बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा उपमहानगरमा गठबन्धनभित्र किचलो

काँग्रेसको उपमहानगर कमिटी भन्छ– गठबन्धन गर्दैनौं
शुक्रबार, ०२ वैशाख २०७९, ०८ : ०६
शुक्रबार, ०२ वैशाख २०७९

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जीतपुर सिमरा उपमहानगरमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।  काँग्रेस उपमहानगर कमिटीले विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै लड्ने जनाएको हो ।

‘नेपाली काँग्रेसको संगठनात्मक अवस्था विगतको तुलनामा राम्रो भएको र हाम्रो पार्टीबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुले राम्रो कार्यसम्पादन गरेकाले जीतपुर सिमरा उपमहानगरमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी अगामी स्थानीय निर्वाचनमा भाग लिने रायसहितको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

२०७४ को निर्वाचनमा नगरप्रमुख र उपप्रमुख दुवै पदमा दोस्रो भएको नेपाली काँग्रेसले आगामी निर्वाचनमा गठबन्धन भए पहिलो दाबी आफ्नो हुने जनाएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा नगरप्रमुखका दावेदार श्यामबाबु गुप्ताले २५ औं वर्ष कम्युनिस्टले नेतृत्व गर्दा पनि उपमहानगरमा कुनै बिकास नभएकाले यसपटक काँग्रेसलाई जनताले हेर्न चाहेको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय कमिटीले जिल्ला कार्यसमितिलाई पत्र पठाएर बाराको १६ वटा पालिकामा पार्टीको अवस्था के कस्तो हो, गठबन्धनबारे सुझाव माग गरेको  थियो । नगरकमिटीले मंगलबार जिल्ला सभापतिलाई पत्र पठाएर गठबन्धन नगरी अगामी स्थानीय तहको निर्वाचनमा भाग लिने राय सुझाव दिएको छ ।

देशका ११ उपमहानगरमध्ये जीतपुर सिमरा माओवादीको भागमा पर्ने हल्ला बिच काँग्रेसले केन्द्रमा गठबन्धनको निर्णय भए पनि उपमहानगरमा नमान्ने जनाएको हो । ‘केन्द्रले निर्णय गर्दैमा जनतालाई माओवादीमा भोट देऊ भनेर सम्झाउने ठाउँ छैन, हामी आफ्नो दाबी छोड्दैनौँ पनि,’ गुप्ताले भने ।

जीतपुर सिमरामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले नगरप्रमुखमा नेकपा एमालेपछिको दोस्रो ११ हजार ९९५ मत ल्याएको थियो भने २४ वटा वडामध्ये ५ वडा जितेको थियो । काँग्रेसका बारा जिल्ला सभापति राजेश राय यादवले केन्द्रबाट बाराको १६ वटै पालिकामा गठबन्धन गर्ने÷नगर्ने विषयमा सुझाव माग भएकोले स्थानीय नगरकमिटीको सुझावलाई जस्ताको तस्तै केन्द्रमा पठाएको बताए ।

‘हामीले जिल्लाको अवस्थावारे केन्द्रमा पत्राचार गरिसकेका छौं, अहिले केन्द्रबाट केही निर्णय आएको छैन,’ जिल्ला सभापति यादवले भने । जीतपुर सिमरा उपमहानगर माओवादी केन्द्रको भागमा प¥यो भन्ने हल्ला निराधार रहेको यादवले जनाए ।

काँग्रेसले छाडे जसपा र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन हुन्छ : माओवादी केन्द्र

माओवादी केन्द्रका संविधानसभा सदस्य जयराम दाहालले जीतपुर सिमरा उपमहानगरमा काँग्रेसले गठबन्धन छाडेमा माओवादीले जसपा र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गर्ने बताएका छन् । ‘चुनाव लड्न सबैलाई छुट छ, स्वतन्त्र भएर पनि लड्न पाइन्छ । पार्टीले गठबन्धन गरिरहँदा हामी केन्द्रमा गरेको गठबन्धनलाई सहर्ष स्वीकार गर्छौं,’ दाहालले भने, ‘उहाँहरु गठबन्धनबाट छुट्टिएर लड्नुभयो भने हाम्रो अरु गठबन्धन त छ नि !’

जीतपुर सिमरामा २०७४ को निर्वाचनमा प्रमुख÷उपप्रमुख जितेको नेकपा एमाले विभाजन भएपछि सो निर्वाचनमा दोस्रो स्थानमा रहेको काँग्रेसले सत्तारुढ गठबन्धनबाट स्वाभाविक दाबी गर्ने काँग्रेसका स्थानीय नेता÷कार्यकर्ता बताउँछन् । यता, माओवादी केन्द्रले भने विगतको निर्वाचनमा १० वटा वडाअध्यक्ष सहित सम्मानजनक मत ल्याएकाले जीतपुर सिमरामा आफ्नो पहिलो दाबी हुने जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप