शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादीले कैलालीमा पालिका प्रमुखमा उम्मेदवारी नपाउने !

सत्तारुढ गठबन्धनमा कसको माग के ?
बिहीबार, ०१ वैशाख २०७९, १५ : ४२
बिहीबार, ०१ वैशाख २०७९

 कैलालीमा स्थानीय तहको आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीलाई पालिका प्रमुख पदमा दाबी गर्न समस्या देखिएको छ । केन्द्रमा पाँच दलीग गठबन्धनबीच स्थानीय तहमा उम्मेदवारी बाँडफाँटका सम्बन्धमा गरिएको सैद्धान्तिक सहमति अनुसार नेकपा एकीकृत समाजवादीले कैलालीका कुनै पनि पालिकामा प्रमुख पद दाबी गर्न नमिल्ने भएको हो ।

सत्तारुढ गठबन्धनबीच ‘२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी भएर हाल एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिहरुलाई सोही पदमा उम्मेदवारी दिने’ सैद्धान्तिक सहमति भएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीका कुनै पनि पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख तथा अध्यक्ष छैनन् । २०७४ सालको निर्वाचनमा कैलालीका चार वटा स्थानीय तहमा नेपाली काँग्रेस, दुई वटामा नेकपा माओवादी केन्द्र र सात वटा स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा निर्वाचित भएका थिए ।

नेकपा एमाले विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा कैलालीको एउटा पालिकाको उपप्रमुख आवद्ध छिन् । दल छनौट प्रक्रियामा गोदावरी नगरपालिकाकी प्रमुख रतना कठायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । अहिले मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष बुढामगर माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन् ।

जिल्लाको पाँच दलीय गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीले पाँच वटा स्थानीय तहमा आफ्नो दाबी गरेको छ । बुधबार बसेको अनौपचारिक बैठकमा पनि सो पार्टीले कैलालीको गोदावरी, गौरिगंगा, घोडाघोडी र लम्कीचुहा नगरपालिका तथा चुरे गाउँपालिकामा दाबी गरेको थियो ।

बैठकमा उम्मेदवारी बाँडफाँटबारे कुनै निर्णय भएन । सत्तारुढ गठबन्धनको जिल्लास्तरीय बैठक वैशाख ३ गते बस्ने गरी स्थगित भएको छ ।

काँग्रेस र माओवादीको दाबी बढ्ने

२०७४ सालको निर्वाचनको मतभारका आधारमा नेपाली काँग्रेस र माओवादी केन्द्रले स्थानीय तहको नेतृत्वमा दाबी बढाउने भएका छन् । चार स्थानीय तहमा प्रमुख तथा अध्यक्ष रहेको नेपाली काँग्रेस र दुई स्थानीय तहमा बलियो रहेको माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेका स्थानीय तहमा पनि दाबी गर्ने तयारी गरेका छन् ।

२०७४ को निर्वाचनका आधारमा नेपाली काँग्रेसले कैलालीको गोदावरी, लम्की, टीकापुर नगरपालिका तथा चुरे गाउँपालिकामा दाबी गर्ने नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रले बताए । उनका अनुसार हाल धनगढी उपमहानगरपालिका, वर्दगोरिया, जानकी र जोशीपुर गाउँपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधि छन् ।

उनले २०७४ को निर्वाचनमा दोस्रो स्थानमा रहेका स्थानीय तहमा पनि काँग्रेसले गठबन्धनभित्र दाबी गरिरहेको बताए ।​ गठबन्धनभित्रैको दल नेकपा माओवादी केन्द्रबाट अहिले भजनी नगरपालिका र कैलारी गाउँपालिकाको प्रमुख पदमा प्रतिनिधित्व छ । माओवादी केन्द्रले घोडाघोडी, गौरिगंगा र मोहन्याल गाउँपालिकामा पनि दाबी गरिरहेको छ ।

तीन स्थानीय तहमा जसपाको दाबी

पाँच दलीय गठबन्धनभित्र असन्तुष्ट जनता समाजवादी पार्टी नेपालले कैलालीका तीन स्थानीय तहमा दाबी गरिरहेको छ । प्रदेश सरकार पुनर्गठन हुँदा आफ्नो पार्टीलाई सहभागी नगराइएको भन्दै जसपा नेपालले गठबन्धनभित्र असन्तुष्टि व्यक्त गर्दै आएको छ । स्थानीय तहको आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई तीन वटा स्थानीय तहको प्रमुख पद दिनुपर्ने जसपा नेपालको माग छ ।

जसपाले कैलालीको जानकी गाउँपालिका, जोशीपुर र भजनी नगरपालिकामा प्रमुख पद दाबी गरिरहेको छ । जसपाले थारु बाहुल्य क्षेत्र रहेको स्थानीय तहमा नेतृत्वको दाबी गरेको हो । गठबन्धन जोगाउने पक्षमा आफूहरु पनि रहेको तर आफ्ना मागलाई पनि सुनुवाई गर्नुपर्ने जसपा नेपालका जिल्लास्तरका नेता बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप