बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप उपलब्ध भए पनि लक्ष्य पूरा गर्न सकेन सरकारले

मङ्गलबार, २९ चैत २०७८, ०७ : १५
मङ्गलबार, २९ चैत २०७८

सरकारले लक्षित समूहका सबै जनसङ्ख्यालाई चैत मसान्तभित्र कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसक्ने घोषणा गरेको थियो । तर, उक्त समयावधि सकिनु दुई दिन अघिसम्म १८ वर्षमाथिका ८३ प्रतिशत अर्थात् एक करोड ६४ लाख ६१ हजार ४५६ जनाले मात्र पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले उक्त लक्षित समूहका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रा खोप लगाउने घोषणा गरेको थियो ।

सरकारले सो लक्ष्य पूरा गर्न दुई दिनको अवधिमा लक्षित समूहका १७ प्रतिशत जनसङ्ख्या अर्थात् ३३ लाख ८६ हजार ७६७ जनालाई पूर्ण मात्रा खोप लगाइदिनुपर्ने हुन्छ । जबकि, हाम्रो संरचना, जनशक्ति र खोपप्रतिको आकर्षण लगायतका परिस्थिति विश्लेषण गर्दा दैनिक सरदर १७ लाख जनसङ्ख्यालाई खोप लगाउन असम्भव देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च अधिकारीहरू कोरोना विरुद्धको खोप प्राप्ति र खोप अभियान सफल पार्न कुनै कसर बाँकी नछाड्ने बताउँदै आए पनि पछिल्लो समय यो खोप लगाउन खोप केन्द्रसम्म पुग्नेको सङ्ख्या कम हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सोमबार मात्रै देशभर जम्मा १५ हजार ३३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । २७ चैत अर्थात् आइतबार २० हजार ८२८ जनाले खोप लगाएका छन् भने २५ चैतमा २६ हजार ४५ जनाले खोप लगाएका थिए ।

यस्तै, २४ चैतमा ५० हजार ९३ जना, २३ चैतमा ५६ हजार २२७ जना, २२ गते १७ हजार ७५५ जना र २१ चैतमा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले कोरोना महामारीको तेस्रो लहर कम हुँदै गएपछि दैनिक खोप लगाउन जानेको सङ्ख्यामा कमी आउन थालेको बताउँछिन् । ‘कतिपय मानिस सङ्क्रमण दर कम भएपछि खोप लगाउन गएनन् । तेस्रो लहरमा धेरै जना कोरोना सङ्क्रमित भए । यसरी सङ्क्रमित भएकाहरूमा तत्काल फेरि सङ्क्रमण हुँदैन भन्ने मानसिकताका कारण पनि खोप लगाउनेको सङ्ख्यामा कमी आएको हुनसक्छ,’ उनले भनिन् ।

केही दिन यता स्थानीय तहको चुनावी सरगर्मीका कारण पनि खोप केन्द्रमा पुग्नेको सङ्ख्यामा कमी आएको हुन सक्ने उनको भनाइ छ । उनले भनिन्, ‘कोरोनाविरुद्धको खोप लगाइदिने भनेको स्थानीय तहहरूले हो । पछिल्ला दिनहरूमा स्थानीय तहहरूमा चुनावी माहौल भएकाले पनि खोपमा भन्दा चुनावतिर धेरैको ध्यान पुगेको हुन सक्छ ।’

अर्कोतिर हाल टाइफाइडविरुद्धको खोप अभियान पनि चलिरहेको छ । चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । यो खोप अभियान पनि स्थानीय तहमार्फत नै सञ्चालन हुने भएकाले पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानमा केही सुस्तता आएको हुन सक्ने डा. मिश्राको अनुमान छ ।

उनले कोरोनाविरुद्धको खोपको उपलब्धतामा कुनै कमी नभएको बताइन् । ‘कोरोनाविरुद्धको खोपको अभाव छैन,’ उनले भनिन्, ‘पछिल्लो समय बुस्टर डोज समेत जनताले छानेर लगाउन पाउने अवस्था छ ।’

खोप प्राप्ति र अभियान सञ्चालनका सन्दर्भमा संघीय सरकार पछि नहटेको उनको भनाइ छ । खोप नलगाएकाहरूलाई खोपको पहुँचमा पु¥याउन केन्द्र सरकारभन्दा स्थानीय तहको प्रमुख भूमिका रहने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरे पनि यो खोप उपलब्ध हुन सकेको छैन । सरकारले यो उमेर समूहका बालबालिकाका लागि ८४ लाख मात्रा फाइजरको खोप दिने लक्ष्य राखेको छ । खोप खरिदका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगे पनि पारित हुन सकेको छैन ।

नेपालमा ४ करोड दुई लाख २० हजार ४७२ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुसार पहिलो मात्रा एक करोड ८७ लाख ८५ हजार २४४ जनाले लगाएका छन् भने एक करोड ९१ लाख ९५ हजार ९३० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

यस्तै, १२ वर्षदेखि १८ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ जनालाई सरकारले लक्ष्य राखेको छ । जसमा ९२ं प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने ७४ प्रतिशतले पूर्ण मात्रा  लगाएका छन् । यस्तै बुस्टर मात्रा २२ लाख ३९ हजार २९८ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप