शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलमा वर्ष २०७८ : साफमा ऐतिहासिक सफलतादेखि एनएसएलको विवादसम्म

बुधबार, ३० चैत २०७८, ०९ : ५१
बुधबार, ३० चैत २०७८

नेपाली फुटबलका लागि वर्ष २०७८ खुसीमय वर्ष भयो । २०७८ सालमा नेपाली फुटबलले ठूलो उपलब्धि हात पार्न सफल भयो । नेपाली टोली यसअघि सफल च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सकेको थिएन । नेपाली फुटबलका लागि साफ च्याम्पिनयसिप फुटबलको उपाधि जित्ने मुख्य चुनौती बनिरहेको समयमा अहिले फुटबल टोली उपाधि दाबेदारको रूपमा प्रस्तुत भयो । 

फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली उपाधि जित्नबाट भने वञ्चित भयो । फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पियो । नेपाली टोलीलाई ऐतिहासिक सफलतामा पुगाउने श्रेय पाएका अब्दुल्लाह अलमुताइरीले निकै चर्चा कमाए । उनी अहिले पनि नेपाली समर्थकका लागि फुटललाई सफलता दिने मुख्य व्यक्ति हुन् । 

नेपाले यस वर्ष धेरै मैत्रीपूर्ण खेल पनि खेल्यो । भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्न नेपालका लागि एक ठूलो उपलब्धिको रूपमा रहेको थियो । जसमा एक खेलमा नेपालले बराबरीको नतिजा बेहोर्‍यो भने एक खेलमा पराजित भयो । 

घरेलु मैदानमा नै नेपालले अफ्रिकन राष्ट्र मरिसससँग पनि मैत्रीपूर्ण खेल खेल्यो । नेपाली फुटबलका लागि यो वर्ष सबै हिसाबले सफल देखिन्छ । 

साफ फुटबलमा ऐतिहासिक सफलता

साफ च्याम्पियनसिपमा नेपालले १२औँ संस्करणमा पुग्दासम्म फाइनमा स्थान बनाउन सकेको थिएन । नेपाली टोलीको मुख्य लक्ष्य साफ च्याम्पियनसिपको उपाधि जित्न भए पनि फाइनलमा पुग्न मुख्य सफलता थियो । ​अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा १३औँ संस्करण खेल्न श्रीलंका पुगेको नेपाली टोली इतिहासकै पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल भयो । जम्मा पाँच टोली सहभागिता भएको प्रतियोगितामा नेपालले समूह पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । 

दोस्रो खेलमा नेपालले आयोजक श्रीलङ्कालाई ३–२ गोलले पराजित गर्‍यो । लिग चरणकै तेस्रो खेलमा नेपाल भारतसँग पराजित भयो । चौथो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्यो । भारतले आफ्नो लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ पराजित गर्दा भारत र नेपाल फाइनलमा खेल्ने पक्का भयो । 

फाइनल खेलमा भने नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भयो । नेपालका पराजित भए पनि साफको सेमिफाइनल नेपालका लागि ऐतिहासिक सफलता थियो । 

चिर प्रतिद्वन्द्वी भारतसँग नै चार खेल 

नेपालले वर्ष २०७८ मा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । त्यसमा नेपाल तीन खेलमा पराजित हुँदा एक खेलमा भने भारतलाई बराबरीमा रोक्न सफल भयो । 

नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले भारतसँग १–१ गोलको नतिजा निकालेको थियो । 

त्यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा नै पराजित हुँदा नेपाली समर्थक निराश भए । तर, नेपाली टोलीले गरेको प्रदर्शन सम्झन लायक थियो । 

यता बाँकी दुई खेल नेपालले साफ च्याम्पियनसिपमा खेलेको थियो । पहिलो खेलमा नेपाल १–० गोल अन्तरले पराजित भयो । फाइनल खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भयो । नेपालले सबै खेल अलमुताइरीको प्रशिक्षकत्वमा खेलेको थियो । 

हारबाट सुरु भएको वर्ष हारबाट नै अन्त्य 

इरानसँगको ६–२ गोलको हारसँगै नेपालले वर्षको सुरुवात गर्‍यो । एसियाली पावर हाउससँग ६–२ गोलको नतिजा नेपालका लागि सफलता जस्तै थियो । यो हारबाट वर्षको सुरुवात गरेको नेपालले गत साता मात्र थाइल्यान्डसँग २–० गोल अन्तरले पराजित भयो । 

दुवै टोली नेपालका लागि अनुभव एक नयाँ अनुभवका रूपमा थिए । अफ्रिकन राष्ट्र मरिससविरुद्धको खेल पनि नेपालका लागि ठूलो उपलब्धि भयो । मरिससविरुद्धको दुवै मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलको नतिजा निकाल्यो । 

नेपालका लागि सुरुवात र अन्त्य खराव भएपनिबीचका नतिजा भने सम्झन लायक भए । योबीच नेपालले चाइनिज ताइपेईलाई हरायो भने जोर्डन, अष्ट्रेलिया जस्ता देशहरुलाई कडा टक्कर दियो । विश्वकप खेलि सकेको अष्ट्रेलियासँग नेपाल ३–० गोल अन्तरले पराजित भयो । यता ओमानसँग फराकिलो हार बेहोरेको नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हरायो । 

नेपालका लागि यो वर्षको समग्र सफलता हेर्दा साफको फाइनलमा पुग्न सफल भयो । त्यस्तै एसियन कप छनोटको दोस्रो चरण पार गर्दै तेस्रो चरणमा पुग्नु नेपालका लागि अर्को सफलता हो । 

नेपालले यस वर्ष १४ खेल खेल्दा ५ खेल जित्यो । ७ खेलमा पराजित हुँदा २ खेलमा भने बराबरीको नतिजा हात पार्‍यो । 

मच्छिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन देखि एएफसी कपको डेब्यूमै हारसम्म 

घरेलु फुटबलमा चर्चामा आएको नाम हो मच्छिन्द्र फुटबल क्लब । मच्छिन्द्रले यो वर्ष लगातार दोस्रो पटक ए डिभिजन लिग जित्ने उपमा पायो । दुवै वर्ष विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो बन्यो । 

ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र पहिलो पटक एएफसी कपमा डेब्यू गर्ने मौका पायो । अघिल्लो पटक एएफसीको लाइसेन्स नपाउँदा मच्छिन्द्रले एएफसी कपको छनोट प्रतियोगिता खेल्न पाएको थिएन ।

यो पटक छनोट खेल खेले पनि मच्छिन्द्र समूह चरणमा पुग्न नपाउँदै बाहिरियो । मच्छिन्द्र घरेलु मैदानमा श्रीलङ्काको ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित भएको थियो । उसो त लिग च्याम्पियन मच्छिन्द्रका लागि यो एक नयाँ अनुभव पनि थियो । 

चर्च ब्वाइज र खुमलटारको ए डिभिजन लिग यात्रा 

सहीद स्मारक ‘बी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइज क्लब र खुमलटार क्लब ए डिभिजन लिगमा बढुवा भए । 

चर्च ब्वाइजले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो । त्यसपछि गत वर्ष चैतमा ‘सी’ डिभिजन लिगको उपाधि जित्यो । त्यसपछि चर्च ब्वाइजले ‘बी’ डिभिजन लिगको उपाधि जित्न सफल भयो । 

नेपाली फुटबलमा अब चर्च ब्वाइजको चर्चा सुनिने छ । जुन तरिकाले चर्च ब्वाइजले आफ्नो उडान लिएको छ त्यसलाई कायम राखेमा एक दिन चर्च ब्वाईज ए डिभिजन लिगको उपाधि विजेता बनेको हेर्न पक्कै पाइनेछ । 

यता २०६१ सालमा स्थापना भएको खुमलटारले १८ वर्षपछि ए डिभिजन लिग खेल्न पायो । गत वर्ष एक टिम मात्र ए डिभिजन लिगमा उक्लने भएपछि खुमलटारले दोस्रोमा चित्त बुझायो । 

तर पयो वर्ष भने खुमलटार शीर्ष डिभिजनमा उक्लन सफल भयो । 

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डको उपाधि विभागीय टोली एपीएफले जित्यो । एपीएफले मनाङ मर्स्याङ्दीलाई हराएर पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

यस्तै सर्वाधिक २१ लाख नगद पुरस्कार भएको खप्तड गोल्डकपको उपाधि भने मनाङ मर्स्याङ्दीले जिते ।

झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी फुटबल क्लबले निरन्तर कब्जा जमायो ।

एसियन कपमा छनोट हुनबाट चुकेको महिला टोली 

महिला फुटबलका लागि यो वर्ष त्यति सम्झना लायक रहेन । महिला टोली एफसी एसिया कप महिला छनोट खेलमा सोचे अनुरुप प्रदर्शन गर्न सकेन । फलस्वरुप नेपाल एसिया कपमा छनोट हुने सपना साकार हुन सकेन । 

नेपाल, फिलिपिन्स र हङकङ रहेको यस समूहबाट फिलिपिन्स विजेता बनेर भारतमा भएको एसिया कपमा छनोट भयो । तर, नेपाल समूह चरणबाटै बाहिरियो । 

यता महिला टोलीको उमेर समूहमा पनि खस्कँदो प्रदर्शन भयो । साफ यू–१९÷यू–१८ च्याम्पियनसिप दुवै प्रतियोगितामा नेपाल कमजोर बन्यो । नेपालका लागि बंगलादेश र भारत नै बाधक बने । 

भारत चैतमा भएको साफ यू–१८ को तेस्रो संस्करणमा नेपालले कमजोर प्रदर्शन गर्‍यो । तीन टोली मात्र समावेश डबल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा नेपालले खेलेका पराजित भयो । नेपालले एक खेलमा पनि जित निकाल्न सकेका । 

१२ जना नयाँ खेलाडीले राष्ट्रिय जर्सी पहिरिएको वर्ष 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले १२ जना नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यू गराए । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा गौतम श्रेष्ठ र मनिष डाँगीले डेब्यू गरे । 

त्यस्तै नेपालका लागि कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीले पनि नेपालका लागि डेब्यू गरे । उनीहरूले कुवेतमा विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यू गरे ।

अलमुताइरीले घरेलु मेदानमा ६ खेलाडीको डेब्यू गराए । त्यसमा भारतविरुको मैत्रीपूर्ण खेलमा चार खेलाडीले डेब्यू गरे भने जसमा नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङ हुन् । 

मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि नयाँ युवा खेलाडीले डेब्यू गरे । मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर र नविन गुरुङले डेब्यु गरे । यता थाइल्याण्डविरुद्धको खेलमा प्रशान्त अवस्थीले डेब्यू गरे ।

नेपाल सुपर लिगको विवाद

नेपाल सुपर लिग (एनएसएल)को आयोजनाले नेपाली फुटबलमा नयाँ मोड लिने अपेक्षा गरिएको थियो । पहिलो संस्करण सफलताका साथ सम्पन्न गरेको सुपर लिग दोस्रो संस्करणमा पुग्दा विवादमा तानियो । 

खेलाडीहरूको अनुबन्धको विषयलाई लिएर ए डिभिजन लिग क्लबहरूले विवाद गरेपछि लिग हुन सकेन । नेपाली फुटबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइज आयोजना भएको फुटबलले राम्रो उचाइ लियो ।

पहिलो सिजन सात टोली सहभागी भएको प्रतियोगिता दोस्रो वर्ष १० टोलीमा पुग्यो । तर, दोस्रो सिजन हुने नहुने अहिलेसम्म अन्योलमा छ । 

एनएसएल गर्ने विषयमा एन्फाले टाइसिट ड्र नै रोक्न निर्देशन दिएको थियो । त्यसपछि क्लब टू क्लब सहमति हुने भएपछि एनएसएलको नयाँ मितिको विषयमा छलफल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप