अहङ्कारबाट जोगिने तरिका

person explore access_timeबैशाख १, २०७९ chat_bubble_outline0

मानव जीवनमा ६ वटा प्राकृतिक गुण हुन्छन्, जसलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य भनिन्छ । केही दर्शन तथा दार्शनिकहरूले खासगरी वैदिक दर्शनले तिनलाई शत्रु भनेको छ तर ती आफैँमा शत्रु भने होइनन् । हो, प्रयोग गर्न नजान्दा भने नोक्सान गर्न सक्छन् । यसैका आधारमा शत्रु भन्ने हो भने त आगोलाई पनि शत्रु भन्नुपर्ने हुन्छ, पानीलाई पनि शत्रु मान्नुपर्ने हुन्छ ।


दूध, दही, घ्यू यहाँसम्म कि अमृतकै दाना भेटिए पनि शत्रु बन्न सक्छन् । प्रयोग गर्न नजाने ती कसैले पनि फाइदा गर्दैनन् । एउटै चक्कुले कसैको  जीवन लिन सक्छ भने कसैलाई जीवन दिन सक्छ भने त्यसलाई के भन्ने ? शत्रु भन्ने कि मित्र ? जहाँको पनि र जुन चीजको पनि अवस्था त्यस्तै हो ।



वास्तवमा उल्लिखित प्राकृतिक गुण जीवन ऊर्जा हुन्, जीवन ऊर्जा बनेर रहेका हुन्छन् । जिउन सबै आवश्यक पर्छन् । आ–आफ्नो स्थानमा सबैको महत्व उत्तिकै छ । यी विना जीवन सञ्चालन गर्नै सकिन्न, जीवनले न अस्तित्व बोध गर्न सक्छ न गराउन । यसै अर्थमा प्रकृतिले जन्मदा सँगै दिएर पठाएको हुन्छ भने जीवनभर अभिन्न अङ्ग बनेर रहन वाध्य गराएको हुन्छ । यिनै गुणमध्ये यहाँ मद ऊर्जाका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।



मदको सोझो अर्थ हुन्छ घमण्ड वा अहङ्कार तर यसको अर्थ त्यतिमा मात्र सीमित भने छैन । स्वभाव, स्वरूप, अहम्, स्वत्व सबै यसैभित्र पर्छन् । बालकमा हुन्छ, वृद्धमा हुन्छ । युवकमा हुन्छ, युवतीमा हुन्छ । त्यति मात्र होइन पशुपक्षी, कीरा कमिला, रुख बिरुवा, वनस्पति लगायत जड, चेतन, स्थावर, जङ्गम सबैमा हुन्छ । हो, देश, काल र परिस्थिति अनुसार दृष्य, अदृष्य, प्रत्यक्ष, अप्रत्यक्ष भने हुन पुग्छन् तर हुन्छन् सबैमा ।  

प्रायः के भन्ने गरिएको सुनिन्छ भने मद अर्थात् घमन्ड र अहङ्कार दुर्गुण हो, गर्नुहुँदैन । अन्यथा सर्वनाशको बाटो खोज्न टाडा जानुपर्दैन तर यी भन्ने, सुन्ने कुरा मात्र हुन् । भन्ने, सुन्ने भइरहन्छ, भइरहेको छ, भइरहनेछ तर यथार्थ के हो भने नगरी कोही पनि बस्नै सक्दैनन् । जो बिना कसैको अस्तित्व नै सिद्ध हुँदैन भने  नगरी बस्ने नै कसरी ? त्यसैले अहङ्कारी नहुनुस् भन्ने होइन । हुनुस् भन्ने हो, बढी नै हुनुस् भन्ने हो तर सिधै होइन रूपान्तरणको तरिकाबाट । प्रश्न उठ्न सक्छ रूपान्तरण गर्ने त गर्ने तर कसरी ? उत्तर सहज छ ।

अहङ्कार आफ्नै लागि प्रदर्शन गर्नु सिधा प्रयोग हो । अरूका लागि प्रस्तुत गर्नु रूपान्तरण हो । हामी यसै पनि अहङ्कारी नै छौँ । अहङ्कारबाटै आएका हौँ । हाम्रा स्रोत अहङ्कार हुन्, जसलाई कसैले प्रधान भनेका छन् कसैले महत्, जुन चराचर जगत्को आधारशिला बनेर रहेको छ । त्यसैले आफ्ना लागि प्रयोग गर्नै पर्दैन । आफैँ भइरहेको हुन्छ, नगरौँभन्दा पनि हुन पुगिरहेको हुन्छ । अरूका निम्ति प्रदर्शन गर्ने हो ।

सबैमा तपार्ईँ एक्लो हुनुहुन्न, साथमा हामी पनि छौँ भन्ने भाव प्रस्तुत गर्नुस् । जे बोल्नुहुन्छ, त्यही गर्नुस् । राख्ने र फार्ने नगर्नुस् । यही नै अहङ्कार रूपान्तरणको सरल सूत्र हो । यसले अरूलाई जति फाइदा गर्छ त्योभन्दा बढी फाइदा तपाईँलाई हुन्छ । पहिले तपाईँ आफू असल मानिस बन्ने कि खराब भन्ने निधो गर्नुस् । त्यो पनि आफ्नो नजरमा होइन अरूको नजरमा । आफू राम्रो सबैले भनेका हुन्छन् । त्यसको कुनै अर्थ छैन । राम्रो हुन अरूले भनिदिनुपर्छ । यही हो रूपान्तरणको विशेषता । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।