बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२०७८ फर्केर हेर्दा नेपाली कलाक्षेत्र : पल शाह ‘खलनायक’ बन्नेदेखि साउथको दबदबासम्म

पल, सपुत र दुर्गेशको अधिक चर्चा
बुधबार, ३० चैत २०७८, १५ : २८
बुधबार, ३० चैत २०७८

वर्ष २०७८ नेपाली मनोरञ्जन क्षेत्रका लागि लाभदायक सिद्ध हुन सकेन । कोरोनाले फिल्म निर्माण, छायाङ्कनमा मात्र असर गरेन, यसले गीतसंगीतको क्षेत्रमा पनि धक्का दियो । मेला, महोत्सवदेखि देश विदेशका स्टेज शो जस्ता मनोरञ्जनका गतिविधि समेत प्रभावित हुँदा गायक गायिकादेखि फिल्मी कलाकारसम्म आर्थिक चपेटामा परे । 

कोरोनाको तेस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ मा नेपाली फिल्मले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । नेपाली बक्स अफिसमा कोरोनाले डराएको दर्शकलाई हलसम्म फर्काउने काम बलिउड फिल्मले गर्‍यो । वर्षको सुरुमै ठप्प हुन पुगेको फिल्म क्षेत्र मध्यान्तरमा आएर चलायमान त बन्यो तर यसको फाइदा नेपाली फिल्मलाई भन्दा पनि विदेशी फिल्मलाई भयो । त्यसले नेपाली फिल्मले अस्तित्वको लडाइँ लड्नु पर्ने स्पष्ट बाटो देखाएको छ ।

गत असोजमा प्रदर्शनमा आएको फिल्म ‘डाँडाको वरपिपल’देखि वर्षको अन्तिम अर्थात् चैत्र २५ शुक्रबार प्रदर्शनमा आएको ‘मैले आइ लभ यू भन्न नै सकिन’सम्म आउँदा १३ वटा नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म ‘कठपुतली’ र ‘म यस्तो गीत गाउँछु’ ले लगानीको केही प्रतिसत सुरक्षित गर्न सके पनि अन्य फिल्मको लगानी बालुवामा पानी झैं भयो ।

प्रदर्शित ‘डाँडाको वरपिपल’, ‘धुम ४’, ‘ओभरडोज’ ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट–३’, ‘म यस्तो गीत गाउँछु–२’, ‘लप्पन छप्पन–२’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ यी १३ फिल्मले करोडौँ त डुबाए नै । फिल्मले कथा, निर्माण भेराइटी मार्फत् दर्शक आकर्षित गर्न नसक्नु अर्काे दुर्भाग्य रह्यो । फिल्म नचल्नुको कारण हलको शो र विदेशी फिल्म चर्चा गरिएपनि वास्तविकता भने मेकरको नियतमा थियो । उनीहरूको नसुध्रिएको फिल्म निर्माण शैली, कथा बुन्ने तौरतरिका र दर्शक झुक्याउने प्रचार विगतका वर्ष झैं थिए । 

यी १३ फिल्मले करिब ६ देखि ७ करोड डुबाएको निर्माता तथा वितरक गोपाल कायस्थ बताउँछन् । यी सबै प्रदर्शित फिल्मले करिब २ करोड माथि मात्र बक्स अफिस कलेक्सन गर्न सकेको उनको भनाई छ । यो भीडमा ‘कठपुतली’ र ‘चिसो एस्ट्रे’ का मेकरले केही आस देखाउने प्रयत्न भने गरे । तर त्यसमा ह्युमरस मिसाउन नसक्दा प्रयत्न असफल भयो ।

प्रदर्शनमा १३ फिल्म आएपनि चलचित्र विकास बोर्डको प्रदर्शनका लागि लिएको सेन्सर अनुमति तथ्याङ्कले भने २६ फिल्म देखाउँछ । सेन्सर सिफारिसका आधारमा सबै फिल्म रिलिज भएका मान्न नमिल्ने बोर्ड अध्यक्ष दयाराम दाहाल बताउँछन् । सेन्सर गरेर पनि विभिन्न कारणले फिल्म रिलिज नभएका कारण पनि प्रदर्शन फिल्म र सेन्सर सिफारिमा मेल नभएको दाहालको भनाई छ ।

साउथ फिल्मको दबदबा

अघिल्लो वर्ष झैं वर्ष २०७८ मा पनि विदेशी फिल्मको दबदबा नेपाली बक्स अफिसमा रह्यो । नेपाली फिल्मले ‘पानी’ भन्न नपाएको अवस्थामा पनि विदेशी फिल्मले राम्रो दर्शक पाइरहे । यो वर्ष बक्स अफिसमा हल्लाखल्ला मच्चाउन सफल फिल्म भने साउथका (दक्षिण भारतीय) ‘पुष्पा’, ‘आरआरआर’ र हलिउडको ‘स्पाइडरम्यान’ रह्यो ।

‘पुष्पा’ को व्यवसायलाई नेपाली फिल्मकर्मीले पनि सकारात्मक लिए । कोरोनापछि हलमा जान डराइरहेका दर्शक फिल्मले फर्काएको  चर्चा गरियो । दुई साता अगाडि प्रदर्शनमा आएको ‘आरआरआर’ ले अहिले समेत बक्स अफिसमा तहल्का पिटिरहेको छ । नेपाली युवा दर्शकहरुको मनमा ‘आरआरआर’का कलाकारहरु जुनियर एनटीआर, रामशरण तेजा, आलिया भट्टले राज गरिरहेका छन् ।  

यी बाहेक ‘सूर्यवंशी’, ‘सत्यमे जयते’, ‘अन्तिम’, ‘खेलाडी’, ‘गंगुवाई कठियावाडी’, ‘द कश्मिर फाइल्स’, ‘बच्चन पाण्डे’, ‘राधेश्याम’ लगायत बलिउड फिल्मले बजार तताए । वितरक मनोज राठीका अनुसार ‘पुष्पा’ र ‘आरआरआर’ ले नेपाली बक्स अफिसमा पनि राम्रो कलेक्सन गरे । ‘साउथका फिल्मले नेपाली बक्सअफिस चलायमान बनाए,’ राठी भन्छन्, ‘विदेशी फिल्मले हेप्यो र थिचो भन्ने गुनासो गरेर काम छैन । नेपाली फिल्मको कन्टेन्ट नै बलियो बन्दैन ।’

फिल्म निर्माणमा उत्साह

ब्यावसायका हिसावले करिब सुन्यको अवस्थामा रहेको फिल्म क्षेत्र निर्माणको हिसावले भने यो वर्ष राम्रै देखिएको मान्नु पर्छ । यो वर्ष ‘ठगराज’, ‘वर एण्ड वधु’ लगायत थुप्रै फिल्म घोषणा भएका छन् भने ‘परस्त्री’, ‘सरी मम’ ‘तिमी कसको’, ‘म’ लगातका थुप्रै फिल्म छायांकनका लागि फ्लोरमा निस्किएर निर्माणमा छन् । 

आर्थिक वर्ष २०७७/७८ मा मात्र चलचित्र विकास बोर्डबाट प्रपन्च, बुलाकी, इगो, गुन्डा, महानायक, हाम्रो स्वर्ग लगायत ८० फिल्मले निर्माण अनुमति लिएको देखिन्छ । गत वर्ष ७९ फिल्मले निर्माण अनुमति लिएका थिए । संख्याका हिसावले पनि यो वर्ष फिल्म निर्माण एउटा भए पनि बढी देखिन्छ । त्यसो त अनुमति लिएको सबै फिल्म निर्माण हुँदैछ भनेर मान्न नहुने विकास बोर्ड अध्यक्ष दयाराम दाहाल बताउँछन् । निर्माण अनुमति रेकर्डले भने फिल्म निर्माणमा उत्साह थपेको उनको भनाई छ ।

मौलायो गीतसंगीत

कोरोना महामारीले फिल्म क्षेत्र र मनोरञ्जन गतिविधि मेला महोत्सव, देश विदेशका सांगीतिक कार्यक्रम प्रभावित भएपनि वर्ष २०७८ मा गीतसंगीत क्षेत्र भने मौलाएको देखिन्छ । डिजिटल प्लेटफर्म युट्युवबाट हराएकादेखि नयाँ गायक गायिका तथा स्रष्टाले समेत कोरोना महामारीको समयको सदुपयोग गर्दै गीतसंगीत उत्पादनमा लगाए ।  जसका कारण ५ देखि एक दर्जन हाराहारीका नयाँ गीतसंगीत नेपाली सांगीतिक बजारमा दैनिक भित्रिए । कोरोनाको कारण आर्थिक संकटमा रहेका कलाकारदेखि प्राविधिकसम्मलाई गीतसंगीत आम्दानीको राम्रो बाटो बन्यो ।

नेपाली सांगीतिक बजारमा लोक, आधुनिकदेखि र्याप सम्मका गीतले बजार तताए । फिल्मका गीतसंगीत समेत प्राथामिकतामा परे । टिकटक, युट्युव, टिभी रियालटी शो लगायतले गीतसंगीतलाई चर्चा दिलाउने माध्यम बने । गीतसंगीतकै माध्यमबाट १०८ विश्व रेकर्ड समेत बन्यो ।

विगतको बर्षमा भन्दा यो वर्ष गीतसंगीतको उत्पादनमा बढी भएको संख्यात्मक उपस्थितिले पनि देखाउछ । ‘कोरोनाको कारण यो क्षेत्रको मात्र होइन, अन्य क्षेत्रबाट फुर्सद भएका पनि सिर्जनात्मक काममा लागे,’ संगीतकार सन्तोष श्रेष्ठ भन्छन्, ‘सबै खालका मानिस गीतसंगीत उत्पादनमा लागेको पनि देखियो ।’ गीतसंगीत उत्पादनमा बृद्धि भए पनि मौलिकताको सवालमा भने खडेरी नै देखिन्छ ।

पल, सुपत र दुर्गेशको अधिक चर्चा

अक्सर नेपाली कला क्षेत्रका ब्यक्ति प्रेम र सम्बन्धको गसिपले चर्चामा छाउँछन् । २०७८ मा पनि कलाकारको प्रेम, सम्बन्ध र काम नै चर्चाको बिषय बनिरह्यो । फिल्म क्षेत्रका महानायक राजेश हमाल, एक्सन स्टार निखिल उप्रेती, मेघास्टार अनमोल केसी, सुपरस्टार प्रदीप खड्का गुमनाम जस्तै रहे । सबैभन्दा बढी मिडियामा अभिनेता पल शाह, गायिका समिक्षा अधिकारी, गायक दुर्गेश थापा, प्रकाश सपुत, अभिनेत्री बर्षा शिवाकोटी, नम्रता श्रेष्ठ, पूजा शर्मा लगायत छाए । 

वर्षको सुरुवातसँगै म्युजिक भिडियोको सबैभन्दा ब्यस्त नायकको रुपमा चिनिएका पल वर्षको करिब अन्त्यतिर खलनायकको रुपमा देखा परे । म्युजिक भिडियोको आम्दानीले मिडियामा निरन्तर छाइरहेका उनी नाबालिका बलात्कार काण्डमा कारागार समेत पुगे । कलाक्षेत्रकै वदनाम झैं देखिएको यो घटना वर्ष भरिकै ठुलो चर्चित घटनाको रुपमा आयो ।

त्यस्तै गायक दुर्गेश थापा पनि बर्षभरि मिडिया छाइरहे । पल प्रकरणमा समेत मुछिएका थापाको ‘पैसा’ र ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ गीत विवादका वीच चर्चाको कारण बन्यो । गीतका कारण उनी लोकदोहोरी गीत प्रतिष्ठानको बहिष्कारमा समेत परे । गीतकै कारण गायक प्रकाश सपुतले पनि राम्रो चर्चा बटुले । सपुतले ल्याएको ‘पीर’ गीतको विवाद चर्चाको बिषय बन्यो । विवादित गीतले राम्रो आम्दानी गरेपछि उनले गीत सच्याएर विवादको बिट मारे ।

अभिनेत्री बर्षा शिवाकोटी पनि केही न केही कारणले बर्षभरि चर्चामा रहिरहिन् । अभिनेता राज कटुवालसँगको प्रेम, रजतपट कार्यक्रमसँगको विवाद र हरियो रङको स्वीमसुट तस्विर लगायत गसिप उनको चर्चाको कारण बन्यो । उनको बिकनी तस्विरमा नकारात्मक कमेन्टको बर्षा नै भयो ।

अभिनेत्री नम्रता सापकोटा विवाह नगरी आमा बन्ने अभिव्यक्तिको कारण चर्चाको बिषय बनिन् भने अर्की अभिनेत्री पूजा फिल्म चलाउन रोएको र पल शाहबाट पीडित नावालिका गायिकालाई गाली गरेको कारण मिडियादेखि सर्वसाधारणसम्मको निशानामा परिन् ।

दुई संगीतकार महेश खड्का र वसन्त सापकोटा गीत चोरी विवाद तथा गायिका रचना रिमाल समेत अञ्जु पन्तको पुरानो गीत ‘नबिर्से तिमीलाई’ नयाँ भर्सनका गाएका कारण चर्चाको बिषय बने ।

राजनीतिमा कलाकार

वर्ष २०७८ राजनीतिका कारणले पनि कलाकार मिडियामा  छाए । करिश्मा मानन्धर, रेखा थापा, कोमल ओली पार्टीमा प्रवेशदेखि पार्टीभित्रका गतिविधिका कारण हट केक बने । उता बालेन शाह, भुवन केसी, मिस नेवा ः सुनिता डंगोलदेखि महानायक राजेश हमालसम्मको चर्चा काठमाडौं महानगरको मेयर बन्ने बिषय बन्यो ।

केही समय राजनीतिबाट बिश्राम लिएकी अभिनेत्री करिश्मा नेकपा एमाले प्रवेश गरिन् । रेखाको भने राप्रपाको महामन्त्री उमेद्वारदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारीले चर्चामा ल्यायो । राष्ट्रिय सभा सदस्यको पद गए पनि कोमल ओली  एमालेमा केन्द्रीय सदस्य बनेर चर्चामा छाइरहिन् ।

र्यापर बालेन शाहले सामाजिक संजाल मार्फत् काठमाडौंको महानगरको मेयर उठ्दै राजनीतिमा आउने घोषणा गरे । उनी अहिले महानगरको मेयर उठ्ने तयारी समेत गरिरहेका छन् । त्यस्तै अभिनेता भुवन केसी र मिस नेःवा सुनिता डंगाोल पनि राजनीतिमा जोडिए । भुवन बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीले चुनाव चिन्ह खुला किताब मार्फत काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउन लागेको कारण राजनीतिमा जोडिए भने सुनिताले आफै मेयर उठ्ने घोषणा गर्दै राजनीतिमा जोडिइन् । राजेश हमालले भने आफ्नो अफिसियल युट्युव च्यानलबाट महानगरको मेयर बन्ने आकांक्षा राखेका थिए । तर कलाकारहरुले राजनीतिमा छलाङ मार्ने वातावरण भने देखिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप