मोरङमा काँग्रेस गठबन्धन गर्न तयार
मोरङका अधिकांश पालिकामा एक्लै जित्ने दाबी गर्दै आएको नेपाली काँग्रेस अन्ततः गठबन्धन गर्न तयार देखिएको छ । सत्ता गठबन्धनका ५ दलमध्ये मोरङमा राष्ट्रिय जनमोर्चाको अस्तित्व छैन । त्यस बाहेकका दलहरूको बुधबार बसेको बैठकमा काँग्रेसले गठबन्धन गर्ने विषयमा सहमति जनाएको अन्य पार्टीका नेताहरुले बताएका छन् ।
उक्त बैठकले मोरङमा गठबन्धन गरेर जाने सहमति गरेको छ । पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव पेश गर्न एक कार्यदल पनि बनाइएको छ । कार्यदलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, काँग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डा. उद्धब पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव रहेका छन् । ‘कार्यदलले दुई दिनभित्रमा जिल्लाका १७ वटै पालिकाको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यस आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको छ,’ बैठकमा सहभागी एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले भने, ‘कार्यदलको सुझावबारे यहाँका पार्टीहरू फेरि बसेर माथिल्लो समितिमा सिफारिस गर्ने छ ।’
सोहीअनुसार कार्यदलकातर्फबाट आफूहरु छलफल गरिरहेको र रिपोर्ट निर्माणको क्रममा रहेको माओवादी मोरङका संयोजक विजय विश्वासले जानकारी दिए । ‘हामीले रिपोर्ट तयार पार्दैछौं, भोली पुनःहाम्रो कार्यदलको बैठक बसेर टुंग्याउने र गठबन्धनको बैठकमा पेश गर्नेछौं,’ विश्वासले भने । यसअघि गठबन्धन नगर्ने र एक्लै लड्ने भन्दै आएको काँग्रेस बुधबारको बैठकमा भने स्पष्टताका साथ गठबन्धन गर्ने विषयमा सहमत भएको छ । ‘यसअघि काँग्रेसका केही साथीहरुले गठबन्धनमा इच्छा नदेखाए जस्तो देखिएको थियो,’ विश्वासले भने, ‘बुधबारको बैठक र त्यसले लिने निर्णयपछि मोरङमा चार दलबीचमै बैठक हुने प्रष्ट भयो, अब यताउता हुने देखिएन ।’ एकीकृत समाजवादीका नेता रेग्मीले पनि केन्द्रबाटै निर्णय र आवश्यक निर्देशन आइसकेको कारण गठबन्धन गर्ने विषयमा कुनै शंका नरहेको बताए ।
जनता समाजवादी पार्टीका नेता जयराम यादवले काँग्रेस यसअघिको अवस्थाभन्दा सकारात्मक ढंगले प्रस्तुत भएको बताए । ‘हिंजोको बैठक निक्कै सकारात्मक भयो, काँग्रेसको केन्द्रबाटै जिल्लालाई निर्देशन आएजस्तो लाग्यो, अरु दिनको भन्दा राम्रो ढंगले उहाँहरु प्रस्तुत हुनुभएको थियो,’यादवले भने, ‘कांग्रेस गठबन्धनभन्दा दायाँ बायाँ हुने सम्भावना अब रहेन ।’