बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा बिस्केट जात्रा मनाइयो (फोटोफिचर)

मङ्गलबार, २९ चैत २०७८, १२ : २०
मङ्गलबार, २९ चैत २०७८

बेलायतमा पहिलोपल्ट  नेवारी संस्कृति र परम्परा बोकेको ऐतिहासिक बिस्केट (बिस्का) जात्रा सम्पन्न भएको छ । पासा पुचः गुथि यूकेको आयोजना गरिएको उक्त जात्रामा परम्परागत शैलीमा रथ तानेर लिंगो ठड्याइएको थियो । पछि फेरि रथ तान्दै लिंगो ढालेर रथ जुधाइएको थियो । आइतबार साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा भएको जात्रा हेर्न बेलायतका विभिन्न स्थानबाट करिब ८ सय भन्दा बढी मानिस जम्मा भएको बिस्का जात्रा लन्डनका व्यवस्थापक एवम् पासा पुचः गुथि यूके उपाध्यक्ष सुशील प्रजापतिले बताए ।

विभिन्न कालखण्डमा विसिक, बिस्क, बिस्का हुँदै   बिस्केट जात्राको रुपमा मनाइने यो पर्वको मुख्य आकर्षकको रुपमा रथ तान्ने गरिन्छ । गुथिका स्वयंसेवकहरूद्वारा लन्डनमै निर्माण गरिएका भैरव र भद्रकालीको रथ तानिएको थियो ।  करिब तीन हप्ता लगाएर निर्माण गरिएको रथ बनाउन झन्डै  चार हजार पाउण्ड अर्थात छ लाख रुपैयाँ भन्दा बढी खर्च भएको आयोजक पासा पुचः गुथि यूकेका अध्यक्ष ओजेश सिंहले बताए । साउथ इष्ट लन्डन र वेष्ट लन्डनको समूहले एक एकवटा रथ बनाएको थियो । पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै आएको नेवाः मुनाको अवसरमा यसपटक बिस्का जात्रा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेवा मुना, ने सं ११४२ को कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेर पनि आफ्नो देशको कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गरेको भन्दै प्रशंसासहित धन्यबाद दिएका थिए । नेपाल र नेपालीका मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तामा पनि पुस्तान्तरण गर्नुपर्ने आचार्यले बताए ।

नेवाः कला संस्कृति, रीतिथिति, परम्परा भेषभूषा, बाजागाजा, पर्व र जात्राहरु जगेर्ना गर्ने उद्देश्यले आयोजित नेवा मुनाको संयोजन पासा पुच गुथि साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका थिए । नयाँ वर्षको आगमनसँगै मनाइने हजारौँ वर्ष पुरानो ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रालाई बेलायतमा निरन्तरता दिंदै जाने आयोजकले बताएका छन्  

कार्यक्रममा विभिन्न प्रकारका नेवारी परिकारहरू राखिएका थिए । नेवारी तथा नेपाली भेषभूषामा सजिएका सहभागीहरुमा पछिल्लो पुस्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप