बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महाकाली पुलको निर्माण सुस्त गतिमा

बिहीबार, ०१ वैशाख २०७९, १८ : १२
बिहीबार, ०१ वैशाख २०७९

बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ ।

गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटपुटरूपमा भए पनि बाँध निर्माणलगायतका काम भने सुरु नै हुनसकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन स्वीकृत भए पनि ‘भेरियसन अर्डर’ नहुँदा काम अगाडि बढ्न नसकेको पुल निर्माण कम्पनीको भनाइ छ । यसअघि ठूला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने सम्झौतामा रहे पनि ठूलो ढुङ्गाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिर्वतनको पहल भएको हो । गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक थियो ।

पुल निमार्णको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सिएफसी) जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले गाइडबण्डको डिजाइन परिर्वतन भए पनि ‘भेरियसन अर्डर’ नहुँदा आर्थिक विषय नटुङ्गिएको बताए । “गत फागुन २३ गते डिजाइन परिर्वतन भए पनि ‘भेरियसन अर्डर’ नुहँदा काम ढिला भयो”, इञ्जीनियर पाण्डेयले भने, “डिजाइन परिर्वतनसँगै रकम पनि तल–माथि हुन्छ ।” “अब वर्षात् नजिकिँदैछ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ”, उनले भने, “अन्य निर्माण भने चलिरहेको छ ।” गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब २० करोडभन्दा बढीको क्षति पु¥याएको थियो ।

त्यसैगरी पुलसँगै सात दशमलव आठ किलोमिटर छ लेनको पहुँचमार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ । तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल बने सुदूरपश्चिमको आर्थिक समृद्धिमा फड्को मार्ने आशा गरिएको उक्त आयोजनाको निर्माण द्रुतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले पनि दबाब दिँदै आएका छन् । योजनामा पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ । विसं २०७४ भदौबाट पुल निर्माण सुरु भएकामा कारोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप