आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सीके राउतलाई आफ्नै गाउँपालिकामा कठिन

लोसपा र जसपाबीच नै मुख्य प्रतिस्पर्धा, काँग्रेस र माओवादीको पनि दाबी
बिहीबार, ०१ वैशाख २०७९, ०७ : ०७
बिहीबार, ०१ वैशाख २०७९

सीके राउत नेतृत्वको जनमत पार्टी आसन्न स्थानीय तहको चुनावमा तामझामका साथ भाग लिने भएको छ । सोही अनुरुप जनमत पार्टीले चुनाव प्रचार प्रसारमा पनि अन्य दललाई पछि पारेको छ । अन्य दलले चुनावको तयारी नगर्दै जनमत पार्टीका कार्यकर्ताहरु चुनावी अभियान अन्तर्गत गाउँमा सक्रिय भइसकेका थिए ।

स्थानीय तह कब्जा गर्ने रणनीतिसहित चुनावी अभियानमा सक्रियतापूर्वक लागेका सीके राउतलाई आफ्नो गाउँपालिका महादेवामै कठिनाइ हुने देखिन्छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको घर सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर २ मा छ । तर उनकै गाउँमा उनको पार्टीको अवस्था नाजुक देखिएको छ ।

२०७४ सालको निर्वाचन परिणाम हेर्ने हो भने महादेवा गाउँपालिकामा तत्कालीन संघीय समाजवादी पार्टी अर्थात् अहिलेको जनता समाजवादी पार्टी नेपाल र तत्कालीन राजपा अर्थात् अहिलेको लोकतान्त्रिक समाजवादी पार्टीबीच नै मुख्य प्रतिस्पर्धा थियो । महादेवा गाउँपालिकामा १३ हजार ७३५ मतदाता रहेकोमा जसपाका दीपक यादवले अध्यक्ष पदमा तीन हजार ९१ मत ल्याएर विजयी भएका थिए । लोसपाका सुनिल मण्डलले दुईहजार ९६७ मत ल्याएका थिए ।

सो पालिकामा काँग्रेस तेस्रो स्थानमा रह्यो भने माओवादी केन्द्र चौथो स्थानमा थियो । महादेवाको ६ वटा वडामध्ये विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीले एउटा वडा जितेको थियो भने काँग्रेसले पनि एउटा मात्र वडा जितेको थियो । जसपा र लोसपाले दुई–दुईवटा वडा जितेका थिए । माओवादी केन्द्र र एमालेले भने कुनै वडा जित्न सकेका थिएनन् ।

विजयकुमार गच्छदारको पार्टीबाट एक नम्बर वडामा जितेका जयश्वर किशोर दास लोसपामा प्रवेश गरिसकेका छन् ।

महादेवा गाउँपालिकामा जसपा विभाजनको असर देखिएको छैन । जसपाबाट पूर्व राजपाका नेताहरु नै लोसपामा सामेल भएका हुन् । सो पालिकामा पनि पूर्व राजपाका नेता–कार्यकर्ता नै लोसपामा फर्केको महादेवा गाउँपालिकाका लोसपा अध्यक्ष सुनिल मण्डलले बताए । उनले भने, ‘जसपा विभाजनले दुवै पार्टीलाई कुनै फरक पारेको छैन ।’

सत्तारुढ गठबन्धनबीच यो पालिकामा पनि चुनावी तालमेल हुने चर्चा छ । पालिकामा जसपा नेपाल र नेपाली काँग्रेसको प्रभाव उल्लेखनीय रहेका कारण यी दुवै दलसहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको मत एउटै ठाउँमा आएको अवस्थामा गठबन्धनका उम्मेदवार अन्य दलका सामु भारी हुने अनुमान गरिएको छ ।

सीके राउतको गाउँ भए पनि यहाँ जनमत पार्टीको कुनै प्रभाव नरहेको लोसपाका जिल्ला अध्यक्ष मण्डल बताउँछन् । उनले भने, सीके राउतको गाउँ भएर के भो त ? वडामा पनि जित्ने अवस्था छैन । काँग्रेस, माओवादी र एमाले त्यत्रो ठूलो पार्टी भएर त उनीहरुको हालत खराब छ भने जनमत पार्टी उनीहरुभन्दा धेरै पछाडि छ ।’

सो गाउँपालिकाका जसपा अध्यक्ष जितनारायण यादव भने आफ्नो पार्टीको जनाधार बढेको दाबी गर्दछन् । आफ्नो पार्टीबाट पालिका अध्यक्षमै ९ जना आकांक्षी रहेको र ९ जनाकै नाम सिफारिस गरिएको जानकारी दिँदै उनले भने, ‘जनाधार बढेकै कारण त उम्मेदवारीका लागि आकांक्षीको संख्या पनि बढेको हो ।’

पालिकामा जनमत पार्टीको अवस्था निकै कमजोर रहेको उनले बताए ।

यो पालिकामा काँग्रेसको आफ्नै दाबी छ । गठबन्धन घटकबीच तालमेल भएको अवस्थामा पालिका अध्यक्ष पद जसपा नेपाललाई दिनुपर्ने अवस्था भएसँगै काँग्रेसका स्थानीय नेता–कार्यकर्ता भने काँग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने बताउँछन् । काँग्रेसका महादेवा गाउँपालिका सभापति लोकेन्द्र नायकले यो पालिकामा गठबन्धन भएमा काँग्रेसले विद्रोह गरेर एक्लै चुनाव लड्ने दाबी गरे ।

जसपाबाट मेयरमा निर्वाचित जितेका दीपक यादव काँग्रेसमा प्रवेश गर्न लागेका छन् । शुक्रबारसम्म उनी काँग्रेसमा प्रवेश गरिसक्ने बताउँदै सभापति नायकले जसपाका अरु थुप्रै नेता काँग्रेसमा प्रवेश गर्न लागेका कारण यसपटक जसपा तेस्रो स्थानमा सीमित हुने दाबी गरे ।

उनी पनि यो पालिका सीके राउतको गाउँ भए पनि राउत नेतृत्वको जनमत पार्टीको अवस्था नाजुक रहेको बताउँछन् । उनका अनुसार सीके राउत नेतृत्वको पार्टीले राउतकै घर भएको वडा नम्बर २ को अध्यक्षमा जित्यो भने त्यो नै ठुलो उपलब्धि हुन्छ ।

सो गाउँपालिकाका माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र यादवले मधेसवादी दलको बीचमा भएको विवादका कारण माओवादी केन्द्रले नै जित्ने सम्भावना प्रवल रहेको बताए । पाँच वर्षमा मधेसवादी दलको गतिविधि हेरेर जनता दिक्क भइसकेको भन्दै उनले जनताले विकल्प खोजिरहेको दाबी गरे ।

उनी पनि यो पालिकामा जनमत पार्टीको प्रभाव नरहेको बताउँछन् । सीके राउतकै घर भएका कारण वडा नम्बर २ मा केही प्रभाव देखिए पनि अन्यत्र खासै प्रभाव नदेखिएको उनले बताए ।

तर जनमत पार्टीका गाउँपालिका उपाध्यक्ष मिन्टर मुखियाले जसपा, लोसपा, काँग्रेस, माओवादी, एमालेलाई यहाँका जनताले पटक पटक भोगिसकेका कारण यसपटक जनमत पार्टीलाई जिताउने दाबी गर्दछन् । उनले भने, ‘हामी प्रत्येक जनताको घरमा पुगेका छौं, उहाँहरु यसपटक जनमत पार्टीको साथ रहने प्रतिवद्धता जनाइरहनु भएको छ ।’

जनमत पार्टीका अध्यक्ष सीके राउतको घर महादेवा–२ मा भए पनि उनी प्रायः जनकपुरमै बस्छन् । उनका आमाबुबा भने राजविराजमा बस्छन् । सीके राउतका एक भाइ झापामा छन् भने अर्को भाइ काठमाडौँमा छन् । महादेवास्थित सीके राउतको घरमा ताला लागेको छ । त्यसैले कतिपय स्थानीयवासी यो गाउँप्रति सीके राउतले नै चासो नराखेको पनि बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप