सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्ष २०७८ पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष, अभिव्यक्ति स्वतन्त्रता हननका  ७४ वटा घटना

बिहीबार, ०१ वैशाख २०७९, १४ : ०५
बिहीबार, ०१ वैशाख २०७९

नेपाल पत्रकार महासंघले विक्रम संवत् २०७८ साल नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ ।  श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन नसकेको महासंघको भनाइ छ ।

महासंघका महासचिव रोशन पुरीले बिहीबार जारी गरेको विज्ञप्तिमा २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का  ७४ वटा घटना अभिलेखीकरण भएको उल्लेख गरिएको छ ।  ‘पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्व्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन्’, उनको विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । २०७७ सालमा ५ सय १७ जना पत्रकारको श्रम समस्या रहेकामा २०७८ सालमा २ सय २१ वटा श्रम समस्या महासंघ अभिलेखीकरण भएका छन् । २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३ सय जना पत्रकारका समस्या समाधान भएका छन् ।’

महासंघको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन विरुद्ध ३३ वटा घटनाका बारेमा न्यायिक लडाइँ चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । त्यस्तै २०७८ सालमा संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेस विरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएको महासंघले जनाएको छ ।

‘संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको छ’, महासंघको ठहर छ, ‘अघिल्लो सरकारले जस्तै वर्तमान सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गैरकानुनी कामलाई निरन्तरता दिएको छ ।’

नेपाल सरकारकै संलग्नतामा उजुरी गरेर युएईमा कार्यरत एक पत्रकारलाई जेलमा हालिएको पनि महासंघले आरोप लगाएको छ ।  नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई उपयोग गर्न नदिनेगरी सरकारले विभिन्न प्रकारका कानुन ल्याउने प्रयास गरिरहेको महासंघको भनाइ छ ।

यस्तै कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएको पुरीले जानकारी दिएका छन् ।  त्यसमध्ये ०७८ सालमा १८ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका थिए । वर्ष २०७८ मा कोभिडको बहानामा देखाएर पत्रकारलाई  नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएको महासंघले औंल्याएको छ ।

नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फसेन्सरसिप लगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप