आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसारणलाइनको अभावमा १९ मेगावाट बिजुली खेर जाँदै

मङ्गलबार, २९ चैत २०७८, १५ : २९
मङ्गलबार, २९ चैत २०७८

प्रसारण लाइनको अभावमा १९ मेगावाट बिजुली खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र ७ मेगावाट क्षमताको उपल्लो खिम्ती दोस्रो आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको हो ।

यी आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा १९ मेगावाट बिजुली खेर गइरहेको बताइएको छ । स्थानीयको अवरोधका कारणले यी दुई आयोजनाबाट उत्पादित बिजुली जोड्ने प्रसारण लाइनको निर्माण प्रक्रिया सकिएको छैन । आगामी असार महिनासम्ममा सक्नुपर्ने प्रसारण लाइन निर्माणको काम स्थानीयसँगको मुआब्जा विवादका कारण ढिलाइ भइरहेको छ ।

प्रसारण लाइन निर्माण गर्न नसकेपछि दुई आयोजनाबाट उत्पादित १९ मेगावाट बिजुली वैकल्पिक व्यवस्था गरी प्रसारण लाइनमा जोडिने भएको छ । गज्र्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिने छ । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसनहुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

प्राधिकरणले यसका लागि सिंगटी सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जोडी चार्ज गरिसकेको छ । गज्र्याङ सबस्टेसनमा रहेको १३२÷३३ केभी, ३० एमभिएको पावर ट्रान्सफर्मरलाई १० दिनभित्रमा चार्ज गर्ने लक्ष्य राखिएको छ ।

वैकल्पिक व्यवस्था अनुसार आयोजनाबाट अहिले उत्पादित करिब १० मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ, बर्खा लागेपछि मात्रै आयोजनाहरु पूर्ण क्षमतामा चल्ने भएकोले त्यति बेलासम्म गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप