शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको आधार इलाका रुकुमपश्चिममा गठबन्धन दलबीच हुन सकेन ठोस सहमति

माओवादीले ‘अहंकार’ देखाए एमालेसँग तालमेल गर्ने काँग्रेसको चेतावनी
शुक्रबार, ०२ वैशाख २०७९, १० : ०८
शुक्रबार, ०२ वैशाख २०७९

रुकुमपश्चिम नेकपा माओवादी केन्द्रको आधार इलाकाका रुपमा चिनिन्छ । विकास र परिर्वतनका सन्दर्भका पनि यो जिल्ला आन्तनिर्भरतातर्फ उन्मुख छ ।  माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्लासमेत रहेको रुकुमपश्चिममा माओवादीको विरासत बलियो छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँको सबै स्थानीय तहमा २०७४ को निर्वाचनमा माओवादीले नै जितेको थियो ।

रुकुम पश्चिममा माओवादीको प्रतिस्पर्धी नेपाली काँग्रेस हो । ०७४ मा माओवादीले ५८ वटा वडामा आफ्नो वर्चश्व कायम गर्दा काँग्रेस १३ र एमाले जम्मा दुईवटा वडामा सीमित थियो । यहाँ अन्य दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादीलाई जित्न नसक्ने माओवादी केन्द्रका नेताहरुको दाबी छ । ०७४ मा बाँफीकोट गाउँपालिकामा विप्लव, राप्रपा, काँग्रेस र एमालेले गठबन्धन गर्दा पनि माओवादीलाई पराजित गर्न सकेका थिएनन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर अहिले राजनीतिक दलहरु आ–आफ्नो गृहकार्यमा लागिरहेका छन् । यहाँ सत्ता गठबन्धन दलहरुको बैठक बसेर जिल्लामा कुन दलको जनाधार कस्तो छ भन्ने रिपोर्ट केन्द्रमा पठाउने काम भएको नेताहरु बताउँछन् । तर गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भन्नेमा ठोस निर्णय भने हुन सकिरहेको छैन ।

माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्षसमेत रहेका कर्णाली प्रदेशका पूर्व अर्थमन्त्री गोपाल शर्मा गठबन्धनमा भागवण्डा लगाउँदा माओवदीलाई घाटा हुने बताउँछन् । उनले भने, ‘गठबन्धनका विषयमा ठोस निर्णयचाहिँ भएको छैन । यदि केन्द्रबाटै हामीले जितेको ठाउँमा पनि बाँड्नुपर्ने भन्ने आयो भने त्यही अनुसार हामी छलफल गर्छौं नै ।’

रुकुममा माओवादी र अन्य दलबीच मुसीकोट नगरपालिकामा मात्रै प्रतिस्पर्धा हुने गरेको उनको भनाइ छ ।

यता, नेपाली काँग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीले गठबन्धन बनाएर चुनावमा जाने–नजाने भन्ने कुरा माओवादीमा निर्भर रहने बताए । उनले भने, ‘माओवादीले ०७४ मा जितेको ठाउँमा अहिले नेतृत्व नछाड्ने भन्ने अहंकार देखाए हामी अन्य दलहरुसँग तालमेल गरेर पनि जान सक्छौं ।’

एमालेले पनि काँग्रेससँग तालमेलका लागि प्रस्ताव गरेको र माओवादीले अहंकार देखाए आफूहरु त्यसतर्फ पनि सोच्न बाध्य हुने उनको भनाइ छ ।

ओलीले ०७४ मा मुसीकोट नगरपालिकामा राम्रो जनमत हुँदाहुँदै पनि आफ्नै आन्तरिक कारणले पराजित भएको बताए । अहिले अन्य दुई पालिकामा पनि काँग्रेसको राम्रो जनमत भएकाले काँग्रेसले विगतको भन्दा फराकिलो जनमत ल्याउन सक्ने उनको आकलन छ ।  

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज देवी ओली अहिलेसम्म गठबन्धन दलबीच कुनै छलफल नभएको बताउँछिन् । उनले भनिन्, ‘काँग्रेसले एमालेसँग तालमेल गरेर जाने कुरा गठबन्धन संयन्त्रको सर्कुलर विपरीत हुन्छ । हामी वार्ता–छलफलमा माध्यमबाट अगाडि बढ्छौं । सायद भोलि÷पर्सि बैठक बस्छ ।’ 

०७४ को स्थानीय तहको निर्वाचनमा कुन दलको अवस्था कस्तो थियो ?

आठबीसकोट नगरपालिका

यहाँँ माओवादी केन्द्रका गोर्खबहादुर केसीले ५ हजार ४८९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका धीरेन्द्र कुमार वटालाले ३ हजार ५९६ मत ल्याएका थिए । एमालेका हरि प्रसाद शर्माले २ हजार ४५९ मत ल्याएका थिए । यस्तै उपप्रमुखका माओवादी केन्द्रकै गीता नेपालीले ५ हजार ६१८ मत ल्याएर निर्वाचित बनेकी थिइन् भने काँग्रेसकी अनिता बुढाले ३ हजार १८९ र एमालेकी अमृता कुमारी शाह (हमाल)ले २ हजार ७८६ मत ल्याएकी थिइन् । १४ वटा वडा रहेको यहाँ एमालेले १, काँग्रेसले २ र माओवादीले ११ वटा वडामा आफ्नो वर्चश्व जमाएको थियो ।

चौरजहारी नगरपालिका

यहाँ मेयरमा माओवादी केन्द्रका विशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित हँुदा काँग्रेसका बलवीर गोसाइँले ३ हजार २०४ र एमालेका शेरबहादुर केसीले २ हजार २८२ मत ल्याएका थिए । उपप्रमुखमा माओवादीकी राधा रोकायाले ५ हजार ३२५ मत ल्याएर निर्वाचित भएकी थिइन् भने काँग्रेसकी मनिसा रोकायाले ३ हजार ४८ र एमालेकी कल्याणी खड्काले २ हजार ४१३ मत ल्याएकी थिइन् । १४ वडा रहेको यहाँ काँग्रेसले ३, एमालेले १ र माओवादीले १० वडामा जितेको छ।

मुसीकोट नगरपालिका

यो नगरपालिकामा माओवादी केन्द्रका देवीलाल गौतमले ४ हजार ३५० मत ल्याएर मेयरमा निर्वाचित हुँदा काँग्रेसका महेन्द्र केसीले ४ हजार १७४ र एमालेका विमलकुमार पुनले २ हजार ३५८ मत ल्याएका थिए । उपप्रमुखमा माओवादीकी प्रेमकुमारी सुनारले ४ हजार ४७९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी बालकुमारी गिरीले ४ हजार १५८ र एमालेकी केशरी गौतमले २ हजार १४७ मत ल्याएकी थिइन् । यहाँका पाँच वटा वडामा काँग्रेसले जितेको छ भने ९ वडामा माओवादीले जितेको छ ।

त्रिवेणी गाउँपालिका

यो गाउँपालिकाको अध्यक्षमा माओवादीका  झक्कुप्रसाद घर्ती ३ हजार ९८० मतसहित निर्वाचित हुँदा काँग्रेसका  देवबहादुर वलीले २ हजार ६६३ र एमालेका गणेशबहादुर खड्काले ६५२ मत पाएका थिए । उपाध्यक्षमा माओवादीकी निर्मला विष्ट (खड्का)ले ३ हजार ९८० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी देवी पुनले २ हजार ६५२ मत ल्याएकी थिइन् । यस्तै एमालेकी कुवली ओलीले ६७७ मत ल्याएकी थिइन् । ८ वटा वडा रहेको यहाँ माओवादीले ६ र काँग्रेसले २ वटामा जितेको थियो ।

बाँफीकोट गाउँपालिमा

यहाँ माओवादीका धर्मबहादुर केसी ३ हजार ५६४ मत ल्याई निर्वाचित हुँदा काँग्रेसका जनककुमार बाठा मगर २ हजार ८१३ र एमालेका नगेन्द्र प्रसाद रिजालले ९७ मत ल्याएका थिए । उपाध्यक्षमा माओवादीकै मनकला पुनले ३ हजार ५८९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने काँग्रेसकी हिरा केसीले ६६९ र एमालेकी ब्युँझना पुनले २ हजार १०२ मत ल्याएकी थिइन् । यहाँ दशवटै वडामा माओवादीले जितेको थियो ।

सानीभेरी गाउँपालिका

यहाँ माओवादी केन्द्रका नरबहादुर पुनले ४ हजार ६५० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका गोरखप्रसाद चन्दले २ हजार ६१७ र एमालेका मनवीर घर्तीले ५५६ मतमात्र प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादीकै इन्दिरा ओलीले ४ हजार ६६१ मत ल्याएर निर्वाचत हुँदा काँग्रेसकी पुष्पा ओलीले २ हजार ६०३ र एमालेकी लक्ष्मी पुनले ५९९ मत पाइन् । पालिकाका दश वडा अध्यक्ष माओवादी र एउटामा काँग्रेसले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप