बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : चुनावी तालमेलबारे गठबन्धन घटक अझै गृहकार्यमै सीमित, मौकाको खोजीमा एमाले

मङ्गलबार, २९ चैत २०७८, २२ : ४०
मङ्गलबार, २९ चैत २०७८

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन मिति नजिकिँदै जाँदा मधेस प्रदेशमा राजनीतिक दलहरूको सक्रियता बढेको छ । दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन जुटेका छन् ।

सत्तारुढ गठबन्धनका साथै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बेग्ला बेग्लै स्थलमा बैठक बसेर निर्वाचन केन्द्रित रणनीति बुनेका छन् । सत्तारुढ गठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचन बारेमा आपसमा तालमेल गर्न गठबन्धन घटकका जिल्ला नेतृत्वसँग पनि छलफल गर्ने निष्कर्षमा पुगेको हो ।

मंगलबार महोत्तरीको बर्दिबासमा बसेको मधेस प्रदेश गठबन्धनको बैठकले यसबीचमा जिल्लास्तरीय गठबन्धनबाट पालिका तह अनुसारको छलफल गरी खाका तयार पार्ने निर्णय गरेको छ । यसका लागि वैशाख २ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ भने बैठक वैशाख ३ र ४ गतेसम्म चार÷चार वटा जिल्ला कमिटीका अध्यक्षहरूसँग बैठक बस्ने योजना रहेको नेपाली काँग्रेस मधेस प्रदेश समितिका कोषाध्यक्ष प्रदीप यादवले जानकारी दिए ।

मधेस प्रदेशभित्रका आठवटै जिल्लामा गठबन्धन दलको छलफलपछि प्रदेश नेतृत्वसँग जिल्लागत रुपमा बैठक राखेर तालमेलको खाका तयार पार्ने निर्णय भएको गठबन्धन घटकका नेताहरुको भनाइ छ । प्रदेश गठबन्धन नेतृत्वसँग हुने त्यस्तो बैठकमा गठबन्धन घटकबाट जिल्ला सभापति तथा इन्चार्जसहित दुई जना मात्र सहभागी हुनेछन् ।

गठबन्धन बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सचिव योगकुमार बरबरियाले पाँच दलको बैठकमा महानगरपालिका र उपमहानरपालिकामा तालमेलबारे माथिल्लो स्तरबाटै टुङ्गो लगाउने सहमति भएको छ ।

यता, नेकपा एमालेले पनि चुनाव केन्द्रित रणनीति तयार पार्दैछ । महोत्तरीको बर्दिबासस्थित गौतम होटेलमा भएको बैठकबाट सत्तारुढ गठबन्धन दलभित्र रहेका असन्तुष्ट पक्षलाई समेटेर निर्वाचन केन्द्रित रणनीति बनाउने निर्णय भएको बैठकमा सहभागी नेताको भनाइ छ ।

नेकपा एमालेका नेता रामचन्द्र मण्डलले मधेस प्रदेश कमिटीको पूर्ण बैठक बसेर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने जनाए । उनका अनुसार स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धनबारे निर्णय गरिनेछ ।

एमाले मधेस प्रदेश समितिका सचिव सुमन प्याकुरेलले प्रदेश सदस्यहरुलाई गठबन्धन घटकभित्र व्यापक असन्तुष्टि रहेको उल्लेख गर्दै यसलाई प्रयोग गरी आफूतर्फ तान्न भरपुर प्रयास गर्न निर्देशन दिए । उनले गठबन्धन दल भित्रका असन्तुष्टिलाई बाहिर ल्याएमा अन्यत्र पनि फाइदा हुने भन्दै त्यसतर्फ गम्भिरतापूर्वक लाग्न प्रदेश सदस्यहरुलाई निर्देशन दिए ।

मंगलबार नै सम्पन्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको बैठकले पनि चुनाव केन्द्रित रणनीतिबारे छलफल गरेको छ । स्थानीय निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनोटबारे जिल्लागत रिपोर्ट तथा विभिन्न सुझावलाई केन्द्रीय समितिमा पेस गर्ने र विभिन्न स्थानीय तहमा हुन सक्ने तालमेल वा गठबन्धनलगायत बारेमा निर्णय भएको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप