शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह चुनाव : दैलेखको चामुण्डाबिन्द्रासैनीमा नेमकिपा निर्णायक भूमिकामा

एमाले र सत्तारुढ गठबन्धनमा कसको जनाधार कति ?
मङ्गलबार, २९ चैत २०७८, १५ : २०
मङ्गलबार, २९ चैत २०७८

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एमालेले सुर्यबहादुर शाहीलाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । सत्तारुढ गठबन्धनबाट भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । यद्यपि यो पालिकामा नेपाल मजदुर किसान पार्टीको पनि राम्रो प्रभाव रहेका कारण स्थानीय तहको निर्वाचनमा हुने जित वा हारमा यो पार्टीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।

आइतबार एमाले नगर कमिटीको बैठकले शाहीलाई मेयर पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी यसअघि एमाले दैलेखको अध्यक्षमा पराजित भएका थिए । उनले पार्टीभित्रको गुटबन्दीका कारण आफू पराजित भएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

दैलेख जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । त्यसैले सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने आकलन गरिएको छ ।

काँग्रेसबाट मेयरका लागि गणेशबहादुर शाही, वासुदेव शर्मा (व्यवसायी), ईश्वर विष्ट, नारायण रेग्मी, सर्पराज शाही लगायत छन् । यीमध्ये पनि गणेशबहादुर शाही र वासुदेव शर्मा मुख्य दाबेदार मानिन्छन् ।

शाही ०७४ को निर्वाचनमा एमालेका सुर्यबहादुर शाहीसँग १०३ मतले पराजित भएका थिए । उनी कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका पुत्र समेत हुन् । त्यसैले मेयरमा काँग्रेसबाट शाही उम्मेदवार बन्न सक्ने आकलन धेरैको छ ।

माओवादी केन्द्रबाट रणबहादुर खड्का, अर्जुन बुढा लगायतका नेता मेयरका दाबेदार हुन् भने नेकपा एकीकृत समाजवादीबाट  निरक बहादुर शाही, भूपेन्द्र शाही आकांक्षी छन् ।

अंकगणित यस्तो छ

यो नगरपालिकामा सत्तारुढ गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भएको खण्डमा एमालेका लागि ठुलो चुनौती उत्पन्न हुन सक्छ । सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा एमालेले पनि नेमकिपासँग तालमेल गर्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

गठबन्धनभित्रका नेताहरुका अनुसार हालसम्म तीनवटा बैठक बसेको छ । जसमा ०७४ मा चौथो शक्ति रहेको माओवादीले  उपमेयर र तीनवटा वडामा दाबी गरेको छ भने नेपाली काँग्रेसले मेयर र केही वडामा दाबी गरेको छ । एकीकृत समाजवादीले पालिकाका अधिकांश वडा आफूलाई दिनुपर्ने तर्क गरेको छ ।

प्रदेश सरकारमा कानुन मन्त्री हिमबहादुर शाही सत्तारुढ दलहरुबीच तालमेलका आधारमा उम्मेदवारी दिइने बताउँछन् ।

०७४ को अंकगणित हेर्दा एमालेबाट मेयर बनेका सुर्यबहादुर शाहीले २ हजार ७७३ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश बहादुर शाहीले २ हजार ६७० र माओवादी केन्द्रका रणबहादुर खड्काले ८१३ मत ल्याएका थिए ।

तर नेपाल मजदुर किसान पार्टीका टिकाराम विष्टले माओवादी केन्द्रका खड्का भन्दा धेरै अर्थात् एक हजार ३३३ मत ल्याएका थिए । विष्टका धेरैजसो मत व्यक्तिगत भएको नेताहरु बताउँछन् । नौ वटा वडा रहेको यो पालिकामा नेमकिपाले वडा नम्बर ३ र ७ मा पनि जितेको थियो भने नेपाली काँग्रेसले वडा नम्बर ५ मा जितेको थियो ।

यदि काँग्रेस र माओवादी केन्द्रको मत जोड्ने हो भने यो पालिकामा एमालेमाथि सत्तारुढ गठबन्धन हावी हुने देखिन्छ । तर एमाले र नेमकिपाबीच तालमेल भएको अवस्थामा भने सत्तारुढ गठबन्धनलाई जित निकाल्न निकै कठिन हुने देखिएको छ ।

यद्यपि, एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले एमालेकै भोट काट्ने भएकाले अघिल्लो निर्वाचनमा एमालेले हासिल गरेको मतकै आधारमा आसन्न निर्वाचनमा पनि उसले मत पाउला भन्ने अपेक्षा गर्न सकिँदैन ।

एमालेले यो पालिकालाई प्रतिष्ठाको विषय बनाएको छ । यहाँ एमालेसामु चुनावी तालमेलका लागि नेमकिपा एउटा उत्कृष्ट विकल्प हुन सक्ने एमालेकै कार्यकर्ता बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप