मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मिथिलामा सतुवाइन पर्व मनाइँदै

बिहीबार, ०१ वैशाख २०७९, १६ : ०२
बिहीबार, ०१ वैशाख २०७९

मिथिला क्षेत्रमा बिहीबार सतुवाइन (सातु खाने) पर्व मनाइँदै छ । मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा आज बिहानैदेखि सतुवाइन पर्व मनाइरहेका छन् ।

मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेकोले आजका दिन यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका–८ का पण्डित कालिकान्त झाले बताए । चना, मकै, जौ, भटमासलगायत वस्तुलाई भुटेर त्यसलाई पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलामा सतुवाइन पर्व मनाइने चलन रहेको यालना विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले बताए ।

सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलामा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए ।

आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वादअनुसार नुनसँग पनि खाने चलन छ । सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिँदै शितल र स्वस्थ्य रहनु भनेर आशीर्वादसमेत दिने गर्दछन् । परिवारका सबै सदस्यले यस दिनमा पहिलो खाने कुरा सातु खाने परम्परा छ ।

ठूलाबडाले सानालाई प्रदान गर्ने सातु खान र आशीर्वाद थाप्न यस दिनमा घरका आफन्तका साथै नातेदार, टोल छिमेक, ईष्टमित्र सबैका बालबालिकादेखि परिवारका सबै सदस्य प्रतिक्षारत रहन्छन् । घरमूलीले बिहानै उठेर कुलदेवताको पूजाअर्चना गर्दै सबैभन्दा पहिले कुल देवतालाई सातु चढाउने गर्दछन् । पूजा गरेर ल्याइएको प्रसादमा मिलाएर सबैलाई सातु खुवाउने परम्परा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप