शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको गढ रोल्पामा सत्तारुढ गठबन्धनबीच कसरी होला तालमेल ?

एमालेको रणनीति यस्तो
बुधबार, ३० चैत २०७८, १२ : ५२
बुधबार, ३० चैत २०७८

रोल्पामा जिल्ला नेकपा माओवादी केन्द्रको उद्गमस्थल मानिन्छ । विगतमा रोल्पा नगरपालिकासहित जिल्लाका ७ वटा स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व हासिल गरेको छ । आसन्न निर्वाचनमा भने सत्तारुढ गठबन्धनबीच तालमेल हुने भएको छ । माओवादी केन्द्रले आफ्नो आधार क्षेत्रमा गठबन्धन घटकसँग कसरी तालमेल गर्दैछ भन्नेबारे आमचासो छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले रोल्पाका दुई स्थानीय तहमा जित हासिल गरेको थियो । एउटा स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो । अहिले माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच केन्द्रमा गठबन्धन बनेको छ । सो गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा नेकपा एमालेलाई रोल्पामा निकै कठिन परिस्थिति निर्माण हुने आकलन गरिएको छ । विगतमा जिल्लाको दुई वटा स्थानीय तह जितेको एमालेले सत्तारुढ पाँच दल एकजुट भएको अवस्थामा कसरी आफ्नो साख जोगाउन सक्ला भन्ने पनि चासोकै विषय बनेको छ ।

अर्कोतिर गठबन्धनभित्र पनि अझैसम्म तालमेलको प्रस्ट खाका बनिसकेको छैन । जिल्लामा अन्य दलको तुलनामा माओवादी केन्द्र निकै बलियो मानिन्छ । त्यसैले माओवादी केन्द्रले विगतमै एकाधिकार जमाएका पालिकालाई गठबन्धनको नाममा गुमाउन पक्कै चाहेको छैन । अघिल्लो चुनावमा एउटा स्थानीय तह जितेको नेपाली काँग्रेसले गठबन्धनको भरमा थप स्थानीय तह जित्न प्रयास गर्नेछ । अघिल्लो निर्वाचनमा एमालेले जितेका स्थानीय तहमा गठबन्धनबीच नेतृत्वको भागबण्डा हुन सक्ने आकलन पनि गरिएको छ ।

अघिल्लो चुनावमा माओवादी र काँग्रेसले एक्लो प्रयासमा जितेका स्थानमा गठबन्धन नगरी फेरि पनि स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने र एमालेले जितेका पालिकामा मात्र गठबन्धन गर्नेबारे छलफल भइरहेको गठबन्धनमा आवद्ध स्रोतले जनाएको छ ।

यसैबीच लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले गठबन्धनभित्र जित्ने अवस्था ल्याउनका लागि छलफल भइरहेको बताए । उनले कुन पालिकामा कसरी गठबन्धन गर्ने र कहाँ कसले दाबी गर्ने भन्नेबारे प्रस्ट हुन बाँकी नै रहेको रातोपाटीलाई बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति किशोर आचार्यले जिल्लाका १० स्थानीय तहमध्ये आधा स्थानीय तहको नेतृत्वमा नेपाली काँग्रेसले दाबी गर्ने बताए । उनले एक्लै लडे पनि ५ वटा स्थानीय तहमा नेपाली काँग्रेसले जित्ने दाबीसमेत गरे । आफूले जित्नसक्ने स्थानीय तहमा गठबन्धनका नाममा अर्को दललाई नेतृत्व सुम्पिन नसकिने प्रस्ट पार्दै उनले त्यस्तो अवस्थामा गठबन्धन घटकबीच स्वच्छ प्रतिस्पर्धा गर्ने गरी सहमति खोज्न सकिने बताए । तर यस विषयमा गठबन्धनभित्र छलफल नभएको उनको भनाइ छ ।

रोल्पामा गठबन्धन घटकमा रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा तुलनात्मक रूपमा कमजोर मानिन्छन् । तर गठबन्धन दलहरूले केन्द्रको नीति ती दललाई पनि समेटेर लैजानु पर्ने हुन्छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीले त्रिवेणी, गंगादेव लगातयका गाउँपालिकामा आफ्नो पार्टीको संगठन बलियो भएको बताए । सोही आधारमा गठबन्धनबीच चुनावी तालमेल हुने भन्दै उनले कुन तह कसलाई दिने भन्नेबारे अहिलेसम्म छलफल नभएको बताए ।

एमालेको रणनीति

२०७४ सालको स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने रोल्पामा माओवादी केन्द्र पहिलो र नेकपा एमाले दोस्रो राजनीतिक शक्ति बनेको छ । यद्यपि अहिले नेकपा एमाले विभाजन भइसकेको छ । त्यसको असर जिल्लाका केही स्थानीय तहमा स्वाभाविक रूपमा पर्ने देखिएको छ । गंगादेव, माडी लगायतका पालिकामा एमाले विभाजनको असर देखिएको छ । ती पालिकामा नेकपा एकीकृत समाजवादीले एमालेको केही मत काट्ने निश्चित छ ।

अर्कोतिर सत्तारुढ गठबन्धनबीच तालमेल भएमा एमालेलाई जित्न लागि थप जटिल हुने छ । एमाले जिल्ला अध्यक्ष बलराम बुढाले पनि गठबन्धन हुँदा एमालेलाई प्रतिकुल हुने भए पनि विगतमा आफूले जितेका पालिकालाई जोगाउन प्रयास गरिने बताए ।

एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा त्रिवेणी गाउँपालिका र  रुन्टीगढी गाउँपालिकामा जितेको थियो । गठबन्धन घटकबीच तालमेल नहुने हो भने एमालेले थप दुई पालिकामा जित्ने अवस्था रहेको उनले बताए ।

एमालेले स्थानीय तहको आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच रोल्पामा तालमेल नहोस् भन्ने चाहेको छ । गठबन्धन घटकका प्रमुख दलहरू काँग्रेसले आधाजसो पालिकामा आफूले जित्ने दाबी गरिरहेको र माओवादी केन्द्रले पनि विगतमा अधिकांश पालिका आफूले जितेको दाबी गर्दै अहिले पनि ती पालिकाको नेतृत्व आफूले नै पाउनुपर्ने दाबी गरिरहेको अवस्थामा गठबन्धनबीच खटपट भएमा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने परिस्थिति निर्माण हुन सक्ने एमालेको आकलन छ । त्यसो भएमा केही पालिकामा आफूले जित हासिल गर्न सक्ने एमालेको ठहर छ ।

२०७४ सालको निर्वाचनमा कुन पालिकामा कसको कति मत ?

१. त्रिवेणी गाउँपालिका– एमाले (३३३३), माओवादी केन्द्र (३११२), काँग्रेस (९८४)

२. थवाङ गाउँपालिका– माओवादी केन्द्र (१९९०), काँग्रेस (९६५), एमाले (१२०)

३. दुईखोली गाउँपालिका– माओवादी केन्द्र (४६०८), काँग्रेस (१९८९), एमाले (६५९)

४. माडी गाउँपालिका– माओवादी केन्द्र (३१८२), काँग्रेस (२६२१)

५. रुन्टीगढी गाउँपालिका– एमाले (३४०२), काँग्रेस (३२७९), माओवादी (३१०८)

६. लुङग्री गाउँपालिका– काँग्रेस (३१२५), माओवादी (२९१०), राप्रपा (१०११), एमाले (७०९)

७. सुकीदह गाउँपालिका– माओवादी केन्द्र (२४१४), एमाले (२२९०), काँग्रेस (२२६१)

८. सुनछहरी गाउँपालिका– माओवादी (२५६१), काँग्रेस (११३६), एमाले (९४७)

९. सुवार्णवती गाउँपालिका– माओवादी केन्द्र (४१५५), काँग्रेस (३०६०), एमाले (१०१९)

१०. रोल्पा नगरपालिका– माओवादी केन्द्र (५६३४), काँग्रेस (३८२७), एमाले (४७८)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप