मेयर बन्न किन लालायित छन् जो कोही ?
अहिले के गाउँघर, के सहरबजार चुनावी माहोलले तातेको छ । आकांक्षीमाथि आकांक्षीको ओइरो छ । टिकट पाउने ‘कन्फर्म’ भएकाहरु एकसे एक दावा र विकासको मोडल लिएर चुनावी मैदानमा उत्रेका छन् । पुरानादेखि नयाँ नयाँ अनुहारहरु राजनीतिक बजारमा परिवर्तन र इमान्दारिताको विगुल फुक्दै हिँडेका छन् । कोही पनि सानो कुरा गर्दैनन्, पद्दति र पारदर्शिताको कुरा गर्दैनन् । बरु बाटोघाटो, शिक्षा, स्वास्थ्य क्षेत्र लगायतको कायापलट गर्दिने धमास दिंदै हिँडेका छन् । आफ्नो पहिचान गुमाएकाहरु पनि परिवर्तनको डंका फुक्दैछन् ।
यसपाली अन्तिम चुनाव हो, मौका पाउनुपर्छ भनी रेला गरेको पार्टीको बैठकमा सुन्न पाइन्छ । हुन त चुनावमा उठ्नु ठुलो कुरो हैन, चुनावमा किन र केको लागि उठ्ने भन्ने महत्वपूर्ण कुरा हो । गाउँपालिकाको अध्यक्ष, नगरको मेयर भइसकेकाहरुले आफूले ९० प्रतिशत वाचा पुरा गरेको, ‘डिस्टिङ्सन’ ल्याएको फुँइ लाउँदै छन् । तर जनता जनार्दनलाई थाहा छ, तिनले गएको निर्वाचनमा प्रतिवद्धता गरेको वाचा कति पुरा गरे ?
सबैभन्दा बढी चर्चा उपमहानगर अनि महानगरपालिकाको छ । किनकि पाँच दलीय गठबन्धनले उपमहानगर अनि महानगरपालिकामा गठबन्धन उम्मेदवार बनाउने भनेका छन् । त्यसमध्ये पनि काठमाडौं भन्दा विराटनगर महानगरपालिकाको चुनावी रौनक बेग्लै छ । विराटनगरको नगरपिता को हुने, सबैको ध्यान यता तानिएको छ । यहाँको मेयरमा संघीय मन्त्री रहेका लालबाबु पण्डितको नामले पनि निकै चर्चा पायो । तर अन्तमा पार्टीले उनको नाम सिफारिश गरेन । सबैभन्दा बढी प्रधानमन्त्री जन्माएको सहर हो यो । यो सहरले हरेक आन्दोलनलाई सफल पार्न ठुलो भूमिका निर्वाह गरेको छ । तर पञ्चयातदेखि गणतन्त्रसम्म आइपुग्दा कसैले पनि विराटनगरको खासै मुहार फेर्न सकेनन् । कसैको इच्छाशक्ति बलियो भएन ।
कैयौं जनप्रतिनिधि जितेपछि ५ बर्ष जिन्दगीको एक मात्र उद्धेश्य पैसा कमाउने मौका यही हो भनेर सोच्छन् । ठेकदार जनप्रतिनिधिको संख्या बढ्दै गएको छ । जनप्रतिनिधिहरुको कमाउ धन्दाले पनि स्थानीय निर्वाचनमा जनप्रतिनिधि बन्न चाहनेहरुको सूची लामो बन्दै गएको छ । काठमाडौं महानगरमा मेयर पदको लागि केही कलाकारहरुको मोह बढ्दो छ । के कलाकारहरुले फिल्ममा कायापलट गरेजस्तै भताभुंग भएको नेपाली राजनीतिलाई नयाँ दिशा दिने सोच बोकेर राजनीतिमा लाग्ने सोच बनाएका हुन् ? कि मेयरको ग्ल्यामर जिन्दगी देखेर यता आकर्षण बढ्दै गएको हो ?
नेपालको राजनीतिमा अब भुईं तहको राजनीति गर्नेहरु, संगठनमा बसेर आफ्नो जिन्दगी कुर्बान गर्नेहरुले चुनावमा उठ्ने मौका अब कमैले पाउँछन् । अझ रातारात पार्टी चेन्ज गर्नेहरु टिकटको प्राथमिकतामा पर्छन् । कि सुटकेसमा पैसा बोक्नेहरुले पाउँछन् । जसको उद्येश्य केवल लगानी गरेको रकम उठाउने हुन्छ । अनि कहाँबाट देश विकासमा कायापलट हुनु ?
अहिले सबैभन्दा बेशी चर्चा मेयर र उपमेयर पदमा देखिएको छ । मन्त्रीदेखि संघीय सांसद भइसकेकाहरु, कलाकारदेखि ब्यापारीहरुको पनि यसमा आकर्षण बढ्नुको कारण के होला ? प्रदेश मन्त्रालयको बजेटभन्दा बढी नगरपालिकाको बजेट छुट्याइनु र त्यसमा हालीमुहाली गर्न पाउनु नै मेयर पदको आकर्षण हो भन्दा फरक परोइन ।
संघीयता पछिको पहिलो मेयरको कार्यकाल लगभग सकिदैछ । ५ वर्ष नगरपिताको पदले हरेक दिनजसो कतै न कतै रिबन काटेकै हुन्छन् । टीभी, रेडियो, छापादेखि सामाजिक संजालमा छाइरहेका हुन्छन् । मन्त्री भन्दा बढी चर्चा मेयरकै हुन्छ । अनि किन मन्त्रीलाई पनि मेयर बन्न मन नलागोस् । आफ्नो एक कार्यकाल सकाएका मेयरहरुलाई पुनः उम्मेदवार हुने महत्वाकांक्षा किन नपलाओस् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले पनि यही भन्दै आइरहेका छन् कि जिम्मेवारी पाए पछि हट्दिन । यसअघि सन्तोषजनक काम गर्न नसकेकाले अहिले मेयरको आंकाक्षी छैन भनेर कुनै मेयरले भनेको सुनिएको छैन ।
मेयर बन्नु अथवा जित्नु ठुलो कुरो होइन । नगर बनाउन नगरपिताले ककस्तो कदम चाले, त्यो महत्वपूर्ण कुरा हो । पहिले चुनावमा हारेकाहरु जनप्रतिनिधि हुन नपाएपछि गाउँठाउँको समस्या बुझ्न गएनन् । ती पनि आंकाक्षी छन् अहिले, उनीहरुको एकल नारा छ–पहिलेको मेयरले केही गरेन । उता चुनावपछि एक सिन्को पनि न भाँचेका हाम्रा जनप्रतिनिधि हामीले धेरै गर्यौं भनेर पुनः उठ्दैछन । जितेका र हारेकाहरु, जसले ५ वर्षमा केही सार्थक काम गरेनन् । फेरि मेयरमै उठ्ने आकांक्षा देखाउनुमा हामीमा नै कमजोरी भएर हो कि ? बासी अनुहार भन्दा वडाध्यक्षमा जितेकाहरुले मेयरमा उठ्ने आँट किन नगरेको होला ? वडा तहमै रहेर मेयरसँग रकम चलखेल गर्ने मोहले तानेर हो कि ? यस्ता कैयो प्रश्नले जकडेको छ, यसपालीको स्थानीय चुनाव ।
भनिन्छ, घर सुन्दर बनाउन महिलाहरुको हात हुन्छ । जिम्मेवारी पाए महिलाहरुले गाउँ, नगरको कायापलट गर्न सक्छन् । तर उनीहरु अघिल्लो चुनावमा अपवादबाहेक उपमै सीमित भए । त्यसैले यसपाली उपमेयर होइन, मेयर नै दावी गर्ने महिला जनप्रनितिनिधिहरुको हुँकार छ । तर मेयरको टिकट नपाए विद्रोह गर्न सक्ने अवस्था देखिन्न ।
अन्तमा स्थानीय चुनावलाई हामीले गम्भीरले ढंगले सोच्ने बेला भएको छ । पहिलेका जनप्रतिनिधि पुनः उम्मेदवार हुँदैछन् भने उहाँहरुको कार्यको पनि मूल्याङ्कन गर्नुपर्छ । नगरवासी हुनुहुन्छ भने गम्भीर भएर नगरपिता रोजौं । गाउँपालिकावासी हुनुहुन्छ भने गम्भीर भएर अध्यक्ष रोजौं । पार्टी भन्दा माथि उठेर सोच्ने जनप्रतिनिधि छानौं । राज्यले दिएको सबैभन्दा ठुलो अश्त्र ब्यालेट (भोट) प्रयोग गरौं । भोट आफ्नालाई हैन, राम्रालाई दिऊँ । यो पालि राम्रो नरोजे कहिले रोज्ने ? हामीले नरोजे कसले रोज्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?