छन् । तर विदेशी मुद्राको सञ्चिति कम हुँदा उसले आफूलाई आवश्यक सामान निर्यात गर्न कठिनाई भोगिरहेको छ  ।



सानो र स्रोतविहीन टापु मुलुक श्रीलंकाले आफूले उपयोग गर्ने धेरै वस्तु आयात गर्नुपर्छ  । उसको निर्यात वस्तु भने थोरै छन्  । श्रीलंकाको कुल निर्यातको झण्डै ७० प्रतिशत लत्ताकपडा तथा चियापत्ती मात्रै छ  । जसमध्ये चियापत्ती निर्यात हतारमा अर्ग्यानिक बनाउने निर्णयले प्रभावित भएको छ । निर्यातजन्य सामग्रीको सूची सानो छ भने उसले औषधी, इन्धन, खाद्यान्नदेखि विद्यार्थीको परीक्षा कापीसमेत आयात गर्ने रहेछ ।

अन्तरराष्ट्रिय आयातमा विदेशी मुद्रा त्यसमा पनि विशेष डलर प्रयोग गरिन्छ । यसले गर्दा देश ढुकुटीमा सन्चित रहेको डलरको निक्कै ठूलो  महत्व हुन्छ । श्रीलंकाको डलर भण्डार केही वर्षमै उलेख्य घटेकाले उसको आयात प्रभावित भएको छ भने केही वर्ष अघि उदाहरणीय अर्थतन्त्र मानिने यो मुलुक पाठ सिकेर बच्नुपर्ने अर्थतन्त्रमा बदलिएको छ ।

‘बास्केट केस’: बंगलादेश

केही वर्षभित्र श्रीलंकाको प्रतिष्ठामा धक्का लाग्दा अर्को दक्षिण एशियाली मुलुक बंगलादेश भने आर्थिक रुप अनुकरणीय मुलुकका रुपमा उदाएको छ । बंगलादेश तुलनात्मक रुपमा नयाँ मुलुक हो । यसले गत वर्ष डिसेम्बर १६ मा स्थापनाको ५० औं वार्षिकोत्सव मनायो । पाँच दशक अघि बंगलादेश जन्मिदा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर र उनका सह–विदेश मन्त्री उरल एलेक्सिस जोनसनले बङ्लादेशलाई ‘बास्केट केस’ को उपमा दिएका थिए । देशलाई बास्केट केस भनिदा त्यसले माग्ने मुलुक वा असफल मुलुक भन्ने जनाउँछ  ।

किसिन्जरको भनाईमा अमेरिकी आक्रोश पनि अभिव्यक्त भएको थियो । तत्कालीन शीतयुद्धकालीन विश्वमा पाकिस्तानबाट छुुट्टिन भएको बंगाली संघर्षमा अमेरिकाले पाकिस्तानलाई सघाएको थियो  । उता बंगाली मुक्ति संघर्षलाई सोभियत संघको समर्थन थियो । सोभियत संघको मित्रशक्ति भारतले तत्कालीन पूर्वी पाकिस्तान भनिने हालको बंगलादेशभित्र रहेको पाकिस्तानी सेनाविरुद्ध लड्न सेना नै पठाएको थियो  । 

आक्रोशमा भनिए पनि किसिन्जरको अभिव्यक्तिलाई तत्कालीन तथ्याङ्कहरुले पनि समर्थन गर्छ । विश्व बैंकको तथ्याङ्क अनुसार सन् १९७१ मा पाकिस्तानबाट अलग भएर स्वतन्त्र मुलुकको रुपमा गठित हुँदा बंगलादेश विश्वको दोस्रो गरिब मुलुक थियो । देशका ८० प्रतिशत मानिस गरिबीको रेखामुनी थिए । स्वतन्त्रताको सयममा साक्षरता दर पनि निक्कै न्यून थियो । यो मुलुक आजको स्थितिमा आइपुुग्ने कमैले कल्पना गरेका थिए ।

५० वर्षमा उल्लेख्य प्रगति

बंगलादेश भौगोलिक रुपमा पनि त्यति राम्रो स्थानमा छैन । यो भेगमा उच्च बाढी र उच्च सुख्खाको चक्र चल्ने गर्छ । कुनै सिजनमा बाढीले देशको ८० प्रतिशत जमिनसम्म जलमग्न बनाउँछ भने ठूूलो भेगलाई खडेरीले प्रभावित बनाउँछ । बंगालको खाडीसँग जोडिएको बंगलादेशमा बारम्बार आउने ठूल्ठूला समुन्द्री आँधीले ठूलो धनजनको क्षति पुर्याउँछ ।

तर कमजोर सुरुवात र विषम परिस्थितिका बावजुद गत ५० वर्षमा बंगलादेशले उल्लेख्य प्रगति गरेको छ । अझ कोभिड महामारी अघिको एक दशकमा बंगलादेशको आर्थिक वृद्धि दर भारत र पाकिस्तानको उच्च थियो । केही वर्षमा उसको आर्थिक वृद्धि दर चीनको भन्दा बढी थियो ।  यही उच्च आर्थिक वृद्धिको बलमा बङ्लादेशले सन् २०१५ मा न्यून मध्यम आय मुलुकको हैसियत हासिल गरेको छ । उसले सन् २०१८ मा ‘अति कम विकसित मुलुुक’ को ट्याग फाल्न सक्ने मापदण्ड पुरा गर्यो । मापदण्ड पुरा गरेको भए पनि सन् २०२६ मा मात्र संयुक्त राष्ट्रले संघले उसलाई अति कम विकसित मुलुकहरुको समूहबाट निकाल्दैछ ।

बंगलादेश सरकारले सन् २०४१ सम्म आफू विकसित मुलुक बन्ने लक्ष्य लिएको छ । बंगलादेशी सरकारको आत्मविश्वासी अभिव्यक्ति अहिलेको बलियो आर्थिक प्रगतिकै जगमा उभिएको छ । बंगलादेशले यो सफलता कसरी हासिल गर्यो ? बंगलादेशको सफलताको कथामा सिंगापुरका ली क्वान यु वा मलेशियाका महाथिर महोम्मदजस्ता एक व्यक्ति नायक छैनन् । आजको बंगलादेश मानव जनशक्ति र महिला शिक्षामा निरन्तरको लगानीको प्रतिफल हो भन्दा पनि हुन्छ । त्यसमा लघुवित्त कार्यक्रम, तिनमा महिलाको सहभागिता, ठूलो गार्मेन्ट उद्योग र रेमिट्यान्सको थप योगदान छ ।

शिक्षा, उद्यमशिलता, महिला सशक्तिकरण र गार्मेन्ट निर्यातको परिणाम स्वरुप बंगलादेशको गरिबी न्यूनीकरणमा उल्लेख्य सफलता हासिल गर्यो  । सन् १९९१ मा जनसंख्याको ४३.५ प्रतिशत गरिबीको रेखामुनि रहेकोमा सन् २०१६ मा यो १४.२ प्रतिशत पुगेको थियो । प्राथमिक कक्षाहरुमा भर्ना दर झण्डै सतप्रतिशत बनेको छ । मातृ तथा बाल स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ । त्यस्तै महिला शिक्षामा गरेको लगानीले बालबालिकाको स्वास्थ्य तथा शिक्षामा उलेख्य योगदान पुुर्यायो । यी सुधारको कारण सन् १९७१ मा बंगलादेशीको औसत आयु ४६.५ वर्ष रहेकोमा सन् २०१८ मा ७२ भएको थियो ।

ग्रामीण बैंकको टेवा

गरिबी निवारण र महिला सशक्तिकरणमा बंगलादेशमा सुरु भएको ग्रामीण बैंकले पनि योगदान गर्यो । यस योगदानका लागि ग्रामीण बैंकको अवधारणा सुरु गर्ने मोहम्मद युनुसले सन् २००६ मा नोबेल पुरस्कार नै पाए । युनुसले ग्रामीण बैंकमार्फत परम्परागत बैंकले ऋणका लागि योग्य नठान्ने विपन्न उद्यमीलाई ऋण दिने अवधारणा ल्याएको थियो । यसले धेरैलाई व्यवसाय खोल्न सक्षम बनायो । साना उद्यम पनि बंगलादेशको अर्थतन्त्रको जग बनेको छ ।

अन्य मुसलमान बहुल मुलुक महिला र बालिकामाथि धार्मिक रुपमा सकुचित बनाइरहँदा बंगलादेशले तिनको शिक्षा र सीप वृद्धिमा निरन्तर लगानी गरिरह्यो । यसमा बंगलादेशले स्थापनाकालदेखि नै अंगीकार गरेको धर्मनिरपेक्षतावादी नीतिको केही न केही योगदान हुन सक्ने विश्लेषकहरुको अनुमान छ ।

आईएमएफ अनुसार सन् २०२१ मा बंगलादेशको कुल ग्राहस्थ उत्पादन ३५५ अर्ब डलर रहेको छ, जुन हिजो उ छुट्टिएको मातृदेश पाकिस्तानभन्दा बढी हो । केही वर्षभित्रै बंगलादेशको अर्थतन्त्र मलेशिया र सिंगापुरको भन्दा ठूलो हुने अनुमान छ । अर्थतन्त्रको विस्तारसँगै कृषिबहुल बंगलादेशको अर्थतन्त्र अहिले बदलिएको छ । अर्थतन्त्रमा उद्योग र सेवा क्षेत्रको योगदान बढिरहेको छ भने कृषि क्षेत्रको योगदान घट्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२१ मा कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान १३ प्रतिशत मात्र थियो । अर्थशास्त्रीहरुका अनुसार कुुल ग्राहस्थ उत्पादनमा कृषिको हिस्सा घट्नु अर्थतन्त्र सबल हुँदै गएको लक्षण हो ।

गार्मेन्ट उद्योगको योगदान

बंगलादेशमा ठूलो संख्यामा महिलाहरु गार्मेन्ट उद्योग र हस्तकला व्यवसायमा संलग्न छन् । पुरुषहरु स्थानीय मझौला आकार घरेलु उद्योगमा संलग्न देखिन्छन् । जनसंख्याको उल्लेख्य हिस्सा खाडी मुलुक, मलेशिया र सिंगापुरमा वैदेशिक रोजगारमा छन् ।

पछिल्लो दशकमा बंगलादेशको सफलताको कथासँग गार्मेन्ट उद्योग र तिनको उत्पादनको निर्यात अभिन्न रुपमा जोडिएको छ । बंगलादेशमा बन्ने पहिरन युरोपदेखि अमेरिकासम्म पुुग्छन् । बंगलादेशको गार्मेन्ट उद्योग चीनपछि विश्वकै दोस्रो ठूलो हो र उसले वर्षेनी ३५ अर्ब डलरको पहिरन निर्यात गर्छ । यो क्षेत्रले ४० लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको छ, जसमध्ये बहुसंख्यक महिला छन् । बंगलादेशको आर्थिक वृद्धिमा गार्मेन्ट निर्यातको ठूलो योगदान छ । उसले गर्ने कुल निर्यातमध्ये ८४ प्रतिशत गार्मेन्ट मात्र थियो ।

गार्मेन्ट उद्योगपछि रेमिट्यान्सले पनि बंगलादेशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ । विदेशमा काम गर्ने नागरिकले सन् २०२१ मा झण्डै २४.७ अर्ब डलर आफ्नो घरपरिवार पठाए । यसले एकातर्फ घरपरिवारको जीवनस्तर बढाउन सघाइरहेको छ भने देशको मुद्रासञ्चिती कामय राख्न सघाइरहेको छ । रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा बंगलादेश विश्वमै शीर्ष १० स्थानमा छ ।

बंगलादेशी अर्थतन्त्रका दुइ मुुख्य चालक निर्यात र रेमिट्यान्स वृद्धि आफैमा असाधारण रहेको छ । सन् १९९२ मा बंगलादेशले जम्मा २ अर्ब डलरको सामान निर्यात गरेको थियो भने सन् २०१९ मा यो बढेर ४० अर्ब डलर पुगेको थियो  । अर्थात् ३७ वर्षको अवधिमा असाधारण २० गुणाको वृद्धि । त्यस्तै सन् १९९१ मा विदेशमा गएका बंगलादेशीहरुले ७६.४ करोड डलर रकम घर पठाएका थिए, जुन बढेर सन् २०२१ मा २४.७ अर्ब डलर भएको छ ।

माथि उल्लेख भएझंै यी दुइ आर्थिक मुुख्य चालककै वृद्धिमा पनि बंगलादेशले गरेको सामाजिक सुधारले निर्देशित गर्यो । विशेषतः बंगलादेशले महिला सशक्तिकरणमा गरेको कामले त्यहाँको गार्मेन्ट उद्योगको विस्तारमा महत्वपूर्ण सहयोग पुुर्याएको तथ्याङ्कले नै देखाउँछ ।

र, अँध्यारो पाटो

तर बंगलादेशको आर्थिक वृद्धिका केही अँध्यारो पाटो पनि छन् । बंगलादेशको आर्थिक वृद्धिले त्यहाँको कमजोर प्रजातान्त्रिक स्थितिमाथि पर्दा हालिदिएको छ । सन् २००८ मा जुन वर्षबाट बंगलादेशको आर्थिक वृद्धिमा उलेख्य वृद्धि हुन थाल्यो, सोही वर्षदेखि त्यहाँको सत्ता निरन्तर आवामी लिगले चलाइरहेको छ । यो अवधिमा लिगकी नेतृ शेख हसिना यस अवधिमा बंगलादेशको प्रधानमन्त्री छिन् । निजी क्षेत्र र विकासप्रति सहयोगी भए पनि उनी फरक आवाज र विपक्षीप्रति भने असहिष्णु देखिन्छिन् । 

सन् २०१४ मा विपक्षीहरुले चुनावी सरकारबिना निर्वाचनमा भाग नलिने मागलाई बेवास्ता गर्दै अघि बढिन् । अधिकांश विपक्षी दल नभएको संसद बन्यो । उनको नेतृत्वमा भएको सन् २०१८ को निर्वाचनमा उनको पार्टीले संसदको ३ सय सिटमध्ये २५९ मा जित हासिल गर्यो । त्यसबेला हसिनाले सत्ताको बलमा ठूलो धाँधली गरेको आरोप लागेको थियो । हसिनामाथि फरक विचार राख्नेहरुलाई बल प्रयोग गर्ने गरेको र केहीलाई बेपत्ता पार्ने गरेको आरोप छ ।

सामाजिक सुधारको क्षेत्रमा तथ्याङ्कमा असाधारण देखिएको सुधार व्यवहारमा भने कमजोर देखिन्छ । जस्तो विद्यालय भर्ना दर उल्लेख्य बढे पनि शिक्षाको गुणस्तर अझै कमजोर नै छ । त्यसले उच्च आययुक्त मुलुक बन्न आवश्यक सीपमुलक श्रमशक्ति निर्माणमा अवरोध पुर्याइरहेको छ । त्यस्तै देशको उच्च आर्थिक वृद्धिबाट सबै समान रुपमा लाभान्वित भएका छैनन् । विज्ञले बंगलादेशमा आय तथा सम्पत्ति असमानता बढेको बताएका छन् । क्षेत्रीय असमानता पनि त्यतिकै बलियो छ । देशको अधिकांश आर्थिक क्रियाकलाप राजधानी ढाका र चितागोङ क्षेत्रमा केन्द्रीत छन् । जसले गाउँ र सहरबीचको विभाजन बढाउँदै लगेको छ ।

बंगलादेश सरकारले यी समस्या सम्बोधन गर्नक केही योजना अघि बढाएको छ । अहिलेको उच्च आर्थिक वृद्धिमा टेकेर उसले थप आर्थिक वृद्धि र रोजगारी सिर्जनामा जोड दिएको छ । यसका लागि उसले उर्जा, सडक सन्जाल, सहरी परियोजना अघि बढाएको छ । ढाकाको टाउको दुखाईको विषय रहेको ट्राफिक समस्या सम्बोधन गर्न उसले मेट्रो निर्माण गरेको छ, जुन अन्तिम चरणमा छ । त्यस्तै बंगलादेश सरकारले प्राकृतिक विपत्ति विरुद्धको तयारीका लागि उल्लेख्य लगानी गर्ने गरेको छ । यही लगानीको प्रतिफल स्वरुप बंगलादेशले सन् १९७० यता समुन्द्र आँधीबाट हुने हताहतीमा सयौं गुणाले कमी ल्याएको छ ।

पछिल्लो कोरोना महामारीबाट उच्च प्रभावित हुने मुलुकमा बंगलादेश पनि एक थियो । स्ट्याण्डर्ड चाटर्ड बैंकका अनुसार उसको बलियो उत्पादन, सुधारोन्मुुख निर्यात तथा रेमिट्यान्स बहावका कारण उसको अर्थतन्त्र अरु मुलुकको तुलनामा शीघ्र सुधार हुनेछ  ।

एजेन्सी

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।