मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमाथि प्रश्न : कमल थापा र एकनाथ ढकाललाई सूर्य चिह्न ‘बिक्री’ कि ‘भाडा’मा ?

बिहीबार, ०१ वैशाख २०७९, १६ : ३२
बिहीबार, ०१ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका धेरै नेताहरुले प्रायः भन्ने गरेका छन्– ‘पाँच दल त के १० दलको गठबन्धन बनाए पनि एमाले एक्लै चुनाव लड्न तयार छ ।’ ओलीले चुनावी सभा र भाषणहरूमा अरु विम्ब पनि प्रयोग गर्ने गरेका छन्– ‘एमाले क्वीन्टल र गठबन्धनमा रहेका पाँच पार्टीहरू एक–एक किलो गरी पाँच किलोका ढक हुन् ।’

भाषणमा एमाले अध्यक्ष ओलीले यसो भन्ने गरे पनि एमाले पार्टीको तयारी भने फरक देखिन्छ । गठबन्धनलाई कहिले भैँसी त कहिले बाख्रासँग तुलना गर्ने  ओलीले अरु दलसँग गरेको तुलनालाई विश्वास गर्ने हो भने एमालेलाई चुनाव जित्न कसैको सहारा लिनु जरुरी छैन । तर, ओलीको बोली र व्यवहारमा देखिएको भिन्नताको उदाहरण हो, ‘एमाले– राप्रपा नेपाल तालमेल । अनि, एमाले–परिवार दलबीचको अर्को तालमेल ।’

एमालेले बुधबार मात्रै राप्रपा नेपाल र परिवार दलसँग औपचारिकरुपमै चुनावी तालमेल गरेको हो । कसैसँग चुनावी गठबन्धन नगर्ने भन्दै आएको एमालेले पूर्वराजावादी एवं कट्टर हिन्दुवादी कमल थापा र ‘होलीवाइन सम्मेलन’ गराएर विवादमा परेका एकनाथ ढकालको परिवार दलसँग चुनावी तालमेल गरेर आफ्नै बोली र प्रतिवद्धताको खण्डन गरेको छ ।

आश्चर्यको कुरा त के छ भने थापा हिन्दुराज्यका पक्षपाती हुन् भने ढकाल होलीवाइन संस्कृतिका प्रचारक । उनै ढकालको अगुवाइमा नेपालमा होलीवाइनको चर्चा भएको धेरै समय भएको छैन ।

एमालेसँग यी दुई दलको चुनावी तालमेलमात्रै होइन, चुनाव लड्न आफ्नो पार्टीको चुनाव चिह्नसमेत प्रयोग गर्न दिने अनौठो सहमतिसमेत एमालेले गरेको छ, जसलाई एमालेकै नेताहरुले ‘भाडामा सूर्य चिन्ह दिइएको’ भन्दै व्यंग्य गरेका छन् । यतिसम्म कि ओलीले भनेजस्तो एमालेको हैसियत र अवस्था भैदिएको भए उनले यसरी अत्तालिएर कमल थापाहरुसँग चुनावी तालमेल गर्नुपर्ने अवस्था नआउने विश्लेषकहरु बताउँछन् ।

केही समयअघिसम्म आफैँले राजावादी भनेर गाली गरेका थापालाई ओलीले आफ्नै चुनाव चिह्न ‘भाडा’ मा दिनुपर्ने अवस्था कसरी आयो ? यो प्रश्न असली एमाले नेता कार्यकर्ताले सोध्न हिम्मत गर्लान् या नगर्लान् त्यो भने हेर्न बाँकी नै छ ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनविरुद्ध प्रायः आफ्ना भाषण र सम्बोधनहरुमा खर्चिने शव्द अर्को पनि छ । त्यो हो– अप्राकृतिक गठबन्धन । काँग्रेस र कम्युनिस्टबीचको गठबन्धनलाई उनले अप्राकृतिक गठबन्धन भन्नु स्वभाविक होला । तर, अरुलाई यसो भन्नेले कम्तिमा आफूले पनि सामान्य नैतिकता देखाएको भए कसैले प्रश्न उठाउने थिएनन् ।

दलीय व्यवस्थामा विचार, सिद्धान्त र नीति मिल्नेहरुसँग चुनावी तालमेल गर्नुलाई अस्वभाविक मान्न सकिँदैन । किनभने, यस्ता अभ्यास यसअघि पनि हुदै आएका हुन् । जस्तो– गत संसदीय निर्वाचनमा एमाले माओवादी केन्द्रबीच चुनावी तालमेल भएकै हो । त्यस्तै हृदयेश त्रिपाठीको स्वतन्त्र समुहले पनि सूर्य चिह्नबाटै निर्वाचन लडेको नजिर छ । तर, आफैँले राजावादी भनेर घोषणा गरेकासँगै चुनावी तालमेल गर्नु चाहिँ प्राकृतिक हो त ? यसको जवाफ ओलीसँग नहुनसक्छ । जसले उनको बोली र व्यबहारको भिन्नतालाई प्रष्ट पार्छ ।

पाँच दलीय सत्ता गठबन्धनले देशभर नै तालमेल गर्ने निर्णय गरेपछि स्वभाविक रुपमा चुनाव जित्नै पर्ने दबाबमा एमाले छ । सोही दवाव महशुस गरेर नै उसले राप्रपा नेपाल र परिवार दललाई आफ्नो चुनाव चिन्ह भाडामा दिएर चुनावमा जान बाध्य भएको हुनसक्छ ।

बुधबार भएको सम्झौताअनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलका उम्मेदवार एमालेको चुनाव चिह्न सूर्यबाट प्रतिस्पर्धा गर्नेछन्, तर उनीहरु सूर्य चिन्हबाट चुनाव जितेपनि एमाले हुनु नपर्ने एमालेले गरेको सहमति भने अनौठो लाग्ने खालको छ ।  

चुनाव घोषणा भएसँगै सार्वजनिक कार्यक्रमहरुमा एमालेसामु अरु दल टिक्न नसक्ने दाबी गर्दै आएका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई पटक–पटक एक्लाएक्लै चुनाव लड्न चुनौति दिँदै आएका थिए । तर, उनको यो चुनौतीको गठबन्धनमा रहेका कसैले पनि वास्ता गरेनन् । बरु गठबन्धन टुटाउने ओलीको अर्को प्रयास पनि असफल बन्दै गएपछि थापा र ढकालसँग अनौठो गठबन्धन गर्न बाध्य भए भनेर बुझ्दा फरक नपर्ला ।  एमालेले राप्रपासँग गरेको ५ बुँदे सहमतिको चौथो बुँदामा सूर्य चिह्नबाट प्रतिस्पर्धा गरे पनि उम्मेदवारको हैसियत साविकको दलकै हुनेछ भन्ने उल्लेख छ । अर्थात चुनाव सूर्यबाट लड्ने तर जितेपछि हैसियत राप्रपा नेपाल वा परिवार दलकै रहने आशय बुझ्न सकिन्छ ।  कतिपयले यसलाई सूर्य चिह्न चुनावमा भाडामा लगाएको अर्थमा समेत बुझेका छन् ।

एमालेका एक केन्द्रीय पदाधिकारी व्यङ्ग्य गर्दै भन्छन्, ‘सूर्य चिह्न चुनावभर राप्रपा नेपाल र परिवार दललाई भाडामा दिएको देखिन्छ । तर, भाडा कहिले उठाउने भन्ने त्यसमा खुलाइएको छैन ।’

त्यसो त एमालेसँग तालमेलका सहमति गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताका विषयमा एमालेसँग धारणा मिलेकाले चुनावी तालमेल गरेकोे दावी गरेका छन् । ‘राप्रपा नेपाल तुलनात्मक रूपमा नयाँ पनि छ । त्यसैले एमालेसँग सहकार्य गर्ने निर्णय गरेका हौं’, थापाको भनाइ छ ।  

भीम रावलको प्रश्न : सूर्य बिक्री भएको हो ?

एमाले र राप्रपाबीच सूर्य चिन्हमा तालमेल गर्ने निर्णय भएको भोलिपल्ट एमाले नेता भीम रावलले भने गम्भीर प्रश्न उठाएका छन् । नेता रावलले राप्रपा र परिवार दलका उम्मेद्वारले सूर्य चिह्नमा चुनाव लड्ने तर एमाले हुनुनपर्ने भन्दै प्रश्न गरेका छन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, रावलको  प्रश्न छ ।

बिहीबार सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’

राप्रपा नेपाल र परिवार दलसँग एमालेले गरेको सहमतिप्रति आपत्ति जनाउदै नेता रावलले रातोपाटीसँग भने, ‘विचार मिल्नेहरुले आ–आफ्नो चिह्नमा चुनाव लड्ने तालमेल मात्रै गर्छन्, तर चुनाव चिन्ह नै भाडामा दिनु भनेको अति हो ।’

नेता रावलले राजनीतिक, कानुनी र बहुदलीय दृष्टिकोणबाट कुनै पनि राजनीतिक दलले आफ्नो निवाचन चिह्न अर्को पार्टीलाई प्रयोग गर्न दिएर चुनाव जितेर आएपछि तिमी आफ्नै पार्टीमा बसिराख भन्ने कुरा अत्यन्त अनुचित भएको बताए । यस्तो गर्नु बहुदलीय व्यवस्थाकै विपरित हुने पनि रावलको भनाइ छ ।

उनले एउटा दलले अर्को दललाई चुनाव चिह्न भाडामा दिने हो भने निर्वाचन आयोगले चुनाव चिह्न नै नबाडे हुने पनि बताए । ‘चुनाव चिह्न आयोगको साटो राजनीतिक दलले बाँडे भैगो नि !’ रावलको भनाइ छ ।

नेता रावलले यो विषयमा आयोगको ध्यानाकर्षण हुनुपर्ने समेत बताए । ‘यसमा त आयोगको ध्यानाकर्षण भएर कारवाहीको विषय बन्नुपर्ने हो’, रावलको भनाइ छ ।

उनले नेकपा एमाले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्त बोकेको पार्टी भएको भन्दै कमल थापाको पार्टीबीच कहाँ तादाम्य हुने भन्दै प्रश्न गरे ।

‘अनि एकनाथ ढकालले नेतृत्व गरेको परिवार दल जसले त्यत्रो होलीवाइन काण्ड मच्चाएको होइन ?’, रावलले प्रश्न गर्दै भने, ‘यो राजनीतिक दृष्टिकोणले पनि अनुचित, सिद्धान्तहीन र घोर अवसरवाद हो ।’ यस्तै गर्दै जाने हो भने यसले राष्ट्रलाई विकृत राजनीतिको आहालमा डुृवाउने रावलको दावी छ ।

आयोग भन्छ – सूर्यमा चुनाव जितेर राप्रपा नेपालको प्रतिनिधि हुँदैन

एमाले र राप्रपा नेपालले गरेको सहमतिमा सुर्यबाट चुनाव जितेपनि राप्रपा नेपालको प्रतिनिधिमा गणना हुने भन्ने चाहना आयोगले भने पुरा नसक्ने जनाएको छ । निर्वाचन आयोगले जुन दलको चुनाव चिन्हमा उम्मेदवारले आफ्नो उम्मेदवारी दिन्छन्, सो ब्यक्तिलाई सोही चुनाव चिन्ह रहेको दलको ब्यक्तिको रुपमा चिन्ने जनाएको छ । 

‘चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने बेलामा नै हामी दुई वा दुईभन्दा बढी दलहरु मिली चुनाव लड्छौँ भनेर आयोगमा आउनुपथ्र्यो । त्यतिबेला त्यसरी कोही पनि आएको छैन’, आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीसँग भने, ‘पछि कुनै पार्टीको उम्मेदवारले अर्कै पार्टीको चिन्हबाट चुनाव लड्छ भने जुन दलको चिन्हबाट लड्छ, निर्वाचित भएपछि त्यही दलको रुपमा चिनिन्छ ।’

सहसचिव भट्टराईले अर्को पार्टीको चिन्हमा चुनाव लड्न पाउने कानुनी प्रावधान भएको पनि बताए । उनले भने, ‘एमालेको चिन्ह लिएर उठेको उम्मेदवारलाई कसरी राप्रपाको उम्मेदवार भनेर चिन्ने ? कानुनी रुपमा सूर्य चिन्ह एमालेको भएकाले त्यो चिन्ह लिएर जो उम्मेदवार उठ्छ, त्यो एमालेको उम्मेदवार भनेर कानुनी रुपमा चिनिन्छ ।’

अहिले सूर्य चिह्नमा लडेर पछि हामी राप्रपाको हौँ भन्न पाउने अवस्था कानुनीरुपमा नहुने उनको भनाइ छ । जुन चुनाव चिन्हबाट व्यक्ति निर्वाचित भएको हुन्छ त्यसलाई सोही दलले आवश्यक परेको खण्डमा कारवाही गर्न सक्ने व्यवस्थासमेत रहेको आयोगको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप