टाइफाइडविरुद्धको खोप पहिल्यै लगाइसकेका बालबालिकाले फेरि खोप लगाउने कि नलगाउने ?
नेपालमा बालबालिकाका लागि पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भइरहँदा केही अभिभावक आफ्ना बालबालिकालाई खोप लगाइदिने कि नलगाइदिने भन्ने दोधारमा छन् । किनभने नेपालमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन नहुँदै निजी स्वास्थ्य संस्थाबाट टाइफाइडविरुद्धको खोप लगाउँदै आएका अभिभावक अन्योलमा परेका हुन् ।
सरकारले पहिलो पटक नियमित खोपको रुपमा टाइफाइडविरुद्धको खोप निःशुल्क दिँदै आएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले यसभन्दा अघि टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकाले पनि यो खोप लगाउन मिल्ने बताए ।
नेपालमा यसअघि लगाइएका टाइफाइडविरुद्धको खोपभन्दा अहिलेको खोप बढी सुरक्षित र प्रभावकारी भएको निर्देशक लालले बताए । ‘पहिला लगाइएका टाइफाइडको खोप दोहो¥याएर लगाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले बालबालिकालाई दिइने खोप एक मात्रा लगाए हुन्छ । पहिला लगाएको खोपको तुलनामा अहिलेको खोपको प्रभावकारिता पनि धेरै छ ।’
यसभन्दा अघि टाइफाइड विरुद्धको खोप लगाएकाहरुले पनि खोप लगाउँदा कुनै असर नगर्ने, बरु खोपको प्रभावकारिता बढ्ने उनको भनाइ छ । नेपालमा पहिलो पटक नियमित खोपको रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेदेखि यो खोप दिन सुरु गरिएको हो । यो खोप अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुने परिवार कल्याण महाशाखाले जनाएको छ । नेपालले दक्षिण एसियामै पहिलो पटक बालबालिकालाई यस्तो खोप लगाइदिन लागेको हो ।
हाल देशभर बालबालिकालाई कन्ज्युगेट भ्याक्सिन दिन थालिएको हो । यो खोप सम्पूर्ण ट्रायल पास भई विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेकोे परिवार कल्याण महाशाखा अन्तर्गत बालरोग तथा खोप शाखाका प्रमुख सागर दाहालले बताए । कन्ज्युगेट खोप ६ महिनादेखि ४५ वर्षसम्म उमेर समूहलाई दिन सकिने उनले बताए । यो खोपको प्रभावकारिता ८५ प्रतिशत छ । यो खोप एक मात्रा मात्रै दिइन्छ ।
कुन खोप प्रभावकारी ?
नेपालमा यसभन्दा अघि निजी स्वास्थ्य संस्थाहरुले लगाउँदै आएको टाइफाइडविरुद्धको खोपको प्रभावकारिता ५०/५५ प्रतिशतमात्रै रहेको अध्ययनहरुले देखाएको छ । विश्वमा टाइफाइडविरुद्धको खोप तीन प्रकारका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्नुपूर्व अनकन्ज्युगेट भ्याक्सिन दुई वर्षभन्दा माथिका उमेर समूहले निजी स्वास्थ्य संस्थामार्फत लगाउने गरेका थिए । अनकन्ज्युगेट खोप पनि एक मात्रामात्रै दिइन्छ । यस खोपको प्रभावकारिता ५५ प्रतिशतमात्रै रहेको अध्ययनहरुले देखाएको छ ।
यस्तै, टाइफाइडविरुद्धकै अर्को खोप लाइभ एटीनोइएटिड हो । यो खोप चार पटकसम्म लगाउनु पर्छ । यो खोप दुई वर्षका बालबालिकालाई मात्रै दिइन्छ । अध्ययनहरुले यसको प्रभावकारिता ५० प्रतिशतमात्रै हुने देखाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका विभिन्न राष्ट्रलाई कन्ज्युगेट खोप लगाउन आग्रह गर्दै आइरहेको छ । खोप शाखाका प्रमुख दाहालले नेपालमा ७५ लाख बालबालिकालाई यो खोप दिइने बताए ।
खोप अभियानमा कुनै बाधा छैन
टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकाको स्वास्थ्यमा कुनै खालको समस्या नदेखिएको परिवार कल्याण महाशाखाका निर्देशक लालले बताए । यो खोप लगाएपछि बालबालिकामा सामान्य असर देखिएको बताए ।
उनले भने, ‘सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने, हल्का दुख्ने, सामान्य ज्वरो आउने, हातगोडा दुख्नेजस्ता सामान्य असर देखिएको छ, यी असर आफै ठिक हुने खालका हुन् ।’ उनका असर खोप लगाइसकेपछि देखिने यस्ता असर अन्य खोप लगाउँदा पनि देखिन्छ । खोप अभियान देशव्यापी रुपमा प्रभावकारी ढंगले सञ्चालन भइरहेको उनले जानकारी दिए ।
स्थानीय तहको खोप केन्द्रबाट दैनिक जिल्ला तहमा खोप लगाउनेहरुको तथ्याङ्क आए पनि केन्द्र तहमा त्यस्तो तथ्याङ्क आउन केही दिन लाग्ने उनले बताए । खोप अभियान कस्तो चलिरहेको छ भनेर हेर्न अर्थात् मोनिटरिङ गर्नका लागि देशभर ६ हजार जना विभिन्न समूहमा खटिएका छन् । टाइफाइडविरुद्धको खोप अभियान मोनिटरिङ आवद्ध हुने भिन्नभिन्न समूहले अभियानबारे सकारात्मक रिपोर्टिङ गर्दै आएको महाशाखाका निर्देशक डा लालले बताए । नेपालभर खोप अभियानमा १० हजार जनालाई खटाइएको छ ।
महाशाखाका अनुसार नेपालमा ४ लाख ५० जनामा टाइफाइड सङ्क्रमण पुष्टि भएको छ । ग्लोबल बोर्डन डिजिज् एनालाइसिस २०१९ अनुसार ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको र तीमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समूहका बालबालिका रहेको अनुमान छ ।