आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हतारोमा नवौं खेलकुद, एसियन गेम्स असर पर्ने खतरा

शुक्रबार, ०२ वैशाख २०७९, ११ : ००
शुक्रबार, ०२ वैशाख २०७९

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृत दिएको छ । 
आगामी २०७९ साल २२–२८ जेठमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना हुनेछ । गत फागुनमा हुने भनिएको नवौं खेलकुद सदस्य–सचिवको विवादका कारण जेठमा सरेको हो । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई एसियन गेम्सको छनोटको रुपमा हेरिएको छ । नेपालले एसियन गेम्समा १५ खेलमा सहभागिता जनाउँदैछ । सोही १५ खेलका लागि नेपालबाट एसियन गेम्समा सहभागिता जनाउने खेलाडीको छिनोफानो नवौं खेलकुदले गर्नेछ । 

नवौं खेलकुद आयोजना हुन मात्र ५१ दिन बाँकी छ । नवौं खेलकुदका लागि जिल्ला तथा प्रदेशको छनोट अझै भएको छैन । त्यसका लागि जिल्लालाई राष्ट्रिय खेलकुद परिषद्ले पत्र पनि पठाएको छ । नवौंका लागि खेलाडी छनोट हुने एकमात्र प्रदेश वाग्मती हो । 

वाग्मती प्रदेशले पनि जम्मा आठ स्पर्धामा मात्र प्रदेश खेलकुदको आयोजना गरेको थियो । त्यसलाई नै नवौं राष्ट्रिय खेलकुदको खेलाडी छनोटको रुपमा लिने हो भने अन्य स्पर्धामा खेलाडी कसरी छनोट गर्ने भन्ने विषय उत्पन्न हुन्छ । यता अन्य प्रदेशले भने खेलाडी छनोटको कुनै सुरसार गरेका छैनन् । आफ्नै प्रदेशमा हुन लागेको खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले पनि कुनै सुरसार गरेको छैन । यसले गर्दा एसियन गेम्समा सहभागिता जनाउने खेलाडीका लागि असर पर्ने युवा तथा खेलकुद युवा तथा मन्त्री महेश्वर गहतराज अथकले बताएका थिए । 

यता राखेप पनि छोटो समयमा खेलकुद प्रतियोगिता गर्दा खेलाडी छनोटको विषय सहज नहुने कुरामा जानकार छ । वैशाखदेखि स्थानीय तहको चुनाव सुरु हुँदैछ । खेलकुदमा लाग्ने आचार संहिताका कारण खेलाडी छनोटमा सहज हुने पक्कै सहज हुनेछैन । 

यता जेठ १६ गतेबाट कक्षा १२ को पनि परीक्षा हुँदैछ । राष्ट्रिय खेलकुदमा खेल्न भनेका नै धेरै मात्रामा ११/१२ कक्षा पढ्ने छात्राहरु हुन् । परीक्षाका कारण उनीहरु खेलाडी छनोटमा सहभागिता जनाउन पाउँदैनन् । त्यसले गर्दा पनि राम्रो खेलाडीको सहभागितामा प्रश्न उठ्छ । 

उसो त युवा तथा खेलकुद मन्त्री गहतराज पनि खेलाडी छनोटमा सहज नहुने कुरामा विश्वस्त छन् । उनले रातोपाटीसँगको कुराकानीमा भनेका थिए, ‘समयमा प्रतियोगिता नहुँदा एसियन गेमको सहभागितालाई पनि असर गर्दैछ । नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु नै एसियन गेम्समा खेल्ने हुन् । १५ खेलमा सहभागिता जनाउने भनेर हामीले पठाइसकेका छौं । जसमा पदक जितेका, पदक नजिक रहेका खेल र केही अन्तर्राष्ट्रिय महत्व भएका खेल प्राथमिकतामा परेका छन् ।’

यता भौतिक पूर्वाधार निर्माणका विषयमा पनि हालसम्म कुनै कार्य भएको छैन । राखेप र खेलकुद मन्त्रालयले पोखरामा अहिले भएको भौतिक पूर्वाधारहरूलाई नै नवौं खेलकुद गर्ने योजना बनाएको छ । 

‘खेलाडी छनोटको जिम्मा प्रदेश खेलकुद परिषद्लाई दिन्छु’
नवौं खेलकुदको खेलाडी छनोटको विषयमा समन्वय समितिको बैठक शनिबार बस्दैछ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रदेशको सदस्य–सचिवहरु र तीनवटा विभागीय टोलीहरूको खेलकुद प्रमुखहरुको छलफल गरेर खेलाडी छनोटको विषय उतै जिम्मा दिने बताए । 

उनले जिल्ला र प्रदेशको छनोटको माहोल मिलाएर खेलाडीहरुलाई सहज हुने तरिकाले नवौं खेलकुद गर्ने बताए । कुनै चाड वर्ष र परीक्षालाई मध्यनजर गर्दा खेलकुद प्रतियोगिता नै गर्न नसकिने उनको भनाइ छ । 

‘खेलाडी छनोटको जिम्मा प्रदेश खेलकुद परिषद्लाई दिनेछु । परीक्षाको विषयलाई भनेर खेलकुद प्रतियोगिता नगर्ने भन्ने पछि छैन । त्यसकै बीचमा सहज माहोल मिलाउँदै खेलकुद प्रतियोगिता गर्ने हाम्रो योजना छ,’ घिसिङले रातोपाटीसँग भने । 

यता एसियन गेम्समा पनि सागमा स्वर्ण जितेका र नवौं खेलकुदमा स्वर्ण जित्ने सम्भावना भएका खेलकुदहरूले प्रथामिकता पाउने छन् । एसियन गेम्समा छनोटका लागि र तयारीका लागि समय भएको राखेपको भनाइ छ ।  तर, अवस्था राखेपले भने जस्तो सहज छैन । जिल्लामा सिमित स्रोत साधनको मकी र खेलाडीहरूको तयारीको कमीले एसियन गेम्सका लागि विभागीय खेलाडीको बर्चस्व हुने पक्का छ । 

यसअघि लुम्बिनी प्रदेशको बाँकेमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य जित्ने विभागीय टोलीका खेलाडीहरूको बर्चस्व नै थियो । एसियन गेम्समा प्रदेशका खेलाडीहरु पनि सहभागी हुने माहोल बनाउन तयारी र खेलाडी छनोटमा लामो समय दिँदा उचित होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप