शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लडे आयोगले एमाले उम्मेदवारको रुपमा रेकर्ड राख्ने

बिहीबार, ०१ वैशाख २०७९, १४ : ४७
बिहीबार, ०१ वैशाख २०७९

वर्ष २०७८ को अन्तिम दिन प्रमुख प्रतिपक्षी दल एमाले र कमल थापाको पार्टी राप्रपा नेपालले चुनावी तालमेलको ५ बुँदे सहमति गरे । आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि संसदको सबैभन्दा ठूलो दल र भर्खरै पुनर्गठन भएको पार्टीबीच चुनावी तालमेल भएको हो ।  

दुई दलको सहमति अनुसार देशभर तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएको पालिकामा एक अर्कालाई सघाउने, राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने  र निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आवद्ध रहने भनिएको छ । 

तर राप्रपाले चाहेजस्तो सूर्य चिन्हमा चुनाव लडेर जितेपछि पनि राप्रपा नेपालको जनप्रतिनिधि हुने चाहना भने पूरा नहुने देखिएको छ । आयोगले जुन दलको चुनाव चिन्हमा उम्मेदवारले आफ्नो उम्मेदवारी दिन्छन्, सो व्यक्तिलाई सोही चुनाव चिन्ह रहेको दलको ब्यक्तिको रुपमा चिन्ने जनाएको छ ।  

जुन पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार निर्वाचित हुन्छन्, आयोगले सोही पार्टीको जनप्रतिनिधिको रुपमा रेकर्ड राख्ने आयोगको कानून तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । यदि कमल थापाको पार्टीका उम्मेदवारले सूर्य चिन्हमा चुनाव जितेमा आयोगको रेकर्डमा उनीहरु एमालेका प्रतिनिधिको रुपमा अभिलेख हुने उनले बताए ।  

​उनले भने, ‘चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने बेलामा नै हामी दुई वा दुईभन्दा बढी दलहरु मिली चुनाव लड्छौँ भनेर आयोगमा आउनुपथ्र्यो । त्यतिबेला त्यसरी कोही पनि आएको छैन । पछि कुनै पार्टीको उम्मेदवारले अर्कै पार्टीको चिन्हबाट चुनाव लड्छ भने जुन दलको चिन्हबाट लड्छ, निर्वाचित भएपछि त्यही दलको रुपमा चिनिन्छ । अर्को पार्टीको चिन्हमा चुनाव लड्न नपाउने भन्ने कानुनी प्रावधान भने छैन ।’ 

यसअघि तराई केन्द्रीत दलबाट राजनीति गरेर पछि स्वतन्त्र समूह बनाएका हृदयेश त्रिपाठीले सूर्य चिन्हबाट उम्मेदवारी दिई प्रतिनिधि सभाको सांसद भएका थिए । आयोगले उनलाई एमाले सांसदको रुपमा अभिलेख राखेको  थियो ।
सहसचिव भट्टराईले भने, ‘कुन चुनाव चिन्हबाट चुनाव लडेका छन्, त्यही पार्टीको उम्मेदवार भनेर आयोगले बुझ्छ । हामीले हेर्ने भनेको चुनाव चिन्ह हो । यदि राप्रपाका उम्मेदवारले सूर्य चिन्हमा उम्मेदवारी दर्ता गरे भने उनीहरु एमाले पार्टीका रुपमा चिनिन्छन् । एमालेको चिन्ह लिएर उठेका उम्मेदवारलाई कसरी राप्रपाको उम्मेदवार भनेर चिन्ने ? कानुनी रुपमा सूर्य चिन्ह एमालेको भएकोले त्यो चिन्ह लिएर जो उम्मेदवार उठ्छ, त्यो एमालेको उम्मेदवार भनेर कानुनी रुपमा चिनिन्छ ।’

अहिले सूर्य चिन्हमा लडेर पछि हामी राप्रपाको हौँ भन्न पाउने अवस्था कानुनी रुपमा नहुने उनको भनाइ छ । जुन चुनाव चिन्हबाट व्यक्ति निर्वाचित भएको हुन्छ, त्यसलाई सोही दलले आवश्यक परेको खण्डमा कारवाही गर्नसक्ने समेत व्यवस्था रहेको छ । राप्रपासँग जस्तै सहमति एमालेले नेपाल परिवार दलसँग पनि गरेको छ । परिवार दलका कोही एमालेको सूर्य चिह्नबाट चुनाव लडेर विजयी भएमा उनीहरु पनि एमालेकै जनप्रतिनिधिका रुपमा आयोगको रेकर्डमा जनिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप