ad
x
राजनीति

कमल थापाको क्रमभंगता र छलाङ

person explore access_timeचैत ३०, २०७८ chat_bubble_outline0

राजतन्त्रलाई परित्याग गर्दै राप्रपाबाट विद्रोह गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा मंगलबार ललितपुरको होटल हिमालयमा अलि फरक ढङ्गबाट प्रस्तुत भए । ‘जनताको माझमा राप्रपा : वर्तमानका चुनौती र विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रममा थापाले करिब ३७ मिनेटको मन्तव्यसहित ‘पावर   प्वाइन्ट’मा प्रस्तुति गरे ।


राप्रपा नेपालले आयोजना गरेको यस अन्तरक्रियामा उद्योगी व्यवसायी, बैंकर्स, प्राध्यापक, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । दौरा सुरुवालमा सजिएर थापाले मञ्चमा दिएको प्रस्तुति प्राविधिक हिसाबले निकै स्मार्ट थियो । लामो भाषण गर्ने र अरूलाई गाली गर्ने अन्य पार्टीका शीर्ष नेताहरूले पनि कमल थापाले जस्तै गरी आफ्ना कुराहरू राखे राम्रो हुने सहभागीहरूले टिप्पणीसमेत गरेको सुनियो ।



 पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले आफ्नो प्रस्तुतिमा तीनवटा कुरामा जोड दिए : देशको वर्तमान समस्या, यसका कारणहरू र समाधानका उपाय । समस्याको पहिचान र समाधानको उपायबारे थापाका आफ्नै पुरानै मान्यताहरू थिए । थापाले भने, ‘हामीले जुन फरक विचारहरु दिन खोजिराखेका छौँ, यो कसैको विरुद्धमा होइन । प्रजातन्त्रको सौन्दर्य भनेकै फरक–फरक विचारहरूको प्रतिस्पर्धा हो । यसले प्रजातन्त्रलाई  बलियो बनाउँछ । हामीले प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार एउटा फरक विचार दिन खोजिराखेका छौँ ।  

कार्यक्रममा खड्किएको विषयचाहिँ के रह्यो भने अहिले राप्रपा नेपालले ‘हृदयेश त्रिपाठी मोडेल’ मा नेकपा एमालेसँग सूर्यचिन्हबाटै चुनावी तालमेल गर्न खोजिरहेको राजनीतिक चर्चाबारे कमल थापा मौन रहे । उनलाई कसैले यसबारेमा सोधेन, उनले पनि केही भनेनन् । राजसंस्था छाडेको विषयमा भने त्रिविका एकजना प्राध्यापकले प्रश्न सोधे ।

कमल थापाले आफ्नो प्रस्तुतीलाई दैनन्दिनको राजनीतिमा भन्दा पनि दर्शन, सिद्धान्त र नीतिमा जोड दिन खोजेजस्तो देखिन्थ्यो । नीतिगत सुधारमा उनले साम्यवाद र समाजवादको विरोध गर्दै ‘सम्वद्र्धनवाद’को वकालत गरे । संरचनागत सुधारमा उनले अहिलेको संसदीय प्रणालीको विकल्प खोज्नुपर्ने भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताए । साथै चुनावमा देखिएको विकृति हटाउन पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गरे । अनि आर्थिक क्षेत्रमा चाहिँ खुल्ला बजारमुखी उदार अर्थतन्त्रको वकालत गरे ।

स्थानीय चुनावको तयारीबारे मौन रहेका थापाले भने, ‘हामीले राप्रपा नेपाललाई फेरि पुनर्जाग्रित गर्दाखेरि तत्कालीन परिणामको अपेक्षा राखेर गरेका होइनौँ । हामी अलि दीर्घकालीन सोचाइका साथ नेपालमा वास्तवमै एउटा वैकल्पिक  राजनीतिक शक्ति, वैकल्पिक विचार र बाटो बोकेको पार्टी बन्न खोजिराखेका छौँ । त्यसका निमित्त अभ्यास गरिराखेका छौँ । यो भन्नुभन्दा पनि हामीले गरेर देखाउनुपर्छ ।’

कमल थापाले अगाडि सारेको ‘वैकल्पिक मार्ग’बारे विस्तृत चर्चा गर्नुअघि उनले राजतन्त्र किन त्यागे ? ‘निरन्तरतासहितको परिवर्तन’ का पक्षपाती रहेका कमल थापाको निरन्तरको आस्थामा किन क्रम भंगता भयो र उनले गणतन्त्रमा छलाङ मारे ? यसबारे कार्यक्रममा थापाले दिएको जवाफ जस्ताको त्यस्तै सुनौँ–      

‘राजसंस्थाबारे वास्तवमा यो मलाई पनि अलिकति पीडादायक नै हुन्छ । मेरो राजनीतिक जीवनको यात्रामा सदैव राजसंस्थाप्रति आस्था, विश्वास, निष्ठा राख्दै आएको हो । पारिवारिक पृष्ठभूमि पनि त्यस्तै थियो । हुर्काइ नै त्यही वातावरणबाट भएको हो । र, पछिल्लो १३ वर्ष, १५ वर्ष त एक प्रकारले भन्ने हो भने राजनीतिक जीवनलाई नै जोखिममा राखेर हामीले त्यो एजेण्डा बोकेर हिँडेका थियौँ, त्यसमा कुनै पश्चाताप छैन । अहिले पनि राजसंस्था वा राजाप्रति मेरो सम्मान छ, आस्था छ । यसमा कत्ति पनि तलमाथि छैन ।

तर, अब राजनीतिक पार्टीले भनौँ या राजनीतिकर्मीले, नेताले समय, काल, परिस्थितिअनुसार आफ्ना मान्यतालाई परिमार्जन गर्न सकेन र जडसूत्रवादी ढङ्गबाट हिँड्न खोज्यो भने मलाई लाग्छ, त्यो उपयुक्त होइन ।

नेपालको सन्दर्भमा पनि राजसंस्थाको एउटा लिगेसी छ । त्यसको सैद्धान्तिक उपादेयताको हामी अहिले पनि बहस गर्न सकौँला । तर, नेपालको धरातलीय यथार्थलाई आत्मसात् गर्दा, जनताको भावनालाई र खास गरी नयाँ पिँढीका युवाहरूको भावनालाई दृष्टिगत गर्दाखेरि अब हामीले अलि फरक ढङ्गबाट हेर्नुपर्छ भन्ने सोचाइ आयो ।

यसबीचमा केही घटनाक्रमहरू पनि भए, जसले अलिकति त्यसतर्फ अगाडि बढ्नको निमित्त एउटा मूल्यवान् फ्याक्टर भयो । यसले गर्दाखेरि अहिले हामी नयाँ ढङ्गबाट अगाडि बढ्न खोजिराखेका छौँ ।

 अब कमल थापाको प्रस्तुत जस्ताको त्यस्तै–     

 देशको वर्तमान समस्या

 देशको वर्तमान अवस्थाबारे यहाँहरूलाई राम्रोसँग जानकारी छ । म व्याख्या विश्लेषण नगरीकन सूत्रवद्धरुपमा यहाँहरू समक्ष हाम्रो विश्लेषण निवेदन गर्दछु ।

संक्षेपमा भन्ने हो भने अहिले लोकतन्त्रको आवरणमा सर्वसत्तावादी प्रवृत्ति हाबी हुन लागेको सङ्केत देखा परिराखेको छ । ०६३ सालमा लोकतन्त्रलाई सुदृढ तुल्याउने, जनतालाई मालिक बनाउने भनेर जुन नयाँ नेपालको परिकल्पना गरिएको थियो, आज १५ वर्षपछि हामीले हेर्दा केही सीमित राजनीतिक दलहरूका सीमित नेताहरूले राज्य संयन्त्रमा कब्जा गरेर सर्वसत्तावादी ढङ्गबाट राज्य सञ्चालन गर्न खोजिरहेको आभास हुन्छ ।

अर्कोतर्फ, देशको समग्र अर्थतन्त्र संकटग्रस्त रहेको हामीले देखिराखेका छौँ । खास गरी पछिल्लो केही हप्ता देशको आर्थिक स्थिति तीव्रगतिले संकटको भूमरीमा फस्न लागेको हामीले प्रष्टरुपमा अनुभूत गरिराखेका छौँ । चाहे त्यो विदेशी मुद्रा सञ्चितिको कुरा होस्, चाहे त्यो व्यापार घाटाको कुरा होस्, चाहे त्यो ब्यालेन्स अफ पेमेन्टमा देखिएका चुनौतीका कुराहरू हुन् । चाहे बेरोजगारी समस्या होस् । यी सबकै सूचकहरूले नेपालको राष्ट्रिय अर्थतन्त्र संकटको दिशातर्फ उन्मुख भइरहेको हामी बुझ्न सक्दछौँ ।

यसैगरी राष्ट्रियता कमजोर हुँदै गएको देखिन्छ । बाह्य शक्तिहरूको चलखेल र प्रभाव नेपालमा तीव्र गतिले अगाडि बढिराखेको छ । अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलका रूपमा नेपाल परिणत हुन सक्ने खतराका सङ्केतहरू पनि देखिएका छन् । सत्तामा पुग्नका निमित्त र सत्तामा पुगिसकेपछि टिकेर बस्नका निमित्त बाह्य शक्तिहरूको आशीर्वाद  चाहिन्छ भन्ने मानसिकता प्रायः सबै राजनीतिक दलका शीर्ष नेताहरूमा देखा परिराखेको छ । यो सबै सन्दर्भले नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई कमजोर र खण्डित बनाउँदै लगेको बुझ्न सक्दछौँ ।

खास गरी ०६३ सालको परिवर्तनपछि एउटा विशिष्टरुपमा देखा परेको चुनौती नेपालको सनातन धर्म संस्कृतिमाथि भइरहेको अतिक्रमण हो । धर्म निरपेक्षताको आडमा लोभ लालच र प्रलोभन दिएर, भ्रम सिर्जना गरेर योजनाबद्ध र संगठितरुपले धर्म परिवर्तन गराउने काम भइराखेको छ । यो प्रवृत्तिले निरन्तरता पाउने हो भने नेपालको राष्ट्रिय पहिचान र एकताको आधार कमजोर हुँदै जाने र अन्ततोगत्वा देशमा धार्मिक सांस्कृतिक द्वन्द्व खडा हुन सक्ने सम्भावनाहरू देखिइराखेका छन् ।

भ्रष्टाचारको महारोगका बारेमा मैले धेरै चर्चा परिचर्चा गरिराख्नुपर्दैन । सम्भवतः नेपालको इतिहासमै केही सीमित वर्गले राज्यको सम्पत्तिमाथि ब्रह्मलुट गरिराखेका छन् । यसभन्दा बढी मैले भ्रष्टाचारका बारेमा यो विज्ञ समुदायमा चर्चा परिचर्चा गरिराख्नुपर्ने आवश्यकता देख्दिनँ ।

समस्याका कारणहरू

समग्ररुपमा राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा चुनौतीहरू देखा परिराखेका छन् । यस्तो किन भयो ? हामीले त खासगरी ०६३ सालपछि नेपालमा शान्ति र स्थायित्व कायम गर्ने, प्रजातन्त्रलाई सुदृढ तुल्याउने, राष्ट्रियतालाई बलियो बनाउने र समग्र रूपमा देशको आर्थिक विकास र समृद्धि गर्ने भनेर यात्रा प्रारम्भ गरेका थियौँ । भने, आज किन यो अवस्थामा हामी आइपुग्यौँ ? यसका प्रमुख कारणहरू के हुन् ? हरेकका आ–आफ्ना विश्लेषण हुन्छन् । हामीले संक्षेपमा यो अवस्थाको प्रमुख कारकका रूपमा केही तथ्यहरूलाई औँल्याउने प्रयास गरेका छौँ । केही प्रमुख कारणहरू यहाँ छन् :

यक्ष प्रश्न : सात दशक भयो । ७१ वर्ष भयो, हामी नेपालीले पहिलोपटक प्रजातन्त्रको बिहानी देखेको । यो ७१ वर्षको बीचमा पनि किन एउटा स्थायी राजनीतिक प्रणाली र दिगो संविधान हामीले कायम गर्न सकेका छैनौँ ? किन राजनीतिक स्थिरता कायम हुन सकेन ? किन आर्थिक समृद्धिको लक्ष हासिल हुन सकेन ?

यो यक्ष प्रश्नको जवाफ खोज्ने क्रममा हामीले केही कारणहरुलाई आधार बनाएका छौँ । खास गरी धेरै कारणहरू छन् । राजनीतिक, आर्थिक, देश बाहिरको कारण, यी सब कुराहरुमा अहिले म जान चाहन्नँ । संक्षेपमा तीनवटा कारणहरू हामीले औँल्याउने प्रयास गरेका छौँ ।

नीतिगत कारण  । २००७ सालमा प्रजातन्त्र आयो । २००७ सालदेखि अहिल्े ०७८ सालसम्म नेपालको सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रलाई प्रभावित पार्ने मुख्य वैचारिक धार साम्यवादी र समाजवादी धार रह्यो । साम्यवादी र समाजवादी धारको उपयोगिता विश्व राजनीतिमा कति कमजोर हुँदै गइरहेको छ, त्यो सबलाई थाहा छ । तर, नेपालमा अहिले पनि साम्यवादी, समाजवादी शक्तिहरूको वर्चश्व रहेको छ । चाहे राजनीतिमा भन्नोस्, चाहे आर्थिक क्षेत्रमा भन्नोस्, चाहे सामाजिक क्षेत्रमा भन्नोस् ।

साम्यवाद, समाजवादका मूल विशेषताहरू करिब–करिब एउटै छन् । त्यसैले मैले समग्रमा नीतिगत कमी कमजोरीको कुरा गर्दाखेरि साम्यवाद र समाजवादी चिन्तन र त्यो चिन्तनमा आधारित मान्यतालाई बोकेर हिँड्ने शक्तिहरूको निरन्तरता मुलुकमा अहिले कायम रहेको बेथितिका कारणहरू मध्येको एउटा कारण हो ।

योबीचमा ३० वर्षको पञ्चायत पनि हामीले भोगेका छौँ । पञ्चायतको राजनीतिक पक्षलाई अलग गरेर हेर्ने हो भने पञ्चायती व्यवस्थाको आर्थिक र सामाजिक नीति पनि मूलतः समाजवादी चिन्तनमै आधारित थियो । समाजवादी चिन्तनको प्रमुख अस्त्र भनेको राज्य नियन्त्रित व्यवस्था हो ।

पञ्चायत काल पनि राज्य नियन्त्रित थियो, चाहे त्यो योजनाबद्ध आर्थिक विकासको कुरा होस् । चाहे राज्य संरक्षित आर्थिक संरचना हुन् । २००७ सालदेखि अहिलेसम्म करिब–करिब त्यही मान्यताको धरातलमा हामीले निरन्तर उभिने प्रयास गरेका छौँ । र, नेपालको बुद्धिजीवी वर्गले पनि त्यसको विकल्पमा सोच्ने प्रयास गरेको छैन । जे छm त्यसको पक्ष–विपक्षमा क्रिया–प्रतिक्रिया व्यक्त गर्ने बाहेक यसको नीतिगत पक्षका देखा परेका त्रुटि र कमी कमजोरीका बारेमा चिन्तन मनन नेपालको बुद्धिजीवी क्षेत्रबाट भएको हामीले कम पाउँछौँ ।    

संरचनागत कमजोरी : पञ्चायतको ३० वर्षलाई छोडिदिने हो भने बाँकी रहेको अवधि, शुरुदेखि अहिले ०७८ सालसम्म परम्परागत शैलीको संसदीय प्रजातान्त्रिक व्यवस्था अन्तरगत हामी छौँ । ०७२ सालको संविधान आएपछि सुधारिएको संसदीय व्यवस्था भन्ने गरेका छौँ । चाहे यसलाई परम्परागत शैलीको संसदीय व्यवस्था भन्नोस्, चाहे सुधारिएको संसदीय व्यवस्था भन्नोस्, यसका मूलभूत चरित्रहरू उनै हुन् । र, नेपालमा मात्र होइन, आज संसारका विभिन्न मुलुकहरूमा यो प्रकारको प्रणाली र यसले अवलम्बन गर्ने चुनावी व्यवस्थाले सिर्जना गर्ने विकृति र विसङ्गतिको शिकार भइराखेका छन् । कतिपय मुलुकहरूमा स्वयं प्रजातन्त्र नै अराजकताको कारण भइराखेको छ । अराजकता र अस्थिरतालाई समाप्त पार्नको निमित्त प्रजातान्त्रिक मान्यताको परिकल्पना गरियो तर ठीक ढङ्गबाट चलाउन नसक्दाखेरि स्वयं प्रजातन्त्र नै अस्थिरता र अराजकताको कारक बनिराखेको विभिन्न मुलुकहरूमा छ । र, नेपालमा पनि हामी त्यसका प्रभावलाई अनुभूत गर्न सक्दछौँ ।  

अल्मिलिएको बाटो नीतिगत र संरचनागत कारणपछि अर्को एउटा महत्त्वपूर्ण हामीले देखेका छौँ : अलमलिएको बाटो । २००७ सालदेखि ०७८ सालसम्म हाम्रो समाजको, बुद्धिजीवी वर्गको, सञ्चार माध्यमको, राजनीतिक दलहरूको सम्पूर्ण चिन्तन राजनीतिमा मात्र रह्यो । राजनीतिक विषय, राजनीतिक मुद्दा र राजनीतिक अडानमा नै हाम्रो सम्पूर्ण शक्ति र स्रोत खर्च भइराखेको छ ।

जब कि संसारको अनुभवले देखाएको छ, राजनीतिक परिवर्तनसँग आर्थिक परिवर्तन हुन सकेन भने जतिसुकै ठूलो राजनीतिक क्रान्ति भएता पनि, जुनसुकै तन्त्र स्थापना गरिएता पनि दिगो शान्तिको स्थापना, स्थायित्व, विकास र समृद्धि हुन सक्दैन रहेछ भन्ने देखिएको छ ।

त्यसर्थ जबसम्म राजनीतिक परिवर्तन सँगसँगै आर्थिक परिवर्तन हुन सक्दैन, जबसम्म राजनीतिक परिवर्तनले जनताको अवस्थामा सुधार ल्याउन सक्दैन, जनसम्म राजनीतिक परिवर्तनले न्यूनतम र शिक्षा र रोजगारी जनतामा पुर्‍याउन सक्दैन, जबसम्म राजनीतिक परिवर्तनले बिरामी भएका बेलामा सजिलोसँग उपचार प्रदान गर्न सक्दैन, जनसम्म राजनीतिक परिवर्तनले जनताको अनुहारमा हाँसो र उज्यालो ल्याउन सक्दैन, तबसम्म परिवर्तनको कुनै अर्थ हुँदैन रहेछ भन्ने कुरा संसारभरिको अनुभवले देखाएको छ । र, हामी पनि अहिले त्यही अलमलिएको प्राथमिकतामा छौँ ।

समाधानका ३ आधार :

हामीले समस्या पनि पहिचान गर्‍यौँ । यसका कारणहरू पनि पहिचान गर्‍यौँ । रोग पनि पहिचान भयो, रोगको कारण पनि हामीले पहिचान गर्‍यौँ । हाम्रो दृष्टिकोणमा अब समाधानको उपाय के त ?

हाम्रो दृष्टिकोणमा जहाँसम्म नीतिगत सुधारको प्रश्न छ, वैचारिक शुद्धताको प्रश्न छ । वैचारिक शुद्धताका निमित्त हामीले वैकल्पिक विचार प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ । त्यो सन्दर्भमा हामीले सम्वर्द्धनवाद भनेका छौँ । यसको अङ्ग्रेजी अनुवाद ठ्याक्कै पाउन गाह्रो पर्छ । यो संस्कृतसँग मिसिएर आएको शब्द छ ।

वैचारिक अथवा नीतिगत त्रुटिहरूको निमित्त अथवा भनौँ अथवा सात दशक लामो जुन साम्यवादी समाजवादी वर्चस्व रहेको छ, त्यसको विकल्पमा सम्वर्द्धनवादी चिन्तन त्यसको प्रत्युत्तर हुन सक्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ । यसै गरी हामीले केही संरचनागत सुधारका कुरा पनि गरेका छौँ । र, आर्थिक समृद्धि यी तीनवटा हाम्रो वैचारिक मार्गचित्रका आधार स्तम्भहरू हुन् : सम्वर्द्धनवाद, संरचनागत सुधार र आर्थिक समृद्धि ।

सम्वर्द्धनवाद : यो नौलो दर्शन पनि होइन, नवीन विचार पद्धति पनि होइन । प्राचीनकादेखि नेपाली समाजमा जुन मान्यता र दर्शनका आधारमा हाम्रो परिवार र समाज चल्दै आएको थियो, त्यसैलाई अलि सुव्यवस्थित ढङ्गबाट हामीले प्रस्तुत गर्न खोजेका मात्र हौँ । सम्वर्द्धनवादका केही मूलभूत विशेषताहरू छन्  ।

सबैभन्दा पहिलो राष्ट्रभक्ति र देशप्रेम हो । राष्ट्रभक्ति र देशप्रेम सम्वर्द्धनवादको सर्वोपरि साध्य हो । निरन्तर साधना गर्नुपर्ने साध्य राष्ट्रियता हो ।

दोस्रो – सनातन वैदिक दर्शन र हिन्दुराष्ट्रको मान्यता हो । कतिपय व्यक्तिहरूले, बुद्धिजीवीहरूले पनि र नागरिक समाजका अगुवाहरूले पनि सनातन धर्म भन्ने बित्तिकै पूजा आराधना र उपासनाको विधि र पद्धतिलाई मात्रै धर्म भन्ने ठान्दछन् । कतिपयले जन्मदेखि मृत्युसम्म गर्ने संस्कारका कर्मकाण्डलाई धार्मिक कृत्यका रूपमा लिने गरेको पाइन्छ । धर्मको सही अर्थ हामीले बुझ्न सकिराखेका छैनौँ । यसै सन्दर्भमा हामीले हाम्रो सनातन धर्म भनेका छौँ । सनातन धर्म भन्नाले नेपालमा प्रचलित रहेको हिन्दु, बौद्ध, किरात, प्रकृति पूजक, शिख, जैन, जसको एउटै दार्शनिक स्रोत छ, मुहान एउटै छ, त्यसलाई हामीले सनातन धर्म भनेका छौँ । यो सनातन धर्मको मूल स्रोत वेद, उपनिषद र गीता हो । त्यो वैदिक मान्यता पूजा, आराधना वा कर्मकाण्ड मात्र होइन, त्यसमा दार्शनिक विषयहरू समावेश भएका छन् । जीवन दर्शनका कुराहरू छन् । जीवन जिउने कलाहरू त्यहाँ उल्लेख भएका छन् । जीवन पद्धतिका विषयमा चर्चाहरू छन् । राज्य सञ्चालन, समाज सञ्चालनका बारेमा उल्लेख छन् । यसरी सम्वर्द्धनवादको वैचारिक स्रोतका रूपमा हामीले वैदिक सनातन दर्शन र हिन्दूराष्ट्रको मान्यता अगाडि सारेका छौँ ।

हिन्दु राष्ट्रको कुरा गरेर राप्रपा नेपालले धर्मको आधारमा राजनीति गर्न खोजेको होइन । धर्मको आधारमा शासन सञ्चालन हुनुपर्छ भनेको होइन । धर्मका आधारमा कानुन बन्नुपर्छ भनेको होइन । हाम्रो वैदिक सनातन मूल्य र मान्यताले नै विविधतामा एकता भनेको छ । अहिले आधुनिक राजनीतिशास्त्रमा खुब चलेको शब्द छ बहुलवाद, त्यो बहुलवादको स्रोत ऋग्वेद हो । सत्य एउटै छ, त्यसलाई प्राप्त गर्ने बाटो फरक छ भनेर ५ हजार वर्ष अगाडि श्रुति परम्परामा आएको ऋग्वेदले स्थापित गरेको मान्यता नै आधुनिक कालको बहुलवाद हो । हिन्दुराष्ट्रको कुरा हामीले यसकारण गरेका छौँ । यो नेपालको पहिचानसँग सम्बन्धित छ । यो नेपालको राष्ट्रिय एकताको आधार हो । हामी पहाडमा बसौँ, हिमालमा बसौँ । मधेसमा बसौँ, हाम्रा साझा भगवान् छन् । साझा परम्परा छन् । साझा संस्कृति छ । यसले हामी सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरेको छ । संसारमा जहाँ जाँदा पनि हामीलाई नेपाली भनेर चिन्दछन् । यो नेपाली पहिचानको आधार यही सनातन धर्म र संस्कृति हो । त्यसकारण सम्वर्द्धनवादले सनातन धर्म र संस्कृतिको रक्षा गरेर पनि राष्ट्रको विकास गर्न सकिन्छ र त्यही नै उपयुक्त बाटो हो भन्ने मान्यतालाई आत्मसात् गरेको छ ।

सम्वर्द्धनवादको अर्को मान्यता भनेको निरन्तरतासहितको परिवर्तन हो । मैले यसका बारेमा व्याख्या गरिराख्नुपर्ने जरुरी छैन । परिवर्तन प्रकृतिको नियम हो । कसैले परिवर्तनलाई रोक्न सक्दैन । तर, यस्तो परिवर्तन, जो निरन्तरतासहितको होस् । त्यो परिवर्तन सम्वर्द्धनवादको विशिष्ट चरित्र हो ।

उदार र समन्वयात्मक मानवतावाद ।  यो अलिकति विस्तृत व्याख्या गर्नुपर्ने विषय हो । यसलाई छोटकरीमा यसरी निवेदन गरौँ कि हामी प्रत्येक जीवित प्राणी, मानिसको कुरा गर्दाखेरि चारवटा मुख्य पक्षहरू छन् : शरीर, मन, आत्मा र चेत । यी चारवटा तत्त्वहरू छन् , जसले मानिस एउटा जीवन्त रहन्छ । यी चारैवटा तत्त्वहरूको समन्वयात्मक विकासमा सम्वर्द्धनवादले जोड दिन्छ ।

साम्यवाद र समाजवादले शरीर र मनको आवश्यकतालाई परिपूर्तिमा जोड दिन्छ, त्यसलाई भौतिकवाद भनिन्छ । भौतिक आवश्यकता, शरीर र मनको आवश्यकता के हुन्छ, त्यो परिपूर्ति गर्ने माध्यम भौतिकवाद, समाजवाद, साम्यवाद हो । तर, हाम्रो सम्वर्द्धनवाद शरीर र मनको साथसाथै आत्मा र चेतको पनि समन्वयात्मक एकीकृत विकास हुनुपर्दछ, त्यस्तो मानव नै टिकाउ हुन्छ भन्ने मान्यता राख्दछ । यो विषयमा धेरै व्याख्या गर्न सकिन्छ । यसका सामाजिक, आर्थिक, सबै पक्षमा यो समन्वयवादको धेरै ठूलो महत्त्व छ । कुनै समयमा यसबारे छुट्टै व्यापक विश्लेषण गरौँला ।

विविधतामा एकता । मैले अघि पनि भनेँ, सम्वर्द्धनवादको एउटा अभिन्न चरित्र हो । सामाजिक न्याय समानता । जनताको सर्वोच्चता र समावेशी लोकतन्त्र । उदार अर्थतन्त्र । मैले अघि पनि समस्याहरूको जडका बारेमा कुरा गर्दाखेरि निवेदन गरेँ ।

अलमलिएको प्राथमिकता । एक त राजनीतिक विषयले आर्थिक विषयलाई गौण बनायो, यसमा पनि हाम्रा मान्यतागत कमजोरीहरू छन् । समाजवाद र साम्यवादका जुन मान्यताहरू छन्, त्यो उदार अर्थतन्त्रको विकल्पको कुरा हो । खुला उदार बजारमुखी अर्थतन्त्रको विकल्पमा समाजवादी, साम्यवादी मान्यताहरू छन् ।

अहिले विद्वानहरूले भन्ने गरेका छन्, विश्व विजेता विचार तीनवटा छन्– प्रजातन्त्र, उदार खुल्ला बजारमुखी अर्थतन्त्र र शान्ति । यी तीन मान्यता विश्व विजेता विचारहरू हुन् । यसको पक्ष विपक्षमा बहस गर्न सकिन्छ । तर, प्रजातन्त्र र खुल्ला बजारमुखी अर्थतन्त्रको उपादेयताका बारेमा अब कुनै प्रश्न चिन्ह छैन । यी एक अर्काका परिपूरक हुन् । विश्वका एक से एक साम्यवादी मुलुकहरूले पनि अन्ततः यही उदार बजारमुखी अर्थतन्त्रको सहारा लिएर आफूलाई जीवन्त राखिराखेका छन् ।

तर, अन्तर्विरोध कहाँनेर छ ? यसको ज्वलन्त उदाहरण नेपालमा पनि हामी देख्न सक्छौँ । सिद्धान्त र विचारमा हामी साम्यवादी छौँ, समाजवादी छौँ, तर हाम्रा अर्थनीतिहरू हामीले खुल्ला बजारमुखी बनाउन खोजिराखेका छौँ । अनि फेरि खुल्ला बजारमुखी अर्थतन्त्रका विकृतिहरूका कारणले गर्दाखेरि हाम्रो सम्पूर्ण अर्थतन्त्र नै दिशाहीन जस्तो भएको छ । त्यसकारणले सम्वर्द्धनवादले खुल्ला बजारमुखी उदार अर्थतन्त्रलाई आफ्नो अभिन्न चरित्रका रूपमा लिएको छ । यो सम्वर्द्धनवादसँग किन गाँसिएर आएको छ भने वैदिक कालदेखि नै व्यक्तिगत स्वतन्त्रतालाई जोड दिइएको छ । वैदिक कालदेखि नै व्यक्तिको सम्पत्ति र व्यक्तिको स्वतन्त्रताका बारेमा प्रशस्त चर्चाहरू भएका छन् । त्यसकारण हामीले सम्वर्द्धनवादको कुरा गर्दा वैदिक सनातन मूल्य मान्यताको कुरा गर्‍यौँ र त्यसैको क्रमबद्ध रूपमा उदार अर्थतन्त्रको कुरा गरेका छौँ ।

साम्यवादीहरू, समाजवादीहरू वर्ग सङ्घर्षको कुरा गर्छन् । हामी वर्ग समन्वयको कुरा गर्छौँ । यसका साथसाथै शोषणरहित समाजको परिकल्पना गर्छौँ । र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली सम्वर्द्धनवादको अर्को महत्त्वपूर्ण विशेषता हो । र, यसरी सम्वर्द्धनवादलाई हामीले मुलुकको वैचारिक विकल्प, वैचारिक मार्गचित्रका रूपमा आत्मसात् गर्ने प्रयास गरिराखेका छौँ ।

 संरचनागत सुधार : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक चुनाव

संरचनागत सुधारको कुरा गर्दाखेरि हाम्रो राजनीतिक प्रणालीमा देखिएका विकृति र विसङ्गतिहरुको संरचनागत कारणलाई मात्रै दोष दिएर अहिलेको विकृति र विसङ्गतिबाट हामी मुक्त हुन सक्दैनौँ । अरू पनि कारणहरू छन् । तर, नीतिगत संरचनागत कारणहरू पनि छ । त्यो संरचनागत कारण के हो भने हाम्रोजस्तो विकासोन्मुख मुलुक, जहाँ जनतामा चेतनाको विस्तार भइसकेको छैन । यस्तो मुलुकमा परम्परागत शैलीको संसदीय प्रणालीले शान्ति र स्थायित्व नदिने रहेछ ।

अहिले हामीले सुनिराखेका छौँ, एउटा वडाको अध्यक्षले चुनाव लड्नका निमित्त बीसौँ लाख रुपैयाँ खर्च गर्नुपर्छ । सांसदको निमित्त करोडौँ खर्च गर्नुपर्छ । अनि यसरी करोडौँ खर्च गरेर जो निर्वाचित भएर आएको हुन्छ, उसले कसरी इमानदारीपूर्वक देश र जनताको सेवा गर्न सक्छ ? त्यसकारणले हामीले अब विना हिच्किचाहट यसको विकल्पबारे बहस सुरु गर्नुपर्‍यो ।

म आज राप्रपा नेपालका तर्फबाट आग्रह गर्न चाहन्छु– यो परम्परागत शैलीको संसदीय व्यवस्थाको विकल्पका बारेमा अब बहस सुरु गरौँ । र, हामीले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीतर्फ नेपाल जानुपर्छ भन्ने सोचाइका साथ यो बहसलाई अगाडि बढाएका छौँ ।

यो नितान्त हाम्रो नवीन सोचाइ हैन । विगतमा पनि यसबारेमा धेरै चर्चा परिचर्चाहरू भएका छन् । विगतमा म आफैँ संविधानसभाको सदस्य थिएँ । संविधानसभाको बहुमतको कुरा गर्ने हो भने यही प्रणालीको पक्षमा थिए । पार्टीगत आधारमा ज–जसले घोषणापत्र लिएर गएका थिए, ती पार्टीहरूको घोषणापत्रलाई हेर्ने हो भने बहुमत सङ्ख्या निर्वाचित कार्यकारिणी प्रधानमन्त्रीकै पक्षमा थियो । तर, संविधानसभाभित्रको राजनीतिक सन्तुलनका कारणले गर्दा हामीले सुधारिएको नाममा केही संशोधन गरेर परम्परागत शैलीकै संसदीय व्यवस्थालाई अगाडि बढायौँ । अब यसको विकल्पमा सोच्ने बेला आयो भन्ने हामीलाई लाग्छ ।

यसैगरी निर्वाचनमा देखा परेको जुन किसिमको विकृति र विसङ्गतिहरू छन्, हामीले २०१५ सालदेखि अहिलेसम्म जुन किसिमको चुनावी प्रणाली अवलम्बन गर्‍यौँ, त्यसमा केही सुधार गर्ने प्रयास स्वरूप समानुपातिक प्रणाली अवलम्बन गर्‍यौँ तर चुनावलाई स्वच्छ बनाउनका निमित्त अब पूर्ण समानुपातिक प्रणालीतर्फ जानुपर्छ भन्ने राप्रपा नेपालको सोचाइ रहेको छ ।

यसरी नीतिगत सुधारका क्रममा संरचनावाद, संरचनागत सुधारका क्रममा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली र अलमलिएको प्राथमिकताको अन्त्य गर्दै आर्थिक समृद्धिलाई अब सिङ्गो मुलुकले अर्जुनदृष्टिका साथ अगाडि बढाउनुपर्दछ । यसक्रममा खुल्ला बजारमुखी आर्थिक नीति, लोक कल्याण र ग्रामीण अर्थतन्त्रमा सरकारको भूमिका, पारदर्शी जवाफदेही र भ्रष्टाचारमुक्त प्रशासन र निजी क्षेत्रको अग्रणी स्थान यी मान्यताहरूका आधारमा मुलुकको समग्र आर्थिक विकास र समृद्धिको लक्ष प्राप्त गर्नेतर्फ अब जानुपर्दछ भन्ने हाम्रो धारणा रहेको कुरा यहाँहरू समक्ष निवेदन गर्न चाहन्छु ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।