आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड र म एकैदिन होलटाइमर बनेको हो, विरोध हुँदा पार्टीमा अवसर पाइनँ : नारायण दाहाल

मङ्गलबार, २९ चैत २०७८, १८ : १०
मङ्गलबार, २९ चैत २०७८

नवनियुक्त राष्ट्रियसभा सदस्य नारायण दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकैदिन पार्टीमा पूर्णकालीन (होलटाइमर) भएर हिँडेको बताएका छन्  । आफू निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उनले प्रचण्डलाई जोडेर आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसरहरू गुमाउनु परेको बताए । 

मंगलबार पद तथा गोपनीयताको शपथ दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने,  ‘म मेरो हैसियतको कुरा गर्दाखेरी अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरूले गर्दा मैले पाउनुपर्ने जति अबसरहरु गुमाउनु परेको छ बरु ।’

प्रचण्डको परिवारमा छोराछोरीदेखि सबै र आफ्ना पनि छोरा, बुहारी, श्रीमती सबै हामी युद्धमै रहेको उल्लेख गर्दै भने, ‘दश वर्षको जनयुद्धमा हामी आफूलाई सम्पूर्ण रुपमा समर्पित भएर हिँडेकाहरूलाई अब अहिले आएर यो कुरा भन्ने कुरा त तुक त छैन । तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने पनि बताए । यस्तै उनले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताए । दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप