आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्ति सारियो मन्दिरमा

बुधबार, ३० चैत २०७८, २२ : २६
बुधबार, ३० चैत २०७८

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्राको पाँचौँ एवं अन्तिम दिन भव्य सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएको छ ।

पाँचौँ दिन आज रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ । रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँचदिने जात्रा आजैदेखि अन्त्य भएको समितिका संयोजक, काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष तथा सेतो मच्छिन्द्रनाथको पुजारी नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।

 प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ । जात्राको चौथो दिन मङ्गलबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । 

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहालमा ल्याएर चौंथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छिन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुने विधिअनुसार आजैदेखि जात्रा समापन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप