आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीमा नेपालकै पहिलो अन्न भण्डारण गृह सञ्चालन

बुधबार, ३० चैत २०७८, १२ : ३४
बुधबार, ३० चैत २०७८

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।  नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ ।

मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइँलो प्रविधिमा आधारित रहेको छ । भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितो समेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्रवणकुमार यादवले बताए ।

कम्पनीका अनुसार कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा छ । कपिलवस्तुमा १५ हजार मेट्रिक टन र पर्सामा २५ हजार मेट्रिक टन क्षमताको अन्न भण्डारण गृह निर्माण चरणमा रहेको सो कम्पनीले जनाएको छ ।  तीनवटै स्थानको गरी ५५ हजार मेट्रिक टन क्षमताको खाद्यान्न भण्डारणको कुल परियोजना लागत १ अर्ब ४९ करोड रूपैँया रहेको कम्पनीले बताएको छ । वेयर हाउसमा तीनवटा अन्न भण्डारण प्लान्ट स्वचालित, साइलो प्रविधिमा आधारित रहेका छन् ।

प्रत्येकको पाँच हजार मेट्रिक टन क्षमता रहेका ती प्लान्टमध्ये एउटामा मकै, एउटामा गहुँ र एउटामा भटमास भण्डारण गरिने कम्पनीले जनाएको छ । भण्डारण स्थलको अभावमा उत्पादनको समयमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य हुने कम्पनीले विश्वास लिएको छ ।

खाद्यान्न भण्डारण–गृह निर्माणले नेपालको पूर्व क्षेत्रका साथै भारतीय सीमावर्ती क्षेत्रका अन्न उत्पादक किसानसहित कृषि वस्तु सङ्कलक, खाद्यान्न प्रशोधक तथा दाना उत्पादकहरू लाभान्वित हुने बताइएको छ । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपिओ समेत जारी गर्ने गरी तयारी अघि बढाइएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप