मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’मा गण्डकी दोहोरी साँझ उत्कृष्ट

बिहीबार, ०१ वैशाख २०७९, १८ : २२
बिहीबार, ०१ वैशाख २०७९

गण्डकी दोहोरी साँझलाई उत्कृष्ट पुरस्कार दिदै ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ बिहिबारबाट सकिएको छ । साँझबाट दीलिप थापा मगर र बिमाकुमारी अनुरागीले उत्कृष्ट पुरस्कार प्राप्त गरे ।

५ दिन चलेको प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ दोस्रो र सरोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझले संयुक्त रुपमा तेश्रो पुरस्कार प्राप्त गर्यो ।

कुल ६८ समूहले भाग लिएको प्रतियोगितामा निर्णायक समितिका संयोजक बरिष्ठ गायक पुरुषेत्तम न्यौपाने रहेका थिए । नेपालका सबै जाती तथा भूगोलका समेत लोक संस्कृतिको जगेर्नाका साथै लोक सांगीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरूलाई प्रोत्साहन समेत गर्ने उद्धेश्यका साथ गत शनिबारदेखि जारी ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ पूर्वदेखि सुदुर पश्चिमसम्मका कला र संस्कृतिको सम्मिश्रण गर्ने उदेश्यले आयोजना गरिएको थियो ।

खुल्ला दोहोरी मध्ये अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि राखिएको महोत्सव सुरु हुनुअघि गत शनिबार माइतीघर मण्डलादेखि विभिन्न जातजातीहरुका झाँकीसहित टुँडिखेलमा प्रवेश गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । महोत्सव डिएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो । महोत्सवमा पहिले, दोश्रो र तेश्रो हुने समूहलाई क्रमश ५ लाख, ४ लाख र ३ लाख पुरस्कार प्राप्त गरे ।

समापन कार्यक्रममा लोक सम्राट कुमार बस्नेत, बरिष्ठ लोक गायक बमबहादुर कार्की, बरिष्ठ लोक गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, बरिष्ठ गायिका बिमाकुमारी दुरा, शिला आले, बरिष्ठ गायक शिवनारायण जोशी, मच्छेश्वर सापकोटा, ऋषि अधिकारी, नबिन ढुंगेल, टंक केसी, गीतादेवी लगायत बरिष्ठ कलाकारहरुलाई सम्मानित गरिएको थियो भने गायक गायिकहरू बद्री पंगेनी, कृष्ण रेउले, महेन्द्र तिमल्सिना, शिरिष देवकोटा, खुमन अधिकारी, अमृत खाती, सरोज लामिछाने, भिमसेन खतिवडा, रामकुमार नेपाली, प्रकाश कटुवाल, प्रतिमा अर्याल,वैकुण्ठ महत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

यसअघि २०७६ सालका अन्तिममा काठे दोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिज एण्ड फिल्मस्ले अघिल्लो वर्ष कोरोना महामारीका कारणले कार्यक्रम गर्न नसकिएको जानकारीका साथमा आगामी वर्षदेखि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप