बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

‘अति संवेदनशील’ मतदान केन्द्र मधेसमा धेरै (सूची)

सुरक्षा निकाय भन्छ, ‘संगठित समूहको थ्रेट छैन’
मङ्गलबार, २९ चैत २०७८, १४ : ४२
मङ्गलबार, २९ चैत २०७८

काठमाडौँ । स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै ‘अति संवेदनशील’ मतदान केन्द्र मधेस प्रदेशमा रहेको सुरक्षा विश्लेषण गरिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै ‘अति संवेदनशील’ मतदान केन्द्र छन् ।

मधेस प्रदेशमा १ हजार ६५ वटा मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । मधेसमा संवेदनशील मतदान केन्द्र ८ सय ८९ र सामान्य मतदान केन्द्र २ सय ९ वटा छन् । सीके राउत नेतृत्वको जनमत पार्टीको उच्छृङ्खल गतिविधि र खुला सिमानाबाट हतियार ओसार पसार हुँदा आउने सुरक्षा चुनौतीका कारण मधेसका धेरै मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

प्रदेश–१ मा  ३२१ वटा मतदान स्थल अतिसंवेदनशीलको सूचीमा छन् । प्रदेश–१ मा ८ सय ४८ वटा मतदान स्थललाई संवेदनशील र ७०९ वटा लाई सामान्य वर्गीकरण गरिएको छ । बागमती प्रदेशमा ३ सय १० मतदान स्थल अति संवेदनशील सूचीमा छन् । बागमतीमा ६ सय ७१ वटा संवेदनशील र ८ सय ११ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ । 

गण्डकी प्रदेशमा अति संवेदनशील मतदानस्थल सबैभन्दा थोरै छन् । गण्डकीमा अति संवेदनशीलको सूचीमा २ सय ८५ वटा मतदान स्थल छन् । त्यहाँ ५४६ वटा संवेदनशील,  ४ सय २२ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ । लुम्बिनी प्रदेशमा ३ सय ४४ वटा अति संवेदनशील, ६५५ वटा संवेदनशील र ६३० वटा सामान्य मतदान केन्द्रको सूचीमा छन् ।

कर्णालीमा अति संवेदनशील मतदान स्थल २ सय ९४ वटा छन् । कर्णालीमा ४ सय ४ वटा मतदान केन्द्रलाई संवेदनशील र २०८ वटालाई सामान्यको सूचीमा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा ३२७ वटा मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सुदूर पश्चिममा ४१० वटा संवेदनशील र ३९८ वटा सामान्य मतदान स्थल छन् । 

मतदान स्थलको वर्गीकरण सूची

संगठित समूहको थ्रेट छैन–प्रहरी

स्थानीय तह निर्वाचनमा कुल १० हजार ७५६ वटा मतदान स्थल छन् । मतदान केन्द्र (मतपेटिका) २० हजार ५२६ वटा राख्ने निर्णय गरिएको छ । देशभर २९ हजार ४६ वटा अति संवेदनशील मतदान स्थल छन् । संवेदनशील मतदान स्थल ४ हजार ४२३ र सामान्य  मतदान स्थल ३ हजार ३८७ वटा छन् ।

मतदान स्थल र केन्द्रमा संगठित समूहको ‘थ्रेट’ नभएको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले चुनाव बहिष्कारको निर्णय गरेका छन् । तर, ती दुई संगठनबाट चुनौती नभएको प्रहरी प्रधान कार्यालयको निश्कर्ष छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको छ । तर, विप्लवलाई चुनावमा भाग लिने वातावरण नबने ‘थ्रेट’ हुन सक्ने पनि विश्लेषण गरिएको छ । 

स्थानीय तह निर्वाचनमा संगठित समूहको भन्दा भौगोलिक विकटता, खुला सिमाना र बढी जनघनत्व भएका स्थान सुरक्षा चुनौती हुन सक्ने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले रातोपाटीलाई बताए । एसएसपी केसीले भने, ‘धेरै झडप हुने गरेका र सम्भावित झडप हुन सक्ने ठाउँलाई पनि हामीले सुरक्षा चुनौतीको रूपमा हेरेका छौँ ।’

तराईमा सक्रिय सशस्त्र समूह अहिले चुनाव बिथोल्न सक्ने अवस्थामा छैनन् । भूमिगत समूहको कमाण्ड गरिरहेका जयकृष्ण गोइत भारतमा स्वास्थ्य उपचार गराइरहेका छन् । केही समयअघि भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, नेपाल प्रहरीले उनलाई नेपाल ल्याउन सकेन । 

खगेन्द्र खरेल नेतृत्वको हिमाल सुरक्षा परिषद्का सदस्यहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । इटहरीमा विस्फोट गरेको आरोपमा प्रहरीले ४३ वर्षका खगेन्द्र खरेल उर्फ सञ्जय सहितको समूहलाई केही दिन अघि पक्राउ गरेर मुद्दा चलाइएको थियो । सो समूहबाट पनि निर्वाचनमा थ्रेट नहुने प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।

तराईमा सीके राउत नेतृत्वको जनमत पार्टीको गतिविधि प्रहरीले नियाली रहेको छ । तर, सो पार्टीलाई प्रहरीले मुख्य ‘थ्रेट’को रूपमा लिएको छैन । सत्ता गठबन्धन र नेकपा एमालेका बिचमा हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘गठबन्धन भित्रको आन्तरिक मतभेद पनि थ्रेट हुन सक्छ । तर, स्थानीय तह निर्वाचनमा २०७४ को जस्तो थ्रेट अहिले छैन ।’ 

अति संवेदनशीलमा ३ प्रहरी ८ म्यादी

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता एसएसपी केसीले बताए ।

सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप