सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति, कति छ खातामा ?
सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएपनि अझै सो समयका लागि पुग्ने अवस्था रहेको औंल्याइएको हो । बैंकका अनुसार फागुन मसान्तमा रु.११७१ अर्ब डलर विदेशी सञ्चिती रहेको छ ।
यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई रु.१०१८ अर्ब ५ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकको भनाइ छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्रा प्रदायकसँग अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।