नेपालगञ्ज दुर्घटना : दिउँसोदेखि मापसे गरेका चालकले कार चलाउँदा तीन जनाले ज्यान गुमाए
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११, सुनार मन्डी टोलमा बस्ने अस्लाम अन्सारीको परिवार शोकमा डुबेको छ । चालकको लापरबाहीका कारण भएको सवारी दुर्घटनामा अन्सारीले आफ्नो छोरा गुमाएका छन् ।
उनीमात्र होइन, सोही दुर्घटनामा अन्सारी बसेकै घरको अर्को फ्ल्याटमा बस्ने एक परिवारले दुई सदस्यलाई गुमाएको छ । तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनामा चालकको लापरवाही देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न कारका चालकले मदिरा सेवन गरेको स्वीकार गरेका छन् ।
यसरी भएको थियो दुर्घटना
आइतबार अन्सारी परिवारले साँझ ६ बजेर ४५ मिनेटमा रोजाको प्रार्थना गरेको थियो । राति १० बजे परिवारका सदस्यहरू खाना खाएर बाहिर निस्किएका थिए । गर्मीको समय, त्यसमा पनि रोजाका कारण दिनभरको कठोर उपवासका कारण राति खाना खाएर उनीहरू घुमफिर गर्न सडकमा निस्किएका थिए । त्यसो त, अन्सारी परिवार प्रायः सधैँ रातिको समयमा यसरी नै डुल्ने गरेको थियो ।
परिवारका सदस्यसँगै बाहिरबाट आएका आफन्तहरू पैदल नेपालगञ्जको वीपी चोकसम्म जाने मनसायले हिँडेका थिए । बाहिरबाट आएका साली लगायतका आफन्तलाई नेपालगञ्जको रोड देखाउन अन्सारी अलि पर पुगे । राति हावा खाँदै गफ गर्दै हिँडेका उनीहरू विपी चोक अगाडि पुरानो सिद्धार्थ कटेज नजिकै पुगेपछि तीव्र गतिमा एक्कासि एउटा कार आयो ।
प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको सो कारले अन्सारीसँगै डुल्न निस्किएका उनका छोरा र अन्य दुई जनालाई ठक्कर दियो । अन्सारीका पाँच वर्षीय छोरा अली अन्सारी, उनीसँगै एउटै घरमा बस्ने ६५ वर्षकी समिना इद्रिसी, उनका ४ वर्षीय नाति कासिम इद्रिसीलाई सो कारले ठक्कर दिएको हो ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगर–१० का २८ वर्षीय इन्द्रबहादुर थापाले चलाएको कारले उनीहरूलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका तीनै जनाको मृत्यु भएको छ ।
नेपालगन्जको औद्योगिक क्षेत्रमा काम गर्ने अन्सारी अहिले छोरा गुमाएको पीडामा छन् । स्थानीय व्यापारी सराफत खानका अनुसार मृतकहरू एउटै घरमा बस्थे । राति सडकमा डुल्न हिँडेको समयमा भएको सो दुर्घटनामा एक परिवारका दुई र अर्को परिवारका एक सदस्यको मृत्यु भएको हो ।
हुजुरआमासँगै ४ वर्षीय नातिको दुःखद निधन
६५ वर्षकी समिना इद्रिसी र उनका नाति ४ वर्ष कासिम इद्रिसीलाई कारले ठक्कर दिएपछि उपचारका लागि भेरी अस्पताल, नेपालगन्जमा लगिएको थियो । तर अस्पतालमा लगिएको आधा घण्टा मै चिकित्सकले दुवैलाई मृत घोषणा गरे । इद्रिसी सामान्य गृहिणी हुन् । उनी पनि खाना खाएपछि अन्सारी परिवारसँगै नातिलाई लिएर डुल्न निस्किएकी थिइन् ।
चालकको लापरवाही
नेपालगन्ज उपमहानगर–१० का २८ वर्षीय इन्द्रबहादुर थापा रेष्टुरेन्ट व्यवसायी हुन् । भाटभटेनी सुपरमार्केट आगाडि आफ्नो रेष्टुरेन्ट रहेको उनले प्रहरीलाई बताएका छन् ।
प्रायः साथीहरूसँग रमाइलो गर्ने थापाले आइतबार दिउँसो आफूले मदिरा सेवन गरेको जानकारी पनि प्रहरीलाई दिएका छन् । भेरी अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण रिपोर्टमा पनि मदिरा सेवन गरेको पुष्टि गरेका छन् ।
चालकले मदिरा सेवन गरेर लापरबाहीपूर्ण तरिकाले सवारी चलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुकृष्ण न्यौपानेका अनुसार प्रहरीले यसलाई सामान्य दुर्घटनाका रूपमा मात्र हेरेको छैन । चालकको लापरबाहीका कारण दुर्घटना भएकाले सोही अनुसार मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइने उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)