शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बझाङका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

बुधबार, ३० चैत २०७८, १४ : ३०
बुधबार, ३० चैत २०७८

बझाङ छबिसपाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिसपाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेको छ ।

काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूको जमघट छ । यो अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा (भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्तको हालखबर बुझ्ने र स्थानीय परिकार बाडिचुडी खाने गरिन्छ । तर यस बर्ष भने परिस्थिती केही फेरिएको छ । एक महिनापछि हुन लागेको स्थानीय तह निर्वाचनको माहोल मेला पर्वमा देखिएको छ । दुई चार जना जम्मा हुने बित्तिकै चुनावकै बारेमा कुरा हुन थाल्छ । 

चुनावको अधिकांश विषय तालमेलकै वरिपरि हुने गरेको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दलले गठबन्धन गर्ने प्रक्रिया बढाएका बेला छबिसपाथिभेरा गाउँपालिकाका मतदाता भने गठबन्धनको विपक्षमा उभिएका छन् ।

गठबन्धन गरेर जाँदा पाँच वर्ष नपुग्दै राजनीतिक खिचातानी हुने उनीहरूको बुझाइ छ । गठबन्धन गर्दा  राजनीतिक खिचातानी बढ्न सक्ने भन्दै दलहरूलाई एक्लाएक्लै निर्वाचनमा आउन आग्रह गरिरहेका छन् ।

‘माओवादी र एमालेले गठबन्धन गरी दुई तिहाइ नजिकको मत ल्याएकै हुन्,’ छबिसपाथिभेरा गाउँपालिका-५ का विष्णु सिंहले भने, ‘तर दुई दलको स्वार्थ नमिल्दा उनीहरू बीचैमा फुटे । अहिले सारा देशले दुःख पाएको छ । फेरि गठबन्धन गर्दा त्यही अवस्था आउन सक्छ । त्यसैले एक्लै चुनाव लड्नु पर्छ ।’

गठबन्धन गरेर चुनाव लड्न आउने उम्मेदवारलाई भोट नदिइने उनी बताउँछन् । उनले छबिसका मतदाता गठबन्धनको विपक्षमा रहेको पनि बताए ।  ‘दलहरूले छुट्टाछुट्टै रुपमा उम्मेदवार चयन गर्दै चुनावमा पठाए सक्षम र योग्य उम्मेदवारलाई जिताउने मनसाय यहाँका मतदाताको देखिन्छ,’ उनले भने, ‘तर गठबन्धनलाई कसैले राम्रो मानेका छैनन्, दलहरूले मतदाताको भावना बुझ्नु जरुरी छ ।’

छबिसपाथीभेरा गाउँपालिका–३ का चेतराज जोशीले पनि गठबन्धन गरेर भोटका लागि नआउन उम्मेदवारलाई आग्रह गरेका छन् । ‘गाउँका सबै गठबन्धनको विपक्षमा देखिन्छन्,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ता पनि गठबन्धन भए भोट हाल्दैनौं भन्न थालेका छन्, त्यसैले सबै दलले आ(आफ्ना उम्मेदवार पठाउनु राम्रो हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप