बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा किन परिवर्तन गरियो मुख्य निर्वाचन अधिकृत ?

मेरै अनुरोध बमोजिम मुख्य निर्वाचन अधिकृत परिवर्तन भएको हो : न्यायाधीश रावल
मङ्गलबार, २९ चैत २०७८, १९ : ००
मङ्गलबार, २९ चैत २०७८

भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत फेरिएको सम्बन्धमा जिल्ला न्यायाधीश हेमन्त रावलले आफ्नै अनुरोधमा मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै न्यायाधीश रावलले आफूलाई सञ्चो नभएको कारण आफ्नै आग्रहमा मुख्य निर्वाचन अधिकृत फेरिएको बताएका हुन् । 

निर्वाचन आयोगले चैत २८ गते भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । यसअघि महानगरको मुख्य निर्वाचन अधिकृत रहेका चितवनका एक नम्बर वरियताका न्यायाधीश हेमन्त रावलको स्थानमा चार नम्बर वरियताका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको सूचना प्रकाशन गरेको थियो । तर आयोगले के कति कारणले मुख्य निर्वाचन अधिकृत परिवर्तन गरिएको हो भन्ने सम्बन्धमा केही बताएको छैन । एकाएक मुख्य निर्वाचन अधिकृत परिवर्तन भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि न्यायाधीश रावलले आफ्नै अनुरोधमा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको बताएका हुन् । 

फेसबुकमा उनले लेखेका छन्,‘म मिति २०७८/१२/२६ गते बेलुका देखि रिङ्गटा (dizziness) लाग्ने र बमन (vommiting) हुने समस्याले अस्वस्थ भै दुई दिनको अस्पताल बसाई पछि अहिले घरमा आराम गरिरहेको छु । स्वास्थ्य अवस्थामा तत्काल पूर्ण सुधार आई नसकेको अवस्थामा थप केही दिन घरमै आराम गर्नु पर्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम म अहिले घरमै आराम गरिरहेको छु । मेरो यो असहज अवस्थामा मैले निर्वाचन आयोगमा गरेकोे अनुरोध बमोजिम नै निर्वाचन आयोगबाट हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी हेरफेर गरी न्याय परिषद्बाट पहिले नै सिफारिस गरिएका न्यायाधीशको सूचीमा रहेका चितवन जिल्ला अदालतका अर्का सहकर्मी माननीय न्यायाधीश नै मूख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा तोकिएको अवस्था हो । मेरो शारीरिक अस्वस्थताको कारण उत्पन्न हुन गएको यो परिस्थितिलाई केही सञ्चार माध्यमहरुमा अन्यथा अर्थ हुने गरी समाचार सम्प्रेषण भएको देखिँदा अवस्था समाचारमा उल्लेख भए जस्तो नभएको ब्यहोरा स्पष्ट गर्दै निर्वाचनको निष्पक्षतामा असर पर्ने गरी निर्वाचन आयोग र अन्य कुनै राजनीतिक दलप्रति कुनै किसिमको अन्यथा टिकाटिप्पणी नगरि दिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु ।’

रातोपाटीसँग संक्षिप्त कुराकानीमा पनि न्यायाधीश रावलले आफ्नै आग्रहमा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको हेरफेर गरेको बताए । उनले भने, ‘म त सञ्चो नभएर सुतिरहेको छु । मुख्य निर्वाचन अधिकृतको विषयलाई लिएर विभिन्न समाचार पनि आएको रहेछ । अरु कुनै कारण होइन । डाक्टरले केही समय आराम गर्नु भनेका छन् । त्यसकारण दौडधूप गर्न समस्या हुने भएपछि मैले नै निर्वाचन आयोगमा लिखित निवेदन पठाएको थिएँ । मलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीबाट मुक्त गरिदिन गरेको आग्रह बमोजिम नै आयोगले मुख्य निर्वाचन अधिकृत फेरेको हो । सामाजिक सञ्जाल र केही अनलाइनमा आएका समाचार मनगढन्ते हुन् ।’ 

भरतपुर महानगरमा मुख्य निर्वाचन अधिकृतको हेरफेरलाई लिएर सामाजिक सञ्जालमा निर्वाचन आयोगको निर्णयको आलोचना भएको थियो । केही सञ्चारमाध्यममा निर्वाचनलाई नै असर गर्ने गरी मुख्य निर्वाचन अधिकृतको परिवर्तनलाई सत्ता गठबन्धन र आगामी निर्वाचनको परिणाम समेतलाई लिएर समाचार आएको थियो । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी रेणु दाहाल मेयर छिन् । अघिल्लो निर्वाचनमा भरतपुरमा मतगणनाका क्रममा विवाद भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप