शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरमा काँग्रेसकै संस्थापन पक्ष र कोइराला पक्षबीच उम्मेदवारीका लागि हानथाप

खोसेर टिकट लिने कोइराला पक्षको दाबी
मङ्गलबार, २९ चैत २०७८, १९ : ४९
मङ्गलबार, २९ चैत २०७८

स्थानीय तहको निर्वाचन केन्द्रित चहलपहल बढेसँगै विराटनगरस्थित कोइराला निवासमा नेपाली काँग्रेसका नेता–कार्यकर्ताको आउजाउ पनि बढ्न थालेको छ । हप्ता नबिराई विराटनगर आउने गरेका काँग्रेस नेता शेखर कोइराला सानातिना बैठक, छलफल तथा सुझाव लिने काम यही निवासमा बसेर गर्छन् ।

कोइराला निवासमा काँग्रेसकै विषयमा, काँग्रेसकै नेता–कार्यकर्ता सम्मिलित बैठक तथा छलफलमा काँग्रेसको संस्थापन पक्ष भने सहभागी हुने गरेको छैन । केही दिन अगाडि काँग्रेसको चुनावी प्रचारका लागि कोइराला निवासमै एउटा गीत सार्वजनिक भयो । उक्त कार्यक्रममा संस्थापन पक्षका मात्रै होइन, नेता कृष्ण सिटौला पक्षका नेताहरू पनि उपस्थित भएनन् ।

शेखर कोइराला प्रमुख अतिथि भएका कार्यक्रममा संस्थापन पक्ष र सिटौला पक्षका नेता–कार्यकर्ता सन्दर्भ परेको खण्डमा बाहेक निम्तो पाए पनि जाँदैनन् । त्यति मात्रै होइन, कोइराला पक्षले पनि उनीहरूलाई सामान्यतया निम्तो दिने कष्ट गर्दैन । काँग्रेसको चुनावी गीत सार्वजनिक कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीलाई समेत निम्त्याइएन ।

काँग्रेसको कोइराला पक्षले झण्डै महिनादिन अगाडि विराटनगरमा शेखर कोइरालालाई वरिष्ठ नेताको उपाधि दिँदै जैन भवनमा आयोजना गरेको कार्यक्रममा पनि संस्थापन पक्षलाई ‘इग्नोर’ गरिएको थियो । ‘कार्यक्रममा अन्य सानातिना नेतालाई सम्बोधन गर्न दिँदा विराटनगरका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य (मलाई) बोल्न दिइएन,’ त्यसबेला मेयर पराजुलीले आफू निकटस्थसँग असन्तुष्टि पोखेका थिए ।

गठबन्धनको विपक्षमा र आफू अनुकूल विश्लेषण गरिरहेको कोइराला पक्षकै कारण मोरङमा गठबन्धनले ठोस आकार ग्रहण गर्न सकेको छैन । विराटनगरको महानगर समितिमा पनि कोइराला पक्षकै दीपक चापागाईं नगर सभापति छन् । उनकै नेतृत्वको समितिले विराटनगरमा गठबन्धनको आवश्यकता नभएको निर्णय गरिसकेको छ । तर, केन्द्रमा लगातार गठबन्धनको पक्षमा भएका निर्णयका कारण उम्मेदवार सिफारिस भने नगरेको चापागाईं बताउँछन् ।

‘हामीले केन्द्रको निर्णयका कारण उम्मेदवार सिफारिस गर्न रोकेका हौँ, नत्र हाम्रोमा १९ वटै वडाको अध्यक्षसहितको टिम र प्रमुख, उपप्रमुखका आकाङ्क्षीको नाम ठिक्क पारेर राखेका छौँ,’ उनले भने । उनले आफ्नो समूहले टिकट मागेर भन्दा खोसेर लिने बताए । ‘हामी टिकट मागेर होइन, खोसेर भए पनि लिन्छौँ,’ उनले भने, ‘संस्थापनले मनपरी गर्न पाउँछ ? हेरौँ त, कसरी अर्कोतिर दिँदो रहेछ ?’

यता संस्थापन पक्ष भने टिकट पाउनेमा ढुक्क छ । विराटनगर महानगरका प्रमुख समेत रहेका काँग्रेस नेता भीम पराजुलीले टिकट आफूहरूले नै पाउने बताए । ‘नगरसमितिले टिकट बाँड्ने हो र ? प्रदेश समितिको अवस्था के हो ? केन्द्रीय समितिको अवस्था के हो ? हाम्रो चाहनालाई पर राखेर केन्द्रीय समितिले कुनै निर्णय गर्न सक्दैन,’ पराजुलीले भने ।

काँग्रेस स्रोतका अनुसार संस्थापन पक्षबाट आकाङ्क्षी धेरै भए पनि केन्द्रीय सदस्य अमृत अर्याल र भीम पराजुलीमध्ये एक जनालाई महानगर प्रमुखको उम्मेदवार बनाउने तयारी छ । कोइराला पक्षले नागेश कोइरालालाई काँग्रेसबाट महानगर प्रमुखको उम्मेदवार बनाउने कोशिस गरिरहेको छ । ‘हाम्रो पक्षबाट त अन्तिममा नागेशजी नै उम्मेदवार हो,’ कोइराला पक्षका एक नेताले भने ।

तर, सो समूहबाट हालका नगरसभापति दीपक चापागाईंले पनि आकांक्षा राखिरहेका छन् । यता संस्थापन पक्षबाट अर्याल, पराजुलीका साथै नेतृ डिला सङ्ग्रौला, पूर्व प्रशासक तथा काँग्रेसका प्रदेश प्रतिनिधि गोपाल रेग्मीसम्मले मेयर पदका लागि पहल गरिरहेका छन् ।

स्रोतका अनुसार गठबन्धन बनेको खण्डमा अर्यालले आफू उम्मेदवार बन्नुपर्नेमा जोड दिँदै आएका छन् । एकल ढङ्गले निर्वाचनमा जानुपर्ने अवस्था भएको खण्डमा पराजुलीले पाउने सम्भावना छ ।

विराटनगर महानगरमा मतको हिसाब

सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा कसले बाजी मार्ला भन्ने चासो विराटनगरवासीमा मात्रै नभएर देशभर छ ।

विराटनगर नेपाली काँग्रेसको स्थापनाकालदेखिको विरासत बोकेको सहर हो । जसमा प्रजातान्त्रिक आन्दोलनको सुरुवातकर्ता स्व.कृष्णप्रसाद कोइराला, उनका छोराहरू बीपी कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालादेखि हालका काँग्रेस नेता शेखर कोइरालासम्मको लिगेसी विराटनगरमा छ ।

२०७४ सालको निर्वाचन यता काँग्रेस र एमालेको समीकरणमा फेरबदल भइसकेको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी अहिले नेपाली काँग्रेसमा समाहित भइसकेको छ भने काँग्रेसबाट बागी उम्मेदवारी दिएका विराटनगर–१९ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण सरदार पनि काँग्रेसमै समाहित भइसकेका छन् । यस अर्थमा अघिल्लो निर्वाचनको तुलनामा काँग्रेसको अवस्था केही मजबुत भएको देखिन्छ ।

यता, नेकपा एमाले भने अघिल्लो निर्वाचनको तुलनामा केही कमजोर भएको छ । पार्टी विभाजनका कारण एमालेको केही मत नेकपा एकीकृत समाजवादी पार्टीले काट्ने निश्चित छ ।

२०७४ को मत परिणामअनुसार महानगरका सबै वडाध्यक्षको मत जोड्दा काँग्रेसको १६ हजार ७६६ मत हुन्छ भने एमालेको १६ हजार २१८, संघीय समाजवादी फोरमको १० हजार ९३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४५२ छ । लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै काँग्रेसको मत अब २१ हजार ८ सय ६० मत पुग्छ ।

विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले एउटा वडामा जितेका थिए । अघिल्लो पटक काँग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।

त्यसबेला काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५२४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३६४ रहेको छ ।

विराटनगर महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा १९ हजार ३८१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार मतदाताको सङ्ख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप