आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रदेश १ : झापामा ‘सुरक्षा थ्रेट’ बढी, ३२१ मतदान केन्द्र अति समवेदनशील

शुक्रबार, ०२ वैशाख २०७९, ०८ : १९
शुक्रबार, ०२ वैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि प्रदेश १ मा १४ हजार प्रहरी र १७ हजार ७ म्यादी परिचालन हुने भएको छ । स्थानीय तह निर्वाचनमा अति समवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।

मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रदेश प्रहरीका कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए। सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, समवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । यसबाहेक रिजर्भ टिम, मोबाइल गस्ती लगायतमा पनि प्रहरी परिचालन हुनेछ ।

निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर वस्तुस्थितिको निरीक्षण गर्ने जनाइएको छ । मतगणनास्थलको सुरक्षाका साथै इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर सुरक्षित राख्ने जिम्मा पनि प्रहरीलाई दिइएको छ ।​

संगठित समूहको थ्रेट छैन : डिआइजी बिसी

स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट सुरक्षा थ्रेट नभएको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूण कुमार बिसीले बताए । उनले मतदानस्थल र केन्द्रमा संगठित समूहको ‘थ्रेट’ नभएको बताए ।

सुरक्षा थ्रेटको रुपमा हेरिएको खगेन्द्र खरेल नेतृत्वको हिमाल सुरक्षा परिषद्का सदस्यहरूलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । इटहरीमा बम विस्फोट गरेको आरोपमा प्रहरीले ४३ वर्षका खगेन्द्र खरेल उर्फ सञ्जयसहितको समूहलाई केही दिन अघि पक्राउ गरेर मुद्दा चलाएको थियो । सो समूहबाट पनि निर्वाचनमा थ्रेट नहुने डिआजी बिसीले बताए ।

स्थानीय तह निर्वाचनमा संगठित समूहको भन्दा भौगोलिक विकटता, खुला सीमा र बढी जनघनत्व भएका स्थानमा सुरक्षा चुनौती हुन सक्ने उनले बताए । ‘धेरै झडप हुने गरेका र सम्भावित झडप हुन सक्ने ठाउँलाई पनि हामीले सुरक्षा चुनौतीको रूपमा हेरेका छौँ,’ उनले भने । प्रहरीका अनुसार तराईमा सक्रिय सशस्त्र समूह अहिले चुनाव बिथोल्न सक्ने अवस्थामा छैनन् ।

सत्ता गठबन्धन र नेकपा एमालेका बीचमा हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको एकजना प्रहरी अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘गठबन्धन भित्रको मतभेद पनि थ्रेट हुन सक्छ । तर, स्थानीय तह निर्वाचनमा २०७४ को जस्तो थ्रेट अहिले छैन ।’

प्रदेश १ मा ३२१ मतदानस्थल ‘अति समवेदनशील’

स्थानीय तह निर्वाचनमा प्रदेश १ मा  १ हजार ८ सय ७७ मतदानस्थलमध्ये  ३ सय २१ मतदानस्थल ‘अति समवेदनशील’ रहेको सुरक्षा निकायको विश्लेषण छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ ।

सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदान केन्द्र अति समवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता राईले जानकारी दिए । उनका अनुसार  प्रदेशमा  ८४९ वटा मतदानस्थल समवेदनशील र ७०७ वटा सामान्य छन् ।

प्रदेशमै सबैभन्दा बढी झापामा ‘अति समवेदनशील’ मतदानस्थल छन् । झापापछि मोरङ र सुनसरीको मतदानस्थल अति समवेदनशील विश्लेषण गरी सुरक्षा निकायले सोही अनुसार सुरक्षा रणनीति बनाएको छ । खासगरी भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदानस्थल सुरक्षा निकायले अति समवेदनशील सूचीमा राखेर सुरक्षा योजना अगाडि बढाएको हो ।

७७७ मतदान केन्द्र र २८६ मतदानस्थल रहेको झापामा ५१ मतदानस्थल अति समवेदनशील सूचीमा छ । यस्तै १५३ समवेदनशील र ८२ मतदानस्थल सामान्य छ । यस्तै, मोरङमा ४९ वटा मतदानस्थल अति समवेदनशील छन् । ८२० वटा मतदान केन्द्र र ३ सय वटा मतदानस्थल रहेको मोरङमा समवेदनशील १५५ र सामान्य ९६ वटा मतदानस्थल छन् ।

मोरङको अति समवेदनशील सूचीमा राखेको मतदानस्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा छन् । रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदानस्थललाई पनि सुरक्षा निकायले अति समवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप