सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थ खपत कति घट्छ ?

बुधबार, ३० चैत २०७८, १२ : ३८
बुधबार, ३० चैत २०७८

बढ्दो इन्धन खपत घटाएर पेट्रोलियम पदार्थ आयात पनि न्यून गर्नतर्फ सरकारले ध्यान केन्द्रित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ खपत घटाउनतर्फ सरकारको ध्यान केन्द्रित बनेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिइसकेका छन् ।

इन्धन खपत घटाउन सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउने तथा सातामा दुई दिन बिदा दिने लगायतका योजना सरकारले अघि सारेको छ । यसो गर्दा सरकारी स्रोत प्रयोगबाट हुने इन्धन खपत घट्ने तथा सार्वजनिक बिदाका दिन सर्वसाधारणले गर्ने इन्धन खपत समेत घट्ने आङ्कलन सरकारको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सरकारले शनिबारसहित आइतबार पनि सार्वजनिक बिदा घोषणा तयारी गरेको हो । यसो गरे पेट्रोलियम पदार्थ खपत गरेबापत बाहिरिने विदेशी मुद्रा सञ्चिति जोगिने सरकारको बुझाइ छ ।

नेपाल आयल निगमका अनुसार नेपालमा सन् २०२२ मार्चमा नेपालमा ६३ हजार किलोलिटर पेट्रोल र १ लाख ६० हजार किलोलिटर डिजेल खपत भएको थियो । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले मार्च महिनामा दैनिक औसत २५ सय किलोलिटर पेट्रोल र ६४ सय किलोटिलर डिजेल खपत भएको जानकारी दिए । निगमले महिनाभर भएको पेट्रोल र डिजेल खपतलाई सार्वजनिक बिदा (चार शनिबार) बाहेकका दिनलाई हिसाब गरेको निकालेको औसत खपत हो ।

निगमका अनुसार मार्च महिनामा खपत भएको कुल ६३ हजार किलोलिटर पेट्रोललाई २५ दिन (सार्वजनिक बिदा बाहेकका दिन) भाग लाउँदा दैनिक औसतमा २५ सय २० किलोटिलर हुन आउँछ । ३१ दिन रहेको मार्चमा चार वटा शनिबार र दुई दिन सार्वजनिक बिदा परेको थियो । त्यसैले, निगमले सार्वजनिक बिदा बाहेकका दिनमा हुने पेट्रोलको अनुमानित खपत निकालेको हो ।

यस्तै, मार्च महिनामा कूल १ लाख ६० हजार किलोलिटर डिजेल खपत भएको थियो । मार्चमा खपत भएको डिजेललाई २५ दिन भाग लगाउँदा दैनिक औसत ६४ सय खपत भएको देखिन्छ । अर्थात, एक सार्वजनिक बिदाको दिन अन्य दिनको जस्तै सडकमा सवारी नचल्दा २५ सय किलोलिटर पेट्रोल र ६४ सय किलोलिटर डिजेल खपत हुनबाट जोगिन्छ ।


सार्वजनिक बिदा थप्दा कति इन्धन जोगिन्छ ?
निगमका अनुसार भारतसँग खरिद लागत, राज्यले थोपरेका सबै शीर्षकका कर, ढुवानी लागत, नोक्सानी र बिक्रेताको मुनाफा सुनिश्चित गर्दा प्रतिलिटर पेट्रोलको खरिद लागत १८२.९२ रुपैयाँ पर्छ । यस्तै, यी सबै खर्च जोडेर उपत्यकामा एक लिटर डिजेलको खरिद लागत १६९ रुपैयाँ पर्छ ।

प्रतिलिटर पेट्रोललाई प्रतिदिन खपत हुने २५ सय २० किलोलिटर पेट्रोललाई यसको खरिद लागत मूल्यले गुणा गर्दा हुन आउने रकम जोगिन्छ । एक किलोलिटरमा एक हजार लिटर तेल हुन्छ । यसअनुसार २५ सय किलोटिलरको २५ लाख लिटर हुन्छ । यसलाई प्रतिलिटर लागत १८२.९२ ले गुणा गर्दा ४५ करोड ४ लाख ५० हजार रुपैयाँ एक दिनमा जोगिन्छ ।

सार्वजनिक बिदाका रूपमा थपिने ४ दिनमा औसतमा १० हजार ८० किलोटिलर पेट्रोल खपत हुनबाट बच्छ । एक महिनामा थपिने ४ सार्वजनिक विदामा सार्वजनिक यातायात नचल्दा १ अर्ब ८४ करोड ४४ लाख ३८ हजार ४०० रुपैयाँ हाराहारीको पेट्रोल बापत बाहिरिने रकम बच्छ ।

यसैगरी, एक दिनमा औसतमा खपत हुने ६४ सय किलोलिटर अर्थात ६४ लाख लिटर डिजेललाई १६९ रुपैयाँले गुणा गर्दा १ अर्ब ८१ करोड ६ लाख रुपैयाँको खपत हुने देखिन्छ । सार्वजनिक बिदाका रूपमा थपिने ४ दिन थप गरेमा २५ हजार ६०० किलोलिटर डिजेलको खपत घट्छ । र, यसबाट मासिक ४ अर्ब ३२ करोड ६४ लाख रुपैयाँको आयात घट्ने देखिन्छ ।

तर, सरकारले दुई दिन सार्वजनिक बिदा दिँदा त्यसलाई सदुपयोग गर्न देशका विभिन्न भागको आवतजावत बढेमा पेट्रोलियम पदार्थ खपत घट्नुको साटो झनै बढ्ने चिन्ता समेत देखिन्छ । ‘सरकारले नियन्त्रित गरेर सातामा दुई दिन बिदा दिने निर्णय गर्नुपर्छ,’ निगमका अधिकारीहरू भन्छन्, ‘अन्यथा, अहिले खपत भइरहेको पेट्रोलियम पदार्थभन्दा धेरै सार्वजनिक बिदा थपिएपछि हुन सक्छ । जसले देशको आर्थिक स्थितिलाई नै चाप पुर्याउँछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप