बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न झन्झटै झन्झट’

सोमबार, २८ चैत २०७८, १७ : ५३
सोमबार, २८ चैत २०७८

नेपालमा उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न झन्झटै झन्झट रहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभामा बोल्दै उद्योगीहरूले यस्तो बताएका हुन् । उद्योगी विष्णु न्यौपानेले आफूलाई स्टिल उद्योग खोल्न चाहिने जग्गा अधिग्रहण गर्न सबैभन्दा झन्झटिलो लागेको बताएका छन् । साधारणसभाको पहिलो सत्रमा बोल्दै उनले सर्वोत्तम स्टिलको उद्योग स्थापना गर्न चाहिने जग्गा किन्न सबैभन्दा ठूलो झन्झट ब्यहोरेको बताए ।

‘२ अर्ब ५० करोड रुपैयाँ कूल लगानी रहेको उद्योगलाई चाहिने जग्गा किन्नै १ अर्ब लाग्यो,’ उनले भने, ‘नेपालमा उद्योगलाई चाहिने जग्गाको भाउ धेरै महँगी सक्यो ।’ यस्तै, उत्पादनमूलक उद्योग सञ्चालन गर्न ऊर्जाको समेत समस्या रहेको उनको भनाइ छ ।

‘मेरो एउटा धागो उद्योग पनि छ । त्यो उद्योगमा उत्पादित ९८ प्रतिशत धागो विदेश निर्यात हुन्छ,’ उनले भने, ‘उद्योगको सबैभन्दा ठूलो कच्चा पदार्थ बिजुली हो । तर, हिजो एकै दिन उद्योगमा १८ पटक बिजुली गयो ।’ ऊर्जाको समस्याले समेत उद्योग सञ्चालनमा समस्या परिरहेको उनको भनाइ छ ।

यसैगरी, गोल्डस्टार जुत्ताकी विदुषी राणाले नेपालमा जुत्ता चप्पल उद्योगको ठूलो सम्भावना रहेको बताइन् । उनले भनिन्, ‘हाल १५ सय वटा जुत्ता/चप्पल उद्योग छन् । ती उद्योगमा हजारौं कामदार र कर्मचारी आबद्ध छन् ।’ यस्तै, अर्बौ रुपैयाँ लगानी रहेका उद्योगबाट उत्पादित जुत्ता/चप्पलले विदेशी बजारमा प्रतिस्पर्धा नै गर्न नसक्ने स्थिति रहेको राणाले बताइन् ।

‘गोल्डस्टारले अमेरिकामा जुत्ता निर्यात गर्ने लक्ष्यसहित न्यूयोर्कमा स्वरूम स्थापना गरियो,’ राणाले भनिन्, ‘माग पनि राम्रै आयो । तर, ५ डलरमा उत्पादन लागत पर्ने जुत्ता, ढुवानी लागत, अमेरिकी भन्सार र व्यवसायीले दोब्बर मार्जिन राख्दा ३० डलर पुग्यो ।’ जबकी, चीन, भियतनाम र कम्बोडिया लगायतका देशले उत्पादन गर्ने जुत्ताको मूल्य १७ डलर हाराहारी मात्रै पर्छ ।

सोहीकारण, सरकारले उत्पादनमूलक उद्योगको उत्पादन लागत घटाउन सहयोग गरेर निर्यात बढाउन भूमिका खेल्नुपर्ने उद्योगी/व्यवसायीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप