राणाकालीन भवनमा सञ्चालित विद्यालय जहाँ दिइन्छ व्यवहारिक शिक्षा
गौचरनस्थित महेन्द्र भवन उच्च माध्यमिक विद्यालयको अवस्था संकटग्रस्त बन्दै गएको छ । महेन्द्र शमशेर जबराको पुरानो निवासमा सञ्चालित यो विद्यालय भौतिक पूर्वाधार र संरचनाका हिसाबले पश्चिमा शैलीको भए पनि विद्यार्थी सङ्ख्या भने निकै न्यून छ ।
होस्टेलदेखि टिचर क्वाटरसम्म रहेको यस विद्यालयमा अहिले जम्मा २६७ विद्यार्थी अध्ययनरत छन् । उच्च माध्यमिक तहको अध्ययन अध्यापन भने केही वर्ष अघिदेखि नै बन्द भइसकेको छ । विद्यार्थी अभावका कारण स्कुल पनि जेनतेन चलिरहेको छ ।
‘२०१४ सालदेखि सञ्चालन भएको यो विद्यालयको पहिलो प्रिन्सिपल एलिजाबेथ फ्य्राङ्कलिन हुनुहुन्थ्यो । करिब दुई दशक अघिसम्म पनि यहाँ केवल छात्रालाई मात्र पढ्न दिइन्थ्यो,’ यही स्कुलबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेर अहिले प्रिन्सिपलको रूपमा कार्यरत पुष्पा बस्नेतले रातोपाटीलाई बताइन् ।
५० को दशकका सुरुवाती वर्षसम्म यो विद्यालयमा माध्यमिक तहसम्म करिब ११ सय विद्यार्थी हुने गर्थे । तर अहिले त्यो सङ्ख्यामा निकै कमी आइसकेको छ ।
यो विद्यालयले आफ्ना विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने गरेको छ । यसका लागि अहिले महेन्द्र भवन उच्च माध्यमिक विद्यालयले आफ्नो कुल २० रोपनी क्षेत्रफलको एउटा कुनामा विद्यार्थीलाई तरकारी खेती पनि सिकाइरहेको छ । त्यस्तै विज्ञानका विभिन्न परीक्षण पनि हुने गरेको छ । ‘इच्छुक विद्यार्थीले हप्ताका निश्चित दिन तोकेर शिक्षकको समन्वयमा विभिन्न परीक्षण गर्दै आएका छन् । स्कुल सकिएपछि उनीहरू घर जान्छन्, खाजा खाएर फर्किन्छन् र केही घण्टा किताबमा उल्लेख भएका र केही व्यवहारिक ज्ञानसँग सम्बन्धित परीक्षण गर्ने गर्छन्,’ प्रधानाध्यापक बस्नेतले बताइन् ।
राणा शासन अन्त्य भएको एक दशक नबित्दै युएमएनले सुरु गरेको यो विद्यालयमा २०१८ सालमा पहिलो पटक ३ जना विद्यार्थीले एसएलसी दिएका थिए । उनीहरू तीनै जना उत्तीर्ण भए ।
देशकै शैक्षिक अवस्था निकै कमजोर रहेको र छोरीलाई पढाउनुपर्छ भन्ने सोच नभएको समयमा पनि यो स्कुलबाट एसएलसी दिनेको सङ्ख्या हरेक वर्ष बढ्दै गयो ।
२०५५ सालसम्म आइपुग्दा यो विद्यालयबाट प्रत्येक वर्ष करिब १०० जनाले एसएलसी दिने गरेका थिए । तर पछिल्ला वर्ष यो सङ्ख्यामा ठुलो कमी आएको छ ।
‘त्यतिबेला अभिभावकले आफ्नो बालबालिकाका लागि के चाहेका हुन्छन् भन्ने कुरा व्यवस्थापन पक्षले बुझ्न नसक्नु कमजोरी हो कि जस्तो लाग्छ मलाई,’ प्रिन्सिपल बस्नेतले भनिन्, ‘अझ केही निजी विद्यालय खुल्न थालेपछि र यहाँको तुलनामा अन्यत्र बढी सुविधा र घर पायक विद्यालय भएका कारण पनि विद्यार्थीको सङ्ख्या घटेको हुन सक्छ ।’
२०६२ पछि मिसनरीले विद्यालय व्यवस्थापन छोडे यता यो विद्यालय सामुदायिक विद्यालयको रूपमा सञ्चालन हुँदै आएको छ । ‘सरकारले हामीलाई शिक्षक दरबन्दी पनि दिएको छैन । न कुनै सरकारी निकायबाट केही अनुदान पाएका छौँ,’ उनले भनिन्, ‘हाम्रो मासिक शुल्क पनि १५०० देखि ३००० सम्ममात्रै छ । त्यो पनि कक्षा अनुसार फरक हुन्छ ।’
विद्यार्थीबाट उठाएको शुल्कबाटै शिक्षकको तलब दिँदै आएको उनले बताइन् । ठुलो सङ्ख्यामा विद्यार्थीलाई पठन पाठन गराउन सक्ने क्षमता भए पनि विद्यार्थी सङ्ख्या कम रहेका कारण शिक्षकको सङ्ख्यामा पनि कटौती गरिएको उनको भनाइ छ ।
उनका अनुसार विद्यालयमा आवश्यक पर्ने सामग्री र जेहेन्दार विद्यार्थीका लागि प्रदान गरिने पुरस्कारहरू यसै विद्यालयका पूर्व विद्यार्थीको संगठनले व्यवस्थापन गर्दै आएको छ । पूर्व विद्यार्थीको संगठनले अहिले विद्यालयमा अध्ययन गर्दै आएका ३३ जना विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति दिँदै आएको छ भने समय समयमा प्रयोगशालामा आवश्यक पर्ने सामग्री पनि उपलब्ध गराउँदै आएको बस्नेतको भनाइ छ ।
‘विद्यालय भवन समय समयमा मर्मत गर्नुपर्छ, प्रविधिको विकास भएसँगै कम्प्युटर लगायतका वस्तुहरू समय समयमा परिवर्तन वा अपग्रेड गर्नुपर्छ, जुन हामीले गर्न सकेका छैनौँ,’ उनले भनिन्, ‘हाम्रो मुख्य भवन पनि भूकम्पका कारण क्षतिग्रस्त भएको छ तर पनि कसैको चासो पुग्न सकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार