अन्तरवार्ता

२०७४ मा जितेका आधारमा तालमेल हुँदैन : झलनाथ खनाल

‘काठमाडौँ लिने कि पोखरा ? मोटालिटी टुङ्गो लागेपछि भन्न सकिन्छ’

person explore access_timeचैत २९, २०७८ chat_bubble_outline0

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनको चुनावी तालमेलसम्बन्धी मोडालिटी आजै टुङ्गो लाग्ने बताएका छन् । मोडालिटीबारे टुङ्गो लागेपछि एकीकृत समाजवादी पार्टीले काठमाडौँ महानगरपालिका लिने वा पोखरा लिने भन्नेबारे टुङ्गो लाग्ने खनालको भनाइ छ ।  


चुनावी गठबन्धनबारे भइरहेको तयारीका सन्दर्भमा रातोपाटीसँग कुरा गर्दै नेता खनालले भने, ‘महानगर र उपमहानगरमा तालमेल गर्ने प्रक्रिया केन्द्रबाट टुङ्गो लगाउने भनेका छौँ । हामी मंगलबार (आज) बेलुकासम्म चुनावी तालमेलको मोडालिटी टुङ्गो लगाउँछौँ ।’



देशभरिका ६ वटा महानगरपालिकामध्ये एकीकृत समाजवादी पार्टीले पोखरा महानगरमा दाबी गर्छ कि काठमाडौँमा भन्ने प्रश्नमा खनालले भने, ‘काठमाडौँ लिने कि पोखरा लिने मोडालिटी तयार भएपछि मात्रै भन्न सकिन्छ, अहिले नै भन्न सकिँदैन ।’



०७४ सालको स्थानीय तहमा जुन दलले जितेको थियो, त्यसमा भागबण्डा नगर्ने र एमालेले जितेका स्थानीय तहमा मात्रै भागबण्डा गर्ने गरी तालमेल हुन लागेको हो कि भन्ने प्रश्नमा खनालले त्यसलाई अस्वीकार गरे ।

गठबन्धन दलहरूले नयाँ परिस्थिति हेरेर त्यसैअनुसार तालमेल गर्ने खनालले स्पष्ट पारे । उनले भने, ‘यसअघिको निर्वाचनमा कहाँ, कसको, कस्तो अवस्था थियो भन्ने कुरामा तालमेल गर्न मिल्दैन । त्यसमा धेरै ठूलो परिवर्तन भइसकेको छ ।’

एकीकृत समाजवादी पार्टीको अवस्था नेकपा मालेको जस्तै हुने हो कि भन्ने प्रश्नमा खनालले एमालेमा आएको विभाजन विगतको जस्तो एउटै मुद्दामा आधारित नभएर सैद्धान्तिक भएको बताए । एमालेबाट आफूहरूले विद्रोह गरेको ६ महिनामै देशैभरि पार्टी विस्तार भएको उनले दाबी गरे । प्रस्तुत छ– एकीकृत समाजवादीका नेता खनालसँग रातोपाटीले गरेको कुराकानी –  

स्थानीय चुनावमा देशैभरि तालमेल गर्ने पाँच दलले औपचारिक निर्णय नै गरिसकेका छन् । तपाईंको समेत हस्ताक्षरमा अपिलसमेत जारी भैसकेको छ । अब कुन मोडालिटीमा गठबन्धन गर्ने तयारी भइरहेको छ ?

हामी अहिले ७५३ स्थानीय तहको निर्वाचनको प्रक्रियामा छौँ । यो निर्वाचनलाई कुनै पार्टीको केन्द्रबाट मात्रै निर्णय गरेर निर्देशित गर्न गाह्रो छ । त्यसैले पार्टीहरूले सबैभन्दा पहिले केन्द्रमा नीतिगतरुपमा तालमेल गर्नुपर्ने हुन सक्छ । नीतिगतरुपमा एकताबद्ध भएर पाँच दल अगाडि बढ्छौँ भन्ने कुरामा केही अगाडिदेखि नै सहमत भएका छौँ ।

हामीले विभिन्न उम्मेदवारहरू चयन गर्दा कस्तो मापदण्डका आधारमा चयन गर्ने भन्ने विधि निर्माण गर्छौँ । कुन तहको तालमेल कसरी गर्ने भन्ने सन्दर्भको नीतिगत निष्कर्षलाई एउटा निर्देशिकाका रूपमा देशव्यापीरुपमा जारी गर्नेछौँ ।

सहमत भए पनि ठोस निर्णय हुन सकिरहेको थिएन । सोमबार बिहान बालुवाटारमा बसेको पाँच दलको बैठकबाट एउटा अपिल प्रकाशित गरेका छौँ । त्यो अपीलमार्फत सबै पाँच दलका नेता कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूलाई एकताबद्ध भएर तालमेल गर्ने र एक आपसमा बढी भन्दा बढी उदार भएर एक आपसमा सम्मानजनक ढङ्गले सिटहरूको बाँडफाँट गर्ने कुरा गरेका छौँ ।

तालमेलको सैद्धान्तिक सहमति त भयो । तर, मोडालिटीचाहिँ कहिलेसम्म टुङ्गो लगाउनुहुन्छ ?

हामीले विभिन्न तहमा छलफल गर्नुपर्ने र विभिन्न तहका संयन्त्रमार्फत तिनीहरूलाई टुङ्ग्याउनुपर्ने आवश्यकता महसुस गरेका छौँ । त्यस आधारमा हेर्दा महानगर र उपमहानगर तालमेल गर्ने प्रक्रिया केन्द्रबाट टुङ्गो लगाउने भनेका छौँ ।

त्यसपछि नगरपालिकाहरूलाई प्रदेश कमिटीमार्फत टुङ्गो लगाउने र त्यो भन्दा तलका गाउँपालिकालाई जिल्ला कमिटी र पालिका कमिटी वा निर्वाचन क्षेत्रका क्षेत्रीय कमिटीबाट छलफल गरेर टुङ्गो लगाउने भनेका छौँ । त्यसमा हामीले नयाँ मोडालिटी विकास गर्न खोजेका छौँ । हामी मंगलबार (आज) बेलुकासम्म चुनावी तालमेलको मोडालिटी पनि टुङ्गो लगाउँछौँ ।

हामीले विभिन्न उम्मेदवारहरू चयन गर्दा कस्तो मापदण्डका आधारमा चयन गर्ने भन्ने विधि निर्माण गर्छौँ । कुन तहको तालमेल कसरी गर्ने भन्ने सन्दर्भको नीतिगत निष्कर्षलाई एउटा निर्देशिकाका रूपमा देशव्यापीरुपमा जारी गर्नेछौँ ।

०७४ को चुनावमा जुन स्थानीय तह जुन पार्टीले जितेको थियो, त्यो सोही दललाई दिने अनि एमालेले जितेका स्थानीय तह मात्र भागबण्डा गर्ने मोडालिटीका विषयमा छलफल भइरहेको हो ?

यस्तोखालको मापदण्ड बनाउँदैनौँ । बनाउनु पनि हुँदैन । खाली त्यो अध्ययन गर्ने आधार मात्रै बन्छ । अहिलेको तालमेलको मापदण्डको आधार त्यस्तो बन्दैन ।

प्रत्येक वडाहरू र प्रत्येक पालिकाहरूमा गतिविधि भइरहेका छन् । यी गतिविधिद्वारा नै कसको शक्ति कति छ ? भन्ने कुराको आकलन हुनेछ । अहिले नै ठोस मापदण्ड निकाल्न सकिँदैन । अहिले खाली अनुमान मात्रै गर्ने हो । तर, त्यो आकलन र अनुमान गर्दा पनि तथ्यहरूका आधारमा निकाल्नुपर्ने हुन्छ । एक आपसमा पार्टीहरू बसेर तथ्यसंगत ढङ्गले एक अर्काको शक्तिको अवस्थाबारे विश्लेषण गरेर साझा निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

हामीले जतिबेला तालमेलको कुरा गरिरहेका छौँ, यो तालमेलको अवस्थासम्म आइपुग्दा कुन पार्टीको अवस्था कस्तो छ ? उनीहरूको शक्तिको अवस्था कस्तो छ ? उनीहरूको प्रभाव कस्तो छ ? यी कुराहरूमा एक आपसमा छलफल गरेर टुङ्गो लगाउनुपर्ने हुन्छ ।

यसअघिको निर्वाचनमा कहाँ कसको कस्तो अवस्था थियो भन्ने कुरामा तालमेल गर्न मिल्दैन । त्यसमा धेरै ठूलो परिवर्तन भइसकेको छ । कतिपय पार्टी विभाजन नै भएका छन् । कतिपय पार्टीको अवस्था त्यतिबेलाको भन्दा कतै खस्केको छ, कतै अलि राम्रो पनि भएको छ ।

पछिल्लो अवस्थासम्म आउँदा कुन पार्टीको कस्तो अवस्था छ, यो अवस्थालाई विश्लेषण गर्नुपर्ने हुन्छ । त्यो विश्लेषण भनेको सम्बन्धित तहमा बसेर दुवै पक्षले वा सबै पक्षले एक आपसमा बसेर परिस्थितिको विश्लेषण गर्ने, आकलन गर्ने र एउटा सहमतिमा पुग्ने काम गर्नुपर्छ । त्यो सम्बन्धित सबै पार्टीलाई थाहा भइहाल्छ ।

यस्तोखालको मापदण्डबाट कसरी मिलाएर भागबण्डा गर्नुहुन्छ त ?

प्रत्येक वडाहरू र प्रत्येक पालिकाहरूमा गतिविधि भइरहेका छन् । यी गतिविधिद्वारा नै कसको शक्ति कति छ ? भन्ने कुराको आकलन हुनेछ । अहिले नै ठोस मापदण्ड निकाल्न सकिँदैन । अहिले खाली अनुमान मात्रै गर्ने हो । तर, त्यो आकलन र अनुमान गर्दा पनि तथ्यहरूका आधारमा निकाल्नुपर्ने हुन्छ । एक आपसमा पार्टीहरू बसेर तथ्यसंगत ढङ्गले एक अर्काको शक्तिको अवस्थाबारे विश्लेषण गरेर साझा निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

देशैभरका ७५३ पालिकामध्ये तपाईंको पार्टीले चाहिँ कति सीट दाबी गर्ला ? तपाईंहरू महानगरपालिका लिनै परे काठमाडौँ पनि लिनुहुन्छ कि पोखरा ?

अहिले हामी प्रतिशत वा सङ्ख्याका आधारमा जाँदैनौँ । हरेक पालिका र वडासम्म अन्तिम अवस्थासम्म जुन अवस्था विकसित भएको छ । त्यो विकसित भएको अवस्थाबाट तालमेल गर्छौँ । त्यसपछि मात्रै महानगरपालिका कुन लिने भन्न सक्छौँ । काठमाडौँ लिने कि पोखरा लिने मोडालिटी तयार भएपछि मात्रै भन्न सकिन्छ, अहिले नै भन्न सकिँदैन ।

केन्द्रबाट टुङ्गो लगाउने तालमेलबाट चुनाव जित्न सकिएला त ?

केन्द्रबाट तालमेल गरेर चुनाव जित्न सकिँदैन भन्ने विरोधीहरूको कुरा हो । गठबन्धनका पाँच दलहरू एकताबद्ध भएर वास्तविकता र आ–आफ्नो यर्थाथ शक्तिमा आधारित भएर तालमेल गरेर अगाडि बढेमा मलाई लाग्छ, राष्ट्रव्यापीरुपमा पाँच दलीय गठबन्धन अधिकांश क्षेत्रमा विजयी हुन्छ ।

पाँच दलीय गठबन्धन गरेर जितिन्छ भन्ने के ग्यारेन्टी छ ?

हामीले विगतका अनुभवहरू पनि हेर्छौँ । अहिलेको आवश्यकतालाई पनि ध्यानमा राखेर विश्लेषण गर्नेछौँ । संविधानको रक्षा, संसद्को रक्षा र सही परिचालन, गणतन्त्रको रक्षा, त्यस्तै समावेशी लोकतन्त्रको रक्षा गर्ने र मुलुकलाई  स्थायित्व दिने कुरा मुलुकमा ज्वलन्त समस्या बनेका छन् । हामीले यी मुद्दाहरूलाई लिएर तालमेल गरेका छौँ ।

अरू सामाजिक, सांस्कृतिक, आर्थिक सवाल  र राष्ट्रिय सवालहरू आफ्नो ठाउँमा छँदै छन्, ती पहिलादेखि नै छन् । तर, अहिलेको राजनीतिक मुद्दामा हामीले संविधान विरोधी, संसद् विरोधी र स्थायित्व विरोधी अराजक शक्तिलाई पराजित गर्ने मुख्य मुद्दा बनेको छ । संविधान पक्षधर, लोकतन्त्र पक्षधर र संसद् पक्षधर शक्तिहरूलाई जिताउने कुरा अहिलेको चुनावी अभियानको मुख्य मुद्दा बनेको छ ।

गठबन्धनमा तालमेल मिलाउन सकस भइरहेको देखिन्छ, यदि तालमेल नै नहुने स्थितिमा के गर्ने विकल्प पनि सोच्नुभएको छ कि ?

एमालेले उम्मेदवार चयन गर्ने सिलसिलामा हामीले हेरेका छौँ । एक पदका निम्ति एक दर्जन मान्छेहरू देखा परेका छन् । उनीहरूभित्र उत्पन्न हुने गम्भीर अन्तर्विरोधलाई पनि हेरेका छौँ ।

गठबन्धनभित्र समस्या हुँदैन भन्न सक्दैनौँ, यहाँ पनि अन्तर्विरोध हुन सक्छ । ती अन्तर्विरोधलाई उपयोग गर्न सकिन्छ कि भनेर उनीहरू पर्खिरहेका होलान् । हामी त्यसरी पर्खेर उपयोग गर्ने अवसर निश्चितरुपमा दिँदैनौँ । बरु उनीहरूलाई समस्या समाधान गर्न नसक्ने अवस्थामा देखेको छु ।

हाम्रा कार्यदिशा, नीति, सिद्धान्त र एमालेले नेतृत्व गरेको गुटको सिद्धान्त र नीतिमा आधारभूत भिन्नता छन् । यही आधारभूत भिन्नताका कारणले अहिले पार्टी तीव्रताका साथ विस्तार भइरहेको छ । र, एमाले त्यस्तै तीव्रताका साथ खुम्चिँदै गइरहेको छ ।

तपाईंहरूको एकीकृत समाजवादी पार्टीको यसअघि अभियान लिएर सातै प्रदेशमा गएको थियो । पार्टीको अवस्था कस्तो पाउनुभयो ?

म के निष्कर्षमा छु भने टंकप्रसाद आचार्यको बेलादेखि प्रजा परिषद्बाट राजनीतिक पार्टीहरूको विकासक्रम सुरु भयो । त्यहाँदेखि यहाँसम्म आउँदा अनेकौँ पार्टीहरू उदय भए । अनेकौँ पार्टीहरू विलय भए । तर, पछिल्लो अवधिमा नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको ६ महिना मात्रै क्रस गर्दैछ, यो  ६ महिनाको बीचमा एउटा राष्ट्रव्यापी पार्टी बन्न पुगेको छ । त्यो पार्टीका वरिपरि २१ वटा राष्ट्रिय स्तरका जनसंगठनहरु निर्माण भएका छन् । देशका ७७ जिल्लामा संगठनहरु विस्तार भएका छन् ।

पार्टीको नेतृत्वमा लाखौँ जनताको पङ्क्ति यसरी गोलबद्ध हुनु यो नेपालको इतिहासमा एउटा अभूतपूर्व कुरा हो । यति छोटो समयमा यत्तिको ठूलो पार्टी अहिलेको इतिहाससम्म बनेको थिएन । नेपालको संगठन निर्माणमा नवीन कुरा हो ।

हाम्रो पार्टीको जुन विकास र विस्तार रफ्तारमा भइरहेको छ । यो रफ्तार हामीले कायम राखेर जान सक्यौँ भने एक–दुई वर्षमा नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मात्र होइन, साँच्चि नै राष्ट्रिय स्तरमा शक्तिशाली पार्टीका रूपमा एकीकृत समाजवादी हुनेछ ।

यस्तै अवस्था भए ०५६ सालको नेकपा मालेको जस्तै स्थिति दोहोरिने त होइन ?

त्यो घटना भनेको एउटा मुद्दा (महाकाली सन्धि) मा मतभिन्नताले सिर्जना गरेको पार्टी विभाजन हो । अहिलेको घटना भनेको पार्टीको कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, विधि पद्धति समग्रमा भएको आधारभूत भिन्नतापछि सिर्जना भएको विद्रोह हो । यो पार्टी विद्रोह हो । त्यसैले हाम्रा कार्यदिशा, नीति, सिद्धान्त र एमालेले नेतृत्व गरेको गुटको सिद्धान्त र नीतिमा आधारभूत भिन्नता छन् । यही आधारभूत भिन्नताका कारणले अहिले पार्टी तीव्रताका साथ विस्तार भइरहेको छ । र, एमाले त्यस्तै तीव्रताका साथ खुम्चिँदै गइरहेको छ ।

तर, एमाले अध्यक्ष केपी ओलीले तपाईंहरूलाई कुनै शक्ति नभएर ‘चोइटो’ मात्रै मानिरहनुभएको छ नि ?

यो चोइटो हुँदा पनि होइन । यो पार्टी वास्तविकरुपमा कम्युनिस्ट आन्दोलन विकास हुँदै आउँदा विकसित भएका क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यको वास्तविक उत्तराधिकारी र यो मूल नेतृत्व हो । त्यसो हुनाले चोइटो होइन । बरु एमाले नेतृत्वको गुटचाहिँ हेर्दै जाऊँ आफैँ चोइटोमा रूपान्तरित हुने सम्भावना छ ।

एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भन्दा एमाले एक्लै गह्रौँ छ भनिरहनुभएको छ, नि ?

उहाँ (ओली) ले आफूलाई क्विन्टल भन्दै हुनुहुन्छ । हामीलाई ढक भन्नुहुन्छ । तर, हामी निर्वाचनको प्रक्रियामा जानु भनेको जनअदालतमा जानुजस्तै हो । को क्विन्टल हो, को ढक हो भन्ने कुराको जनअदालतमा फैसला हुने छ । प्रत्येक निर्वाचन क्षेत्रमा हामी क्वीटल पनि होइनौँ, ढक त हुँदै होइनौँ । हामी बरु एक–एक टन हुन सक्छौँ, त्यो पनि कम्तीमा मात्रै । त्यसपछि बरु हामीलाई ढक भन्नेहरू बिस्तारै–बिस्तारै ठेगान लाग्न थाल्ने छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।