बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा जसपा र लोसपा आ-आफ्नै दाउ

एकले अर्कोलाई धकेल्ने प्रयास
शुक्रबार, ०२ वैशाख २०७९, १८ : १५
शुक्रबार, ०२ वैशाख २०७९

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दल आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशमा जसपा नेपाल र लोसपा नेपालले पनि पालिका तहमा आफ्नो प्रभाव देखाउन जोडबल गरिरहेका छन् । विगतमा एउटै दलमा रहेर हाल अलगअलग अस्तित्वमा रहेका यी दुवै दलबीच प्रभाव बढाउने होड पनि चलेको छ । यस क्रममा एक अर्काको कार्यकर्ता तान्ने र मतदाता आकर्षित गर्ने अभियानमा दुवै दल सक्रिय देखिएका छन् ।

तत्कालीन संघीय समाजवादी पार्टीको लिगेसी हाल जसपा नेपालमा छ भने तत्कालीन राजपा नेपालको लिगेसी लोसपा नेपालमा छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा तत्कालीन राजपा नेपाल सहभागी भएको थिएन ।

लुम्बिनी प्रदेशका ८ स्थानीय तहमा जसपा नेपाल (तत्कालीन संघीय समाजवादी) पार्टीले जितेको थियो । तर अहिले केही स्थानीय तहका प्रमुखहरु लोसपातिर लागेका छन् ।

प्रदेशका ४ जिल्लामा लोसपा र जसपाको संगठन बलियो छ । तराईका यी जिल्लामा पार्टी विभाजनको असर कस्तो पर्ला र आसन्न स्थानीय तहको निर्वाचनमा जसपा नेपाल र लोसपा नेपालमध्ये को बलियो होला भन्नेबारे चासो बढेको छ ।

दुवै पार्टीको आआफ्नै दाबी

जसपा र लोसपा पार्टी दुवै अहिले स्थानीय तह केन्द्रित अभियानमा छन् । लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके जिल्लामा यिनको प्रभाव देखिन्छ । जसपा विभाजन भएर एउटा समूहले लोसपा नेपाल गठन गरेपछि लुम्बिनीका यी जिल्लामा पनि प्रभाव परेको छ ।

रुपन्देहीको मर्चवारी गाँउपालिका अध्यक्ष र उपाध्यक्ष जसपा नेपाल छाडेर लोसपामा गएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर जसपातिर र उपमेयर लोसपातिर छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा उम्मेदवारी नै नदिएको तत्कालीन राजपा नेपालले हाल सोही लिगेसी बोकेको दल लोसपा नेपालमा जसपाका जनप्रतिनिधि भित्र्याउनु एक हदसम्मको सफलता पनि हो । यद्यपि, ती पालिकामा अब कुन दलको अवस्था के हुने भन्ने चासोकै विषय बनेको छ ।

लोसपा र जसपाका प्रदेशस्तरका नेताहरुका अनुसार रुपन्देहीको मायादेवी, समरीमाई, गौडहवा, कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुवै दलको प्रभाव छ । कपिलवस्तुको जिल्लाको शुद्दोधन र मायादेवी गाउँपालिकामा दुवै दलले आफू जित्ने दाबी गरिरहेका छन् ।

लोसपा र जसपाले बाँके जिल्लाको नरेनापुर गाउँपालिकामा पनि आफ्नो सांगठनिक अवस्था र जनमत राम्रो रहेको दाबी गर्दै आएका छन् । जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले आफ्नो प्रभाव राम्रो रहेको पालिकामा प्रमुख पद जसपाले लिएर गठबन्धनसँग तालमेल गर्ने जानकारी दिए ।

यता लोसपाका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद अस्मालले लुम्बिनीका स्थानीय तहमा अघिल्लो निर्वाचनका क्रममा आफूहरु सहभागी नभए पनि जनाधार राम्रो रहेकाले आसन्न निर्वाचनमा राम्रै नतिजा आउने जनाए । पार्टी विभाजनको असर सामान्य रुपमा परे पनि सत्तारुढ गठबन्धनबीचको तालमेलका कारण जसपाले राजनीतिक रुपमा फाइदा लिन सक्ने उनको भनाइ छ ।

सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यही गठबन्धनमा रहेका कारण जसपा नेपालले आफ्नो जनाधार रहेका पालिकामा प्रमुख पद माग गरेको छ ।

यता लोसपा नेपालका नेता भने नेकपा एमालेलगायतका विपक्षी दलसँग तालमेल हुनसक्ने बताउँछन् । लोसपाका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद अस्लामले विपक्षी दलहरुबीच तालमेलका लागि प्रयास भइरहे पनि ठोस खाका तयार नभएको बताए । उनले अन्य दलको तुलनामा एमालेसँगै लोसपा नेपालको तालमेल हुन सक्ने सम्भावना बढी रहेको पनि जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप