आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

जब प्रचण्ड पहिलोपटक बाँदरमुढे पुगे...

सोमबार, ११ मङ्सिर २०७४, १३ : ४७
सोमबार, ११ मङ्सिर २०७४


चितवन । माओवादी कार्यकर्ताहरु तत्कालिन शाही सेनालाई एम्बुसमा पार्ने प्लानमा थिए, त्यस्तोमा बाँदरझुलाबाट एक गाडी शाही फौज बाकेर माडीतर्फ अगाडी बढेको खबर आयो । चितवन राष्ट्रिय निकुञ्ज क्रस गरेर अगाडी बढेको बस बाँदरमुढे आइपुग्यो, सूचना अनुसार माओवादी कार्यकर्ताले शक्तिशाली बम विष्फोट गराए, बस छियाछिया भयो । तर, बिडम्बना उक्त गाडीमा सवार सैन्य फौज निकुञ्ज क्रस गर्नासाथ झरिसकेको थियो, गाडीमा सर्वसाधारण मात्र थिए ।

कुरा, ०६२ जेठ २३ गतेको हो, उक्त घटनामा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाइते भए । यही घटनाको कारण माओवादीको अहिले पनि आलोचना भइरहन्छ । घटना पश्चात तत्कालिन युद्धरत माओवादीको सुप्रिम कमाण्डर समेत रहेका प्रचण्ड आइतबार पहिलोपटक बाँदरमुढे पुगेका छन् । 

भनिन्छ, ‘१२ बर्षपछि खोलो पनि फर्कन्छ ।’ ‘बाँदरमुढे हत्याकाण्डको नामले बहुचर्चित घटनास्थलमा प्रचण्ड पुग्दा बिहानको करिब छ बजेको हुँदो हो, बाँदरमुढे स्मारक माथिको कुहिरो खुलिसकेको थिएन् । यसअघि पनि बाँदरमुढेमा आफ्नो पार्टीको तर्फबाट गल्ती भएको स्वस्कार गरेका प्रचण्डले पहिलो पटक ‘बाँदरमुढे स्मारक’मा मैनबत्ति सल्काए, फुलमाला चढाउँदै माल्यार्पण गरेर भने, ‘बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलबस भएको गल्ती थियो ।’ 

चितवन–३ को चुनावीसभाका लागी माडी नगरपालिका–९ बाँदरझुला जाँदा बाटोमा पर्ने घट्नास्थलमा बनेको स्मारकमा पीडित परिवारको उपस्थिती नभएपनी माओवादी अध्यक्ष प्रचण्डले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए । उनले भने, ‘पीडित परिवार र मृतकहरुको पक्षमा दिर्घकालिन प्रकृत्तिको काम गर्ने मैले सोचेको छु ।’ 

बाँदरमुढेमै बास !
बिहान बाँदरमुढे स्मारकमा पुष्पगुच्छा चढाएर राष्ट्रिय निकुञ्जको सीमाक्षेत्रमा रहेको बाँदरझुलाका सुकुम्बासी बस्तिमा भोट माग्न पुगेका प्रचण्ड सोही क्षेत्रका करिब आधा दर्जन कार्यक्रममा सहभागी भएका छन् । बाँदरझुलाबाट फेरी बाँदरमुढेतिरै फर्किएका प्रचण्डले माढी क्षेत्रको विकासका लागी नदी नियन्त्रण, सुरुङमार्ग निर्माणको योजना मात्र सुनाएनन्, सँधै निकुञ्जका जंगलको त्रासमा बाँच्नुपर्ने माडी बासिको समस्या समाधान गर्नका लागी निकुञ्जको सिमा क्षेत्रमा मेसजाली निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । 

कल्याणपुर र बसन्तपुर बजारको बिचमा पर्ने बाँदरमुढे खोलामा घटेको उक्त घट्नाका कारण बसन्तपुर तथा सोही आसपासका सर्वसाधारणले ज्यान गुमाए । पत्नि सीता दाहालसहित बाँदरमुढे पुगेका प्रचण्ड साँझ बसन्तपुरमा बास बसेका थिए । १२ बर्षपछि उनको माडी बसाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप